एम्बुलेन्स चालकबाट स्वाब संकलन, प्रयोगविहीन लाखौंका भेन्टिलेटर, तर बिरामीले उपचार पाएनन्

दैलेख, १ भदौं ।
प्रयोगशालामा गरिने कोरोना भाइरस (कोभिड–१९) पीसीआर परीक्षणका लागि दैलेखमा एम्बुलेन्स चालकले नै स्वाब संकलन गरेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी दैलेख सदरमुकामस्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा निर्माण गरिएको कोरोना अस्पतालमा रहेका संक्रमितको एम्बुलेन्स चालकले स्वाब संकलन गरेका हुन् ।

आइतबार बिहान आइसोलेसनमा उपचाररत तथा कोरोना संक्रमण भइ होम आइसोलेसनमा बसेका ४ जना संक्रमितको स्वाब एम्बुलेन्स चालकले संकलन गरेका हुन्। कोरोना संक्रमितको दोस्रो पटकको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरिएको थियो ।  स्वास्थ्य सेवा कार्यालय दैलेखद्वारा सञ्चालित एम्बुलेन्स चालक अर्जुन शाहीले कोरोना संक्रमितको स्वाब संकलन गरेका त्यहाँ उपचाररत एक संक्रमितले बताए ।

‘तालिम प्राप्त स्वास्थ्यकर्मीबाट स्वाब संकलन गरि नुपर्ने हो’, आइसोलेसनमा रहेका एक संक्रमितले भने, ‘एम्बुलेन्स चालकबाट स्वाब संकलन गरेर चरम लापरवाही भयो ।’ स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले एम्बुलेन्स चालकले आफूहरुलाई जानकारी नै नदिएर स्वाब संकलन गरेको बताए ।

प्रयोगविहीन लाखौंका भेन्टिलेटर, तर बिरामीले उपचार पाएनन्
गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखले खरिद गरेका लाखौंका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ । कार्यालयले कोरोना महामारी देखाउँदै पाच महिनाअघि खरिद गरेको भेन्टिलेटर प्रयोगमा नल्याउँदा बिरामीहरु सुर्खेत र नेपालगन्ज उपचारमा जान बाध्य छन् ।

११ वटा स्थानीय तह रहेको दैलेखमा २०६८ सालको जनगणनाअनुसार दुई लाख ६१ हजार सात सय ७० जनसंख्या छ । २ लाख ५० हजार बढी जनसंख्या रहेको जिल्लामा नागरिकको उपचारका लागि कार्यालयले चैत २३ गते ४६ लाखमा भेन्टिलेटर खरिद गरेको थियो ।  तर सञ्चालनमा नआउँदा जटिल खालका बिरामीलाई बाहिर लैजानुपर्ने बाध्यता छ । जिल्लामै आइसियू सहितको भेन्टिलेटर सञ्चालनमा आउने भएपछि खुसी भएका नागरिक अहिले रिफरको मारमा छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले जनशक्ति नभएकाले भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकिएको बताए ।  उनले भेन्टिलेटर सञ्चालनका लागि अक्सिजन प्लान्ट अभाव हुने गरेकाले बिरामीलाई रिफर गरिने गरिएको बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माले भेन्टिलेटर सञ्चालनमा आएको र बिरामीको उपचार हुँदै गरेको दाबी गरेका छन् । स्वास्थ्यकर्मीहरु भने जनशक्ति अभाव, अक्सिजन प्लान्ट नहुनुले भेन्टिलेटर सञ्चालनमा नआएको बताउँछन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापन समितिको कुरा फरक हुनुले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड भएको देखिन्छ ।

एम्बुलेन्स चालकबाट स्वाब संकलन, प्रयोगविहीन लाखौंका भेन्टिलेटर, तर बिरामीले उपचार पाएनन्

कर्णालीमा उत्कृष्ट बन्यो जनकल्याण

एम्बुलेन्स चालकबाट स्वाब संकलन, प्रयोगविहीन लाखौंका भेन्टिलेटर, तर बिरामीले उपचार पाएनन्

कालिकोटमा ठाउँ–ठाँउमा पहिरो, कर्णाली राजमार्ग र करिडोर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds