डा. केसीको सत्याग्रह अब त्रिवि शिक्षण अस्पतालमा

जुम्ला, ६ असोज ।
जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसी आज काठमाडौं जाँदै छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्नेलगायत ६ बुँदे माग राखेर गत भदौ २९ गते जुम्लाको चन्दननाथ ६, रानीचौरमा रहेको वाविरा मन्दिरमा १९औं सत्याग्रह सुरु गरेका थिए । आज सत्याग्रहको नवौं दिन हो ।

सहयोगी प्रितम सुवेदीका अनुसार जुम्लाबाट सोमबार साँझ नेपालगन्जमा रहेको भेरी अस्पतालको आइसीयूमा बसेका डा. केसी मंगलबार काठमाडौं जाँदै छन् । डा. केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह नतोड्ने अडान राख्दै आएका छन् । सत्याग्रहको पाँचौं दिन राति प्रहरीले मन्दिरबाट उनलाई जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा लगेर भर्ना गरेको थियो । तर उनले आफ्ना माग पूरा नभएसम्म कुनै पनि स्वास्थ्य सेवा नलिने अडान लिएका थिए । उनले अब सत्याग्रह त्रिवि शिक्षण अस्पतालबाट नै गर्ने भएका छन् ।
प्रतिष्ठानका चिकित्सकहरुले सोमबारै डा केसीले स्वास्थ्य जाँच तथा उपचार पूर्ण रुपमा अस्वीकार गरिहेको हुँदा सहज हुने स्थानमा स्थानान्तरण गर्न सुझाएका थिए ।






