मधेशको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता सहित बाँके–२ मा जसपा उम्मेदवार राईको तीव्र घरदैलो अभियान

बाँके ,४ फाल्गुन ।

बाँके क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्षतर्फका उम्मेदवार कमरुद्दिन राई यतिबेला व्यापक घरदैलो अभियानमा व्यस्त छन्। निर्वाचन आयोगले औपचारिक रूपमा प्रचार–प्रसारको समय खुला गरेसँगै राईले आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका हुन्।


बिहानैदेखि साँझसम्म मतदाताका घरआँगन पुगिरहेका राईले आफ्ना एजेन्डा प्रस्तुत गर्दै स्थानीयका गुनासा सुन्ने र समाधानका उपायबारे छलफल गर्ने कामलाई प्राथमिकता दिएका छन्। सोमबार उनले नेपालगन्ज र डुडुवा गाउँपालिका–६ कालाबंजर, हिरमिनिया लगायतका क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेका थिए।
टोल–टोलमा पुगेका राईलाई स्थानीयले स्वागत गरेका थिए। वृद्धवृद्धादेखि युवासम्मको उल्लेखनीय सहभागिताले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको देखिन्थ्यो। कतिपय स्थानमा महिलाहरूले पनि सक्रिय रूपमा आफ्ना धारणा राख्दै विकास र अधिकारका सवालमा स्पष्ट अडान व्यक्त गरेका थिए।


घरदैलोका क्रममा राईले मधेशका मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। “यो निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो मधेशको आवाजलाई केन्द्रसम्म पु¥याउने महत्वपूर्ण अवसर पनि हो,” उनले मतदातासँग भने, “दशकौँदेखि भोग्दै आएका विभेद, पहिचान र अधिकारका सवाल अब संसदमा स्पष्ट रूपमा उठाउनै पर्छ।”
उनले सामाजिक न्याय, समावेशी विकास, शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच, रोजगारी सिर्जना तथा स्थानीय पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको बताए। “जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएका सडक, खानेपानी, सिँचाइ, विद्यालय र स्वास्थ्य चौकीजस्ता आधारभूत संरचनामा अब ढिलाइ हुन हुँदैन,” राईले जोड दिए।
स्थानीयवासीहरूले पनि आफ्ना समस्या खुलेर राखेका थिए। कतिपयले वर्षौँदेखि अधुरा रहेका सडक आयोजनाबारे गुनासो गरे भने केहीले स्वच्छ खानेपानीको अभाव र सिँचाइ सुविधाको कमीले कृषि उत्पादनमा असर परेको बताए। युवाहरूले रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै स्थानीयस्तरमै रोजगार सिर्जनाको माग गरे। शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुपर्ने आवाज पनि घरदैलो अभियानका क्रममा सुनिएको थियो।
राईले आफू निर्वाचित भए जनतासँग गरेको प्रतिबद्धता कार्यान्वयनमा इमानदार रहने दाबी गरे। “राजनीति पदका लागि होइन, परिवर्तनका लागि हुनुपर्छ,” उनले भने, “जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्नु नै मेरो पहिलो जिम्मेवारी हुनेछ।”


राई यसअघि नेपालगन्ज उपमहानगरपालिकाको नगर उपप्रमुखको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। स्थानीय तहको अनुभवलाई आधार बनाएर अब संघीय संसदमार्फत व्यापक नीतिगत सुधार र विकासका कार्यक्रम अघि बढाउने उद्देश्यसहित उनी प्रतिनिधिसभा निर्वाचनमा होम्मिएका हुन्।
बाँके–२ मा प्रमुख दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको अवस्थामा राईको घरदैलो अभियानले चुनावी माहोल थप तातेको छ। मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको उनको अभियानले अन्तिम परिणाममा कत्तिको प्रभाव पार्छ भन्ने चासो बढेको छ।

मधेशको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता सहित बाँके–२ मा जसपा उम्मेदवार राईको तीव्र घरदैलो अभियान

मतले जिताउने, तर सत्ता नपाउने जुम्लाका दलित

Leave a comment

Your email address will not be published. Required fields are marked *