प्रतिनिधिसभा निर्वाचन–२०८२ दलहरुले गराए सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता: सुर्खेतका दुई निर्वाचन क्षेत्रमा ३० जना चुनावी मैदानमा

ओम शाही
सुर्खेत, ७ माघ ।
आसन्न २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरुले सौहार्दपूर्ण वातावरणमा उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मंगलबार निर्वाचन कार्यतालिका अनुसार दलहरुले कर्णालीका १० वटै जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । कर्णालीका १० जिल्लामा १२ निर्वाचन क्षेत्र छन् ।
दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा २७ राजनीतिक दलसहित तीन स्वतन्त्र गरी ३० जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । जसअन्तर्गत सुर्खेत–१ मा १३ र सुर्खेत–२ मा १७ जना चुनावी मैदानमा होमिएका छन् । जसमा नेकपा एमालेका धु्रवकुमार शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालय मेहलकुना पुगेर मनोनयन दर्ता गराएका छन् । शाही यसअघि २०७४मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । शाही नेपाली कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई हराएर पहिलो पटक संसदीय अभ्यासमा प्रवेश गरेका थिए । निर्वाचन क्षेत्र नम्बर १ का सहायक निर्वाचन अधिकारी हरिप्रसाद देवकोटाका अनुसार नेपाली कांग्रेसबाट विष्णुबहादुर खड्काले मनोनयन दर्ता गराएका छन् ।
उनी निवर्तमान कांग्रेस कार्यवहाक सभापति पूर्णबहादुर खड्काका सहोदर भाई हुन् । जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरणको किचलोमा फसेको कांग्रेसमा कार्यवहाक खड्काले चुनाव नलड्ने भएपछि उनका भाइले टिकट पाएका हुन् । खड्काले चुनाव नलड्ने घोषणा गरेसँगै झण्डै ३४ वर्षपछि क्षेत्र नम्बर १ बाट कांग्रेसले नयाँ उम्मेदवार पाएको छ । विशेष गरी जेन–जी आन्दोलनपछि कांग्रेसमा पेचिलो बनेको नेतृत्व हस्तान्तरणको विषयमा संस्थापन शेरबहादुर देउवा पक्षको पेलेर लैजाने रणनीतिले सम्भवतः खड्काको पाँच दशक लामो राजनीतिमै ब्रेक लाग्ने अवस्था आएको छ ।
त्यस्तै, सुर्खेत–१ बाटै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि मनोनयन दर्ता गराएको छ । रास्वपाबाट टेकबहादुर सिंहले मनोनयन दर्ता गराएका छन् । उनी केही समय अघिमात्रै कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए । कांग्रेसमा लामो राजनीति गरेका सिंह रास्वपा प्रवेश गरेर टिकट ल्याएपछि कांग्रेसलाई सहज जित निकाल्न भने मुस्किल पर्ने देखिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)कोे तर्फबाट सुर्खेत–१ मा जितबहादुर रानाले उम्मेदवारी दर्ता गराउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि मनोनयन दर्ता गरेको छ । सुर्खेत–१ बाट राप्रपाका रवि हमाल ठकुरीले मनोनयन दर्ता गरेका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी मगर, विप्लव नेतृत्वको नेकपा माओवादीबाट हिरु शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, धरानका पूर्वमेयर हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, आमजनता पार्टीबाट रमेश सेन्चुरी, जनता समाजवादी पार्टीबाट धनसिं सार्की, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट, मितेरी नेपाल पार्टीबाट प्रकाश बुढामगरले मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकारी देवकोटाले जानकारी दिए ।
यस्तै, सुर्खेत–२ बाट नेकपा एमालेका कुलमणी देवकोटाले पनि मनोनयन दर्ता गराएका छन् । सुर्खेत–२ बाट नेपाली कांग्रेसका नारायण कोइराला, रास्वपाका रमेशकुमार सापकोटा र राप्रपाका कविराम पुरीले मनोनयन दर्ता गरेका छन् । सापकोटा पूर्वकांग्रेस पृष्ठभूमिका नेता हुन् । यस पटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कबहादुर शाहीलाई सुर्खेत–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । कांग्रेस नेता कोइराला पनि लामो अन्तरालमा टिकट पाउने नेता हुन् ।
सुर्खेत–१ मा पूर्णबहादुर खड्काले कब्जा जमाउँदा कांग्रेसकै नेता हृदयराम थानीका कारण २०५१को मध्यावधिक निर्वाच यता नयाँ अनुहारले प्रत्यक्ष चुनाव लड्ने अवसर पाएको थिएन । विशेष महाधिवेशनकै कारण थानीले चुनाव नलड्ने घोषणा गरेपछि युवा नेता कोइरालाले टिकट पाएका हुन् ।
उज्यालो नेपाल पार्टीबाट गम्भीरसिं भुल, नेपाल मजदुर किसान पार्टीबाट तुल्सी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दिपबहादुर नेपाली, विप्लव नेतृत्वको नेकपा माओवादीबाट धर्मराज देवकोटा, गतिशिल लोकतान्त्रिक पार्टीबाट पवन थापा मगरले प्रतिनिधिसभा सदस्य पदमा मनोनयन दर्ता गराएका छन् । यस्तै, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (संयूक्त)बाट प्रेमबहादु तारामी, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रामजाली र नेपाल जनसेवा पार्टीबाट हृदयन्द्र अधिकारीले मनोनयन दर्ता गराएको सुर्खेत क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, स्वतन्त्रबाट उदीराम चुनारा, कृष्ण खत्री र रमेश परियारले प्रतिनिधिसभा निर्वाचनको सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
अन्तरिम आदेश दिन अस्वीकार
गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै थापालाई कांग्रेसको सभापतिमा कामकाज गर्ने बाटो खुला भएको छ ।
थापा समूहले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको थियो । उक्त विशेष महाविधेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । त्यसविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवापक्षले सर्वोच्चमा रिट हालेको थियो । सर्वोच्चले निर्वाचन आयोगको निर्णयमा कारण देखाउ आदेश भने जारी गरेको छ । यसका साथै कांग्रेसका दुवै पक्षलाई सर्वोच्चले छलफलमा बोलाएको छ ।






