कालीकोटमा बाघको आक्रमणमा एक जना घाइते

हस्त चौलागाईं
कालिकोट ,२७ जेठ ।
कालीकोटमा बाघको आक्रमणबाट एक जना स्थानीय घाइते भएका छन्। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ निवासी नेत्रराज शाही आज बिहान बाघको आक्रमणमा परेर घाइते भएका हुन्।
प्राप्त जानकारी अनुसार शाही बिहान करिब ७ बजे घरमा पालेको बङ्गुर चराउन लैजाँदै थिए। सोही क्रममा सान्तीघाट राजमार्ग नजिकैको क्षेत्रमा अचानक बाघले उनीमाथि आक्रमण गरेको बताइएको छ। बाघको आक्रमणबाट शाहीको शरीरका विभिन्न भागमा चोट लागेको छ।
स्थानीयवासीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि रास्कोट अस्पताल पुर्याएका थिए। हाल अस्पतालमा उनको उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ। पछिल्लो समय वन क्षेत्र नजिकका बस्तीमा जंगली जनावर देखिने क्रम बढ्दै गएको भन्दै स्थानीयले सुरक्षा व्यवस्था मजबुत बनाउन तथा वन्यजन्तुको जोखिम नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
वन क्षेत्र आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन, एक्लै जंगल तथा सुनसान क्षेत्रमा नजान र पशुचौपाया चराउन जाँदा समूहमा जान स्थानीय प्रशासन तथा सरोकारवाला निकायले आग्रह गरेका छन्।
घटनाबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।






