मुड्केचुला गाउँपालिकाले आइतबार बिदा नदिने
सुर्खेत, ५ बैशाख ।
डोल्पाको मुड्केचुला गाउँपालिकाले शैक्षिक संस्थाहरुमा आइतबार बिदा नदिने निर्णय गरेको छ । हिमाली जिल्लामा पर्ने भएकाले आइतबार बिदा दिदा पाठ्यक्रम अनुसारको पाठ्यभार पुरा गर्न नसकिने भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।
मध्यपूर्वमा चर्किएको अमेरिका, इजरायल र इरान युद्धले उत्पन्न गराएको इन्धन संकटको कारण देखाउँदै सरकारले गएको २२ चैतमा नयाँ शैक्षिकसत्र १५ वैशाखबाट सुरु गर्ने निर्णय गरेको थियो । साथै, सोही दिन सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयसमेत गरेको थियो । तर सरकारको यो निर्णयले हिमाली जिल्लामा चिसो लगायतका कारणले पाठ्यभार पुरा गर्न सकस हुने भन्दै दुवै निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
हिमाली जिल्लामा पौष महिनामा १५ र माघ महिनामा ३० दिन गरि ४५ दिन विदा हुँदै आएको अवस्थामा आइतबार बिदा दिदा तोकिएको बार्षिक पाठ्क्रम अनुसार कुनै पनि कक्षाको पाठ्यभार पुरा गर्न नसकिने गाउँपालिकाले जनाएको छ ।
साथै, गाउँ शिक्षा समितिको निर्णय अनुसार नियमित विद्यालय सञ्चालन गर्न १५ बैशाख नकुर्न गाउँपालिकामा सञ्चालित सम्पूर्ण विद्यालयहरुलाई निर्देशन दिइएको छ ।





