विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन, नेपाल–भारत–बंगलादेशका विज्ञ एकै मञ्चमा

विराटनगर,२६ असार ।

मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन आयोजना हुने भएको छ। नेपाल, भारत र बंगलादेशका ख्यातिप्राप्त चिकित्सक तथा विज्ञहरू सहभागी हुने सम्मेलनले आधुनिक क्यान्सर उपचार तथा न्यूक्लियर मेडिसिन प्रविधिको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
आगामी असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा ‘आजको इमेजिङ, भोलिको स्वास्थ्यमा प्रभाव’ भन्ने मूल नारासहित ‘बीएमसीटीएच अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन’ आयोजना हुन लागेको हो। विराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्यूक्लियर मेडिसिन तथा आणविक इमेजिङ विभाग ले सम्मेलनको आयोजना गरेको हो।
सम्मेलनमा आणविक इमेजिङ, थेरानोस्टिक्स (निदान र उपचारको एकीकृत प्रविधि), रेडियोआइसोटोप उपचार लगायतका विषयमा नेपाल, भारत र बंगलादेशका विशेषज्ञहरूले आफ्ना अनुभव, अनुसन्धान र नवीनतम प्रविधिबारे प्रस्तुति दिनेछन्।
बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक सहभागी हुनेछन्। भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर संस्थान तथा अनुसन्धान केन्द्र का प्रा. डा. मनोज गुप्ता पनि सम्मेलनमा सहभागी हुनेछन्। नेपालका तर्फबाट विराट मेडिकल कलेजका डा. अमरदीप चौधरी सहित डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसी ले आफ्ना अनुभव र अनुसन्धान प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलले यसअघि नै पूर्वी नेपालमै पहिलो पटक न्यूक्लियर मेडिसिन तथा आणविक इमेजिङ विभाग स्थापना गरी सेवा सञ्चालनमा ल्याएको छ। विभागीय प्रमुख डा. अमरदीप चौधरी का अनुसार यस प्रविधिले क्यान्सरजस्ता जटिल रोगको प्रारम्भिक पहिचान, सही निदान र लक्षित उपचारमा नयाँ युगको सुरुवात गरेको छ। साथै पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक (तातो किमोथेरापी प्रविधि) सेवा पनि पूर्वी नेपालमै पहिलो पटक यही हस्पिटलमा सञ्चालनमा आएको छ।
न्यूक्लियर मेडिसिन आधुनिक चिकित्सा विज्ञानको यस्तो शाखा हो, जसमा रेडियोधर्मी पदार्थको प्रयोग गरेर शरीरका आन्तरिक अंगहरूको कार्यप्रणालीको परीक्षण तथा उपचार गरिन्छ। यस प्रविधिबाट क्यान्सरको प्रारम्भिक चरणमै पहिचान गर्न, हृदयको रक्तप्रवाह परीक्षण गर्न, हड्डीसम्बन्धी रोग तथा संक्रमण पत्ता लगाउन, मिर्गौला, कलेजो, फोक्सो र थाइरोइड ग्रन्थीको कार्यक्षमता मूल्याङ्कन गर्न सकिन्छ। त्यस्तै, आणविक इमेजिङ प्रविधिले शरीरका कोशिकाहरूमा हुने सूक्ष्म परिवर्तनसमेत देखाउने भएकाले रोगको सुरुआती अवस्थामै निदान गर्न महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरू बताउँछन्।
आयोजकका अनुसार सम्मेलनले न्यूक्लियर मेडिसिन क्षेत्रमा क्षेत्रीयस्तरमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। यसबाट नेपाली चिकित्सकहरूले अन्तर्राष्ट्रिय स्तरका नयाँ प्रविधि र उपचार पद्धतिबारे प्रत्यक्ष सिक्ने अवसर पाउनेछन् भने त्यसको प्रत्यक्ष लाभ बिरामीहरूलाई पुग्ने विश्वास गरिएको छ।
सम्मेलनले विशेषगरी पूर्वी नेपालका बिरामीहरूलाई उपचारका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता घटाउन, जटिल रोगहरूको उपचार स्थानीय स्तरमै सहज र प्रभावकारी बनाउन तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग सहकार्य र परामर्शको दायरा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल हस्पिटलको न्यूक्लियर मेडिसिन तथा आणविक इमेजिङ विभागले निदान र उपचार दुवै प्रकारका सेवा प्रदान गर्दै आएको छ। निदानतर्फ क्यान्सरको प्रारम्भिक पहिचान तथा फैलावट पत्ता लगाउने, हृदयरोगको परीक्षण, हड्डीका रोग र संक्रमणको पहिचान, मिर्गौला, कलेजो तथा फोक्सोको कार्यक्षमता जाँच्ने र थाइरोइड ग्रन्थीसम्बन्धी समस्या पत्ता लगाउने सेवा उपलब्ध छन्।
उपचारतर्फ थाइरोइड क्यान्सरका लागि रेडियोधर्मी आयोडिन उपचार, हड्डीको क्यान्सरका कारण हुने दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड उपचार, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार तथा रेडियोसिनोभेक्टोमी लगायतका सेवा सञ्चालनमा रहेको हस्पिटलले जनाएको छ। यी सेवाले उपचारको प्रभावकारिता बढाउनुका साथै बिरामीलाई गुणस्तरीय र आधुनिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।
आयोजकका अनुसार सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत देशका विभिन्न स्थानबाट २५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनले नेपालमा न्यूक्लियर मेडिसिन सेवाको विस्तार, आधुनिक प्रविधिको प्रयोग र क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन, नेपाल–भारत–बंगलादेशका विज्ञ एकै मञ्चमा

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन

विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन, नेपाल–भारत–बंगलादेशका विज्ञ एकै मञ्चमा

सुर्खेत उद्योग वाणिज्य संघमा साना तथा मझौला

Leave a comment

Your email address will not be published. Required fields are marked *