डस्बिन हस्तान्तरण गर्दै मनाइयो घरबहाल सरोकार महासंघको १६औँ स्थापना दिवस

बाँके ,१८ असार।
नेपाल घरबहाल सरोकार महासंघ, बाँके शाखाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा कोहलपुर–१२, चप्परगौडीस्थित रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल आधारभूत विद्यालयलाई फोहर व्यवस्थापनका लागि ६ थान डस्बिन हस्तान्तरण गर्दै दिवस मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा महासंघका केन्द्रीय सहकोषाध्यक्ष तिलक सिंह कार्कीले महासंघले स्थापना कालदेखि नै घरबेटी र घरबहालबीच समन्वय, सहकार्य र सौहार्दपूर्ण सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले सरकारलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना भएको उल्लेख गर्दै यस्ता सामाजिक संस्थाप्रति राज्यको स्पष्ट, प्रभावकारी र प्रोत्साहनमुखी नीति आवश्यक रहेको धारणा व्यक्त गरे ।
नेपाल घरबहाल उपभोक्ता मञ्च, बाँकेका अध्यक्ष ढकबहादुर थारूले घरबहाल करको दायरा विस्तार गर्दै करको दरलाई व्यावहारिक बनाउनुपर्ने बताए । करदातालाई सम्मान गर्ने परम्परा विकास गर्न सके कर तिर्ने संस्कृतिको विकास हुने र यसबाट सरकारको राजस्वसमेत सुदृढ बन्ने उनको भनाइ थियो ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा बाँकेका निवर्तमान अध्यक्ष राधा गौतम, सल्लाहकारहरू मेघराज अधिकारी र कपिल अन्जान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लम्साल, प्रधानाध्यापक तिलकप्रसाद दाहाल, विद्यार्थी तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममार्फत विद्यालयमा सरसफाइ तथा फोहर व्यवस्थापनप्रति विद्यार्थी र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।







