विद्यालयबाटै संरक्षण सचेतना : रणबम गणको अभियानले मानव–वन्यजन्तु सहअस्तित्वमा जोड

बाँके,२५ माघ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै श्री रणबम गणले विद्यालय केन्द्रित संरक्षण सचेतना अभियान सुरु गरेको छ । बालबालिकामा संरक्षणप्रतिको भावना विकास गर्नुका साथै मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

श्री रणबम गणले समुदाय स्तरमा संरक्षणसम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्यसहित विद्यालय तहबाटै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र वन्यजन्तुको जोखिमबाट कसरी सुरक्षित रहने भन्ने विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । रणबम गणका प्रमुख सेनानी खिमबहादुर डागीले भावी पुस्तालाई संरक्षणप्रति जिम्मेवार बनाउँदै संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन विद्यालय स्तरबाट अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार यस अभियानले मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जले पछिल्लो समय मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयहरूमा संरक्षण सचेतना अभियानलाई तीव्रता दिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिरेन्द्र प्रसाद कडेलले मानिसको आनीबानी परिवर्तन गर्न सकिए मानव–वन्यजन्तु द्वन्द्व उल्लेख्य रूपमा घटाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

अभियानअन्तर्गत रणबम गणले संरक्षणसम्बन्धी सचेतना कार्यक्रमसँगै विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री समेत वितरण गरेको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक चेतराम थारुले यस्तो कार्यक्रमले विद्यालयलाई संरक्षणप्रति अझ जिम्मेवार बनाएको बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि बालबालिकालाई ज्ञान र सचेतना प्रदान गरिए संरक्षण अभियानमा सबैको साझेदारी सुनिश्चित हुने बताउनुभयो।

विशेषगरी बालबालिकालाई सानै उमेरदेखि संरक्षणप्रति सचेत बनाउँदै वन्यजन्तुप्रति जिम्मेवार व्यवहार अपनाउन प्रेरित गर्ने तथा निकुञ्जभित्र हुने अवैध गतिविधि नियन्त्रण गर्नसमेत कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

विद्यालयबाटै संरक्षण सचेतना : रणबम गणको अभियानले मानव–वन्यजन्तु सहअस्तित्वमा जोड

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

Leave a comment

Your email address will not be published. Required fields are marked *