सम्पादकीय : कर्णाली कहिले बन्ला ऊर्जा उत्पादनको केन्द्र ?

अघि बढेको जगदुल्ला जलविद्युत् आयोजना कर्णालीको ऊर्जा विकास इतिहाँसमा एउटा नयाँ अध्याय हो । लामो समयसम्म कागजमै सीमित बनेका आयोजना र अनिश्चितताबीच रहेको कर्णालीका लागि सुरुङमार्ग निर्माणको औपचारिक सुरुवात केवल एउटा परियोजनाको प्रगति मात्र होइन, प्रदेशको जलस्रोत विकासप्रतिको विश्वास पुनःस्थापित गर्ने संकेत पनि हो । यदि निर्धारित समयमै सम्पन्न गर्न सकियो भने यो आयोजना कर्णालीको आर्थिक रूपान्तरणको आधार बन्न सक्छ । कर्णालीलाई प्रकृतिले अपार जलस्रोत दिएको छ । झण्डै दुई दशकअघि गरिएका अध्ययनहरूले मात्रै करिब १८ हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना औंल्याएका थिए । तर, यति ठूलो सम्भावना हुँदाहुँदै पनि कर्णाली आजसम्म ऊर्जा उत्पादनको केन्द्र बन्न सकेको छैन । यसको मुख्य कारण प्राकृतिक स्रोतको अभाव होइन, राज्यको प्राथमिकतामा कर्णाली नपर्नु, कमजोर नीतिगत प्रतिबद्धता र लगानी अभाव हो । धेरै आयोजना सम्भाव्यता अध्ययनसम्म पुगेर रोकिएका छन् । अध्ययन गर्ने तर वित्तीय स्रोत जुटाउन नसक्ने प्रवृत्तिले पनि कर्णालीका जलविद्युत् आयोजना वर्षौंदेखि झोलामा थन्किएका छन् । सम्भावना र उपलब्धिबीचको यही दूरी घटाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।
यही पृष्ठभूमिमा डोल्पाको १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना विशेष महत्वको छ । करिब २३ अर्ब रुपैयाँ लागतको यो अर्धजलाशययुक्त आयोजना अब निर्माणको चरणमा प्रवेश गरेको छ । विस्तृत परियोजना अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत् खरिद–बिक्री सम्झौता र वित्तीय व्यवस्थापनजस्ता जटिल प्रक्रिया पूरा गरेर सुरुङमार्ग निर्माण सुरु हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो । अझ स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानी, सरकारी स्वामित्व र स्थानीय सहभागिताको संयोजनले यो आयोजना आत्मनिर्भर ऊर्जा विकासको उदाहरण बनेको छ । यस आयोजनाको महत्व विद्युत् उत्पादनमा मात्र सीमित छैन । आयोजनाले भेरी नदीमाथि पक्की पुल, पहुँच सडक र बेली पुल निर्माण गरेर डोल्पाको यातायात तथा पूर्वाधार विकासमा प्रत्यक्ष योगदान दिएको छ । सडक विस्तारले स्थानीय जनजीवन, व्यापार र पर्यटनमा नयाँ सम्भावना सिर्जना गरेको छ । रारा, शे–फोक्सुण्डो, जगदुल्ला ताल र उपल्लो डोल्पासम्मको पहुँच सहज हुनु पर्यटन अर्थतन्त्रका लागि पनि सकारात्मक संकेत हो ।
जलविद्युत् आयोजना केवल ऊर्जा उत्पादन गर्ने संरचना मात्र होइनन्, समग्र स्थानीय विकासको माध्यम पनि हो । जगदुल्ला आयोजना अर्को अर्थमा पनि उदाहरणीय छ । कर्णाली प्रदेश सरकारले पाँच प्रतिशत शेयर लगानी गरेको छ भने प्रभावित स्थानीय तहहरूको पनि स्वामित्व सुनिश्चित गरिएको छ । यसले स्थानीय समुदायलाई आयोजनाको प्रत्यक्ष साझेदार बनाएको छ । आगामी दिनमा प्राप्त हुने राजस्व, रोजगारी र पूर्वाधार विकासबाट प्रदेशले दीर्घकालीन लाभ लिन सक्ने आधार तयार भएको छ । अब जगदुल्ला जस्तै अन्य आयोजनालाई पनि अघि बढाउनतर्फ सरकारले ध्यान दिनु पर्दछ । कर्णालीका अन्य सम्भाव्यता अध्ययन सम्पन्न भएका आयोजना पनि समयमै निर्माणमा लैजान संघ, प्रदेश र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य हुनुपर्छ । ऊर्जा उत्पादनबाट प्राप्त आम्दानीलाई स्थानीय विकास, औद्योगिकीकरण र रोजगारी सिर्जनासँग जोड्न सकिए मात्र कर्णालीको जलस्रोत वास्तविक समृद्धिको आधार बन्नेछ । प्राकृतिक सम्भावनालाई राजनीतिक प्राथमिकतामा रूपान्तरण गर्ने बेला अब टरिसकेको छ ।





