सम्पादकीय टुटफुटले सक्किदै वामपन्थी !

२१ फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशका १० जिल्लामा दलहरुले पाएको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार समानुपातिकतर्फ पनि नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले १२ निर्वाचन क्षेत्र मध्य प्रत्यक्षमा पाँच सिट जितेर पहिलो दल बनेको थियो । कांग्रेसले समानुपातिक अर्थात सांगठनिक भोटतर्फ प्रदेशभर एक लाख ४१ हजार दुई सय ३३ मत प्राप्त गरेको छ । समानुपातिक भोटमा कांग्रेस पहिलो दल बन्दा आफुलाई सांठनिकरुपमा बलिया ठान्ने वामपन्थीहरु कर्णालीमा २०७९ बाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भन्दा कमजोर बन्न पुगेका छन् । कुनै समय कम्युनिष्ट आन्दोलनको गढ मानिने कर्णाली वामपन्थिमा आएको तीव्र धु्रविकरणले एमाले र नेकपाको प्रभाव कमजोर बन्दै गएको यी दलले चुनावमा पाएको जनसमर्थनले देखाउँछ । यसपटक प्रत्यक्षतर्फ चार सिट जितेर दोस्रो दल बनेको नेकपा सांगठनिक भोटमा भने चौथों बरियतामा पुगेको छ ।
रास्वपाले एक लाख ३३ हजार सात सय ४९ मत समानुपातिकतर्फ पाएर दोस्रो दल बन्दा नेकपा एमालेले एक लाख २० हजार आठ सय ३३ मत प्राप्त गरेर तेस्रोमा खुम्चिएको छ । यसअघिका निर्वाचनमा एमालेले कर्णालीबाट लोकप्रिय मतका साथ पहिलो स्थानमा रहदै आएको थियो । यस्तै, कर्णालीलाई आफ्नो आधार इलाका मान्ने नेकपाको संगठन पनि यस पटक खस्किएको छ । उसले एक लाख ७१ हजार एक मत समानुपातिकतर्फ पाएको छ । यस्तै, राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १५ हजार सात सय ५५ र प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आठ हजार पाँच सय ३७ मत प्राप्त गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) माओवादीले पाँच हजार नौ सय ३६, नेपाल मजदुर किसान पार्टीले पाँच हजार एक सय ३० मत पाएका छन् । केही समयअघि धरानका निवर्तमान मेयर हर्कराज राईले स्थापना गरेका श्रम संस्कृति पार्टीले समेत कर्णालीमा समानुपातिकतर्फ आश्चर्यजनक भोट पाएको छ ।
श्रम संस्कृतिले चार हजार ६ सय ५७ मत प्राप्त गरेको छ । प्रदेशभर यो मत अन्य साना दलको हाराहारीमा छ । २०७९ मा समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो र तत्कालिन माओवादी हालको नेकपा तेस्रो स्थानमा थिए । तर यो पटक भने नतिजा फेरिएर पहिलो कांग्रेस, दोस्रो रास्वपा, तेस्रो एमाले बन्दा नेकपा चौथो बरियतामा धकेलिएको छ । कर्णालीको जिल्लागत मत परिणामलाई हेर्दा मतदाताले पुराना दलहरूको विकल्प खोजेको स्पष्ट देखिन्छ । विशेषगरी सुर्खेत, सल्यान र दैलेखमा रास्वपाको उदयले अबको राजनीतिमा नयाँ शक्तिलाई बेवास्ता गर्न नसकिने सन्देश दिएको छ । यद्यपि, हिमाली जिल्लाहरूमा भने अझै पनि नेपाली कांग्रेस र एमालेकै पकड कायम देखिन्छ । नेकपा (माओवादी) को प्रभाव क्षेत्र मानिने ठाउँहरूमा नेकपाले आफ्नो साख जोगाउने प्रयास गरेको छ । यसपटकको मतपरिणामले टुटफुटका कारण वामपन्थीहरु सक्किन थालेको संकेत गर्छ ।





