बाल शिक्षा माविले जित्यो आठौं उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिताको उपाधि

बाँके ,१२ माघ।
कोहलपुरमा जारी आठौं उपमेयर कप अन्तर मावि छात्रा क्रिकेट प्रतियोगिता २०८२ सकिएको छ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालनमा माघ ४ गतेदेखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । कोहलपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन माविलाई ८२ रनको विशाल रनले पराजित गर्दै बाल शिक्षा माविले उपाधि जितेको छ । बाल शिक्षाले लगातारको उक्त प्रतियोगिताको उपाधि जितेको हो । बाल शिक्षा सातौँ संस्करणको समेत विजेता स्कूल हो ।
फाइनलमा खेलमा त्रिभुवन माविले टस जितेको थियो । त्रिभुवनले फिल्डिङ रोज्यो । पहिला बलिङ गरेको बाल शिक्षाल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो । १२० रनको विशाल लक्ष्य पछ्याएको त्रिभुवन मावि ११.२ ओभरमा अलआउट हुँदै त्रिभुवन माविले ३७ रन मात्र बनाउन सक्यो । बाल शिक्षा ८२ रनले विजयी हुँदै उपाधि जितेको हो । एक समारोहका बीच कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले विजेता बाल शिक्षा माविले नगद् ३५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाण पत्र र क्रिकेट किट प्रदान गर्दै पुरस्कृत गरेकी थिइन् ।
उप विजेता बनेको त्रिभुवन माविले नगद् २५ हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाण पत्रसहित पुरस्कृत गरिएको कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमला क्षेत्रीले बताए । उनका अनुसार पञ्चमुखी इंग्लिस मेडियम स्कुल फेयर प्ले टिम घोषित भएको छ । उदयीमान खेलाडीको रुपमा सगरमाथा ज्ञान पुञ्ज माध्यमिक विद्यालयकी करिस्मा शाही सम्मानित भएकी थिइन् । लक्ष्मी माविकी कुशुम कुमारी योगी उत्कृष्ट बलर,त्रिभुवन माध्यमिक विद्यालयकी पास्ना योन्जन उत्कृष्ट ब्याटर र प्लेअर अफ द सिरिज त्रिभुवन माविकी स्वतिस्का हमाल भइन् । समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले विजेता र उपविजेतासहित सहभागी टोलीलाई बधाई ज्ञापन गरेकी थिइन् । समापन सत्रमा प्रतियोगिता सफल बनाउन भूमिका खेल्ने सरोकारवालाहरुलाई सम्मान गरिएको थियो ।






