निर्वाचनको सुरक्षा चुनौती : बाँकेमा ६१ मतदान स्थल अति संवेदनशील, कडा सुरक्षा रणनीति लागू

बाँके ,१४ माघ।
बाँके जिल्लामा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको छ। जिल्लाका कुल १३९ मतदान स्थलमध्ये ६१ वटा स्थललाई अति संवेदनशील घोषणा गरिएको छ भने ५० वटा स्थल संवेदनशील र बाँकी २८ वटा स्थल सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले यही वर्गीकरणलाई आधार मानेर निर्वाचन लक्षित विशेष सुरक्षा रणनीति तयार पारेको छ, जसअन्तर्गत प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनाको समेत समन्वयमा सुरक्षा परिचालन गरिनेछ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार जिल्लाको भौगोलिक अवस्था, खुला सिमाना, विगतका निर्वाचन अनुभव तथा सम्भावित जोखिमका आधारमा मतदान स्थलहरूलाई संवेदनशीलताको स्तर अनुसार छुट्याइएको हो। उहाँले भन्नुभयो, “खुला सिमानाका कारण आवागमन सहज छ, जसले सुरक्षा चुनौती बढाउँछ। त्यसैले सम्भावित जोखिमलाई मध्यनजर गर्दै अति संवेदनशील र संवेदनशील मतदान स्थलहरूमा थप सुरक्षा सतर्कता अपनाइनेछ।”
जिल्लामा कुल ४०० मतदान केन्द्र कायम गरिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगु जिसीले निर्वाचनलाई मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कडा सुरक्षा व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मतदान स्थल वरपर नियमित गस्ती, सादा पोशाकका प्रहरी परिचालन, सिसिटिभी निगरानी, तथा संवेदनशील स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिनेछ। “कुनै पनि प्रकारको अवाञ्छित गतिविधि हुन नदिन हामी पूर्ण तयारी अवस्थामा छौँ,” उहाँले बताउनुभयो।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीका अनुसार बाँके जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर गाउँपालिकाका सबै ३० वडाहरू समेटिएका छन्। यस क्षेत्रमा कुल १ लाख २४ हजार ७२७ मतदाता रहेका छन्। मतदातालाई सहज रूपमा मतदान गर्न व्यवस्था मिलाउन ४८ वटा मतदान स्थलसहित १४१ मतदान केन्द्र निर्धारण गरिएको छ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा र डुडुवा गाउँपालिकाका सबै ६ वडा गरी जम्मा २७ वडा पर्दछन्। यस क्षेत्रमा ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्य गरी कुल १ लाख ८ हजार २९० मतदाता रहेका छन्। यस क्षेत्रका लागि ४३ वटा मतदान स्थलसहित १२४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यहाँ शहरी क्षेत्र भएकाले भीड व्यवस्थापन र शान्ति सुरक्षामा विशेष ध्यान दिइएको छ।
निर्वाचन क्षेत्र नम्बर–३ मा नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ वडा, जानकी गाउँपालिकाका सबै ६ वडा, खजुरा गाउँपालिकाका सबै ८ वडा र बैजनाथ गाउँपालिकाका सबै ८ वडा गरी कुल २४ वडा समेटिएका छन्। यस क्षेत्रमा ५८ हजार ६६४ जना पुरुष र ५८ हजार ६८९ जना महिला गरी कुल १ लाख १७ हजार ३५४ मतदाता रहेका छन्। यस क्षेत्रका ग्रामीण तथा अर्धशहरी क्षेत्रमा मतदाता पहुँच, यातायात तथा सुरक्षालाई मध्यनजर गर्दै मतदान केन्द्रहरू निर्धारण गरिएको छ।
जिल्ला निर्वाचन अधिकारी शाहीका अनुसार बाँकेका तीनै निर्वाचन क्षेत्रमा गरी कुल ५६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। उम्मेदवारहरूबीचको चुनावी गतिविधि तीव्र बन्दै गएसँगै सुरक्षा निकायलाई थप सतर्क बनाइएको छ। निर्वाचन आयोगको आचारसंहिता पालना गराउन समेत सुरक्षा निकायले निगरानी बढाएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनको दिन कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सीमा क्षेत्रमा विशेष निगरानी, मदिरा तथा अवैध सामग्रीको ओसारपसार नियन्त्रण, र मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न सहयोग गर्ने योजना बनाइएको छ। यससँगै स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाजबीच समन्वय गरेर निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा सम्पन्न गराउने लक्ष्य राखिएको छ।
यसरी सुरक्षा चुनौतीका बीच पनि बाँके जिल्लामा शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराउन सबै पक्ष सक्रिय देखिएका छन्। जिल्ला सुरक्षा समितिको तयारी र निर्वाचन प्रशासनको व्यवस्थापनले मतदातालाई ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।






