१५ दिनभित्र प्रयोगविहीन केवल तार हटाउन कोहलपुर नगरपालिकाको अल्टिमेटम

बाँके ,१६ फाल्गुन ।

बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र जडान भई प्रयोगविहीन तथा अव्यवस्थित रूपमा झुन्डिएका केवल तारहरू १५ दिनभित्र हटाउन सार्वजनिक सूचनामार्फत सम्बन्धित निकायलाई अल्टिमेटम दिएको छ।
नगर क्षेत्रमा अव्यवस्थित रूपमा लतारिएका तथा झुन्डिएका केवल तारका कारण सहरी सौन्दर्यमा कुरुपता देखिनुका साथै आगलागी र सवारी दुर्घटनाजस्ता जोखिम बढ्दै गएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो। नगरका मुख्य सडक, चोक तथा बस्ती क्षेत्रमा जथाभावी तानिएका तारले दुर्घटनाको सम्भावना बढाएको जनाउँदै यसलाई तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले १५ दिनभित्र तार हटाउन सार्वजनिक सूचना जारी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार केवल टेलिभिजन तथा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई लिखित रूपमा सूचना दिँदै व्यवस्थापनका लागि स्पष्ट निर्देशन गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत गिरीले अव्यवस्थित रूपमा झुन्डिएका तारका कारण नगरको सुन्दरतामा ह्रास आएको मात्र होइन, जताततै लतारिएका तारले दुर्घटना निम्त्याउन सक्ने अवस्था सिर्जना भएकाले तत्काल हटाउने निर्णय गरिएको बताउनुभयो। “नगरलाई व्यवस्थित र सुरक्षित बनाउन प्रयोगविहीन तार हटाउनैपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो।
यस विषयमा सरोकारवाला पक्षहरूसँग बसेको बैठकले नगर क्षेत्रभित्र जडान गरिएका तर हाल प्रयोगमा नरहेका सबै अव्यवस्थित तार सम्बन्धित संस्थाले तोकिएको समयसीमाभित्र अनिवार्य रूपमा हटाउनुपर्ने निष्कर्ष निकालेको थियो। बैठकको निर्णयअनुसार चैत १ गतेभित्र त्यस्ता तार सम्बन्धित निकायले आफैं हटाइसक्नुपर्नेछ।
नगरपालिकाले तोकिएको समयसीमाभित्र तार नहटाए चैत २ गतेदेखि नगरपालिका स्वयंले हटाउने कार्य सुरु गर्ने स्पष्ट पारेको छ। साथै, सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रयोगविहीन तार नहटाएमा हटाउने कार्यबाट लाग्ने सम्पूर्ण खर्च सम्बन्धित संस्था वा पक्षबाटै असुलउपर गरिने जनाएको छ।
नगरपालिकाको यो कदमलाई सहरी सौन्दर्यीकरण तथा नागरिक सुरक्षासँग जोडिएको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। स्थानीयवासीले समेत जथाभावी झुन्डिएका तारले जोखिम बढाएको भन्दै समयमै व्यवस्थापन गर्नुपर्ने माग गर्दै आएका थिए।

१५ दिनभित्र प्रयोगविहीन केवल तार हटाउन कोहलपुर नगरपालिकाको अल्टिमेटम

कमरुद्दिन राईको चुनावी गर्जन–‘यो चुनाव पैसावाल र

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds