धान उत्पादन घट्दा किसान मर्कामा,  मार्सी बजारले नयाँ सम्भावना देखाउँदै

गीता थापा

सुर्खेत, १६पुस ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१०, की ५० वर्षीया सुधा चौधरीका लागि धान खेती केवल जीविकोपार्जनको साधन होइन, यो उनको जीवनको कथा हो । पुस्तौँदेखि खेत, हलो र धानसँग गाँसिएको परिवारको इतिहासलाई बोकेर ३२ वर्षदेखि यो पेशा अँगाल्दै आएकी छन् । अहिले उनी तीन बिघा जमिनमा धान खेती गर्छिन् । तीमध्ये ३० कठ्ठा जमिन अरूलाई अधियामा दिएकी छन् भने बाँकी ३० कठ्ठा जमिनमा उनी आफैँ बिहानदेखि साँझसम्म पसिना बगाउँछिन् ।

परिवारको वर्षभरिको खानपान, घरखर्च र नगद आम्दानी—सबै उनको खेतमा फल्ने धानमै निर्भर छ । तर पछिल्ला वर्षहरूमा कर्णालीको बदलिँदो मौसमले चौधरीको खेत मात्र होइन, उनको जीवनको आधार नै हल्लाइरहेको छ । पहिले नियमित रहने मनसुन हिजोआज ढिलो सुरु हुन्छ, कहिले समयमै पानी पर्दैन, त कहिले कटानीको ठीक समयमा अकस्मात् वर्षा हुन्छ ।

यिनै जलवायु परिवर्तनसँग जोडिएका अनिश्चितताले यसवर्ष उनको धान उत्पादन उल्लेखनीय रूपमा घटाएको छ । चौधरीले गत वर्ष एक सय ५६ मुरी धान उत्पादन गरेकी थिइन् । यो वष भने एक सय ३६ मुरी धान उत्पादन भयो । ‘गत वर्ष धान उत्पादन राम्रो भएको थियो,’ उनी सम्झन्छिन्, ‘यस वर्ष त कम उत्पादन भयो ।’ मनसुन ढिलाइ हुँदा रोपाइँ प्रभावित भयो ।

त्यसपछि खेतमा हुर्किएको बाली जोगाउने आशामा बिताएका उनका दिनहरू पनि निरर्थक बने । कटानीपछि मौसमले झन ठूलो घाउ दियो । काटेर खेतमै राखिएको धान पानीले भिज्यो, आधा उम्रिएर खेर गयो भने आधा चिसोका कारण परालमै नष्ट भयो । यसले उत्पादन मात्र घटाएन, उनको वर्षदिनको आम्दानीमै गहिरो चोट पुर्‍यायो । वर्षेनी करिब तीन लाख रुपैयाँ बराबरको धान र चामल बिक्री गर्दै आएकी उनी भन्छिन्, ‘मेरो आम्दानीको स्रोत भनेको नै कृषि पेशा हो । तर पछिल्लो समय धान उत्पादन घट्दै गइरहेको छ ।’

कर्णालीमा कुनै समय अनदी, गुणे जस्ता स्थानीय जातका धान किसानको गर्व हुन्थे । तर ती लोकल जातका धानको उत्पादन कम हुँदा किसान परिवारको पेट भर्नै धौ–धौ पर्न थाल्यो । त्यसपछि किसानहरू बिस्तारै आफ्नै परम्पराबाट टाढिँदै विकल्प खोज्न बाध्य भए । सोही बाध्यताले पछिल्लो करिब एक दशकयता कर्णालीका खेतबारीमा हाइब्रेड धानको पकड बढ्दै गएको छ ।

उत्पादन अलि बढी हुने आशामा अहिले कर्णालीका अधिकांश स्थानमा हाइब्रेड जातकै धान रोप्न थालिएको छ । चौधरी पनि यही बाध्यताबाट गुज्रिएकी हुन् । स्थानीय जात छोडेर उनी पछिल्लो आठ वर्षदेखि हाइब्रेड धान रोप्दै आएकी छन् । ‘स्थानीय जातको धान कम उत्पादन हुने भएकाले अहिले हाइब्रेड जातको धान रोप्दै आइरहेको छु,’ उनी भन्छिन्, ‘यसको उत्पादन लोकल धानभन्दा अलि बढी हुन्छ, तर पछिल्लो समय मौसम प्रतिकूल हुँदा यो धानको उत्पादन पनि घट्दै गइरहेको छ ।’

हाइब्रेड धानले केही वर्ष राहत दिएजस्तो देखिए पनि अहिले त्यो पनि सुरक्षित विकल्प रहेन । उत्पादन वर्षेनी ओरालो लाग्दै जाँदा उनी किसानको दोहोरो मार झेलिरहेकी छन्‌—एकातिर प्रकृतिको प्रहार, अर्कोतिर राज्यको कमजोर तयारी । ‘वर्षपिच्छे धान उत्पादन घट्दै गइरहेको छ,’ उनी पीडा पोख्छिन्, ‘सरकारले विषादी नहाल्न भन्छ । विषादी नहाले नयाँ–नयाँ रोग र किरा लागेर बाली सखाप नै बनाइदिन्छ । न समयमा पानी पर्छ, न सिँचाइको व्यवस्था नै छ । उल्टै बाली भित्र्याउने बेलामा वर्षा हुन्छ ।’

मौसममा भइरहेको अनपेक्षित फेरबदल, सिँचाइको दीर्घकालीन अभाव, रोग–किराको बढ्दो जोखिम र विकल्पविहीन किसान नीति—यी सबैले कर्णालीका किसानलाई दिनहुँ असहाय बनाउँदै लगिरहेको छ । ‘मौसम परिवर्तनका कारण हामी किसान धेरै मर्कामा परेका छौँ,’ चौधरी भन्छिन् । सुधा चौधरीको कथा एउटा किसानको मात्र कथा होइन ।

यो कर्णालीका किसानहरुको साझा नियति हो, जहाँ जलवायु परिवर्तन अब भविष्यको खतरा होइन, खेतमै देखिने वर्तमानको संकट बनेको छ र जहाँ धानसँगै किसानको भरोसा पनि वर्षैपिच्छे ओरालो लाग्दै गएको छ । सुर्खेत वीरेन्द्रनगर–१० कै ५९ वर्षीय बाधु थारु पनि पुर्खाको जमिनमै वर्षौंदेखि धान खेती गर्दै आएका छन् । ४४ कट्ठा जमिनमा खेती गर्दै आएका थारुले पहिला गुणे र अनदी जातका लोकल धान रोप्ने गर्थे । तर उत्पादन न्यून भएपछि पछिल्लो करिब १० वर्षयता उनी हाइब्रिड बिउ प्रयोग गर्दै आएका छन् ।

गत वर्ष उनले एक सय ५० मुरी धान उत्पादन गरेका थिए, तर यस वर्ष त्यो घटेर एक सय ३५ मुरीमा सीमित भएको छ । ‘गत वर्ष भन्दा यस वर्ष १५ मुरी कम धान उत्पादन भयो,’ उनी बताउँछन् । उनका अनुसार धान रोप्ने समयमा पानी नपर्ने, रोपाइँको लागि आकाशे पानीको भर पर्ने, र रोपिसकेपछि नयाँ–नयाँ रोग र किरा लाग्नु जस्ता समस्याले उत्पादनमा प्रत्यक्ष असर गरेको छ । थारुले अहिले पनि हाइब्रिड धानसँगै थोरै स्थानीय जातका धान रोप्ने गर्छन् ।

उनी भन्छन्, ‘हाम्रो परम्परागत लोकल जातका धान नष्ट नहोस् भनेर थोरै रोप्छु । तर त्यो धेरै फल्दैन । हाइब्रिड धान धेरै फले पनि रोग, किरा र पानीको अभाव सधैँ हुन्छ ।’ त्यसैगरी, तातोपानी गाउँपालिका–४, जुम्लाकी किसान कविता जैसी पराजुली पनि वर्षेनी घट्दो धान उत्पादनप्रति चिन्तित छिन् । उनको मुख्य आम्दानीको स्रोत भनेको धान खेती नै हो । उनले बताइन्, ‘पहिला यही धानले वर्षभरिको खान पूरा गर्थ्यो । यही धान विक्रि गरेर घरखर्च पनि चल्थ्यो । तर अहिले उत्पादन घट्दा समस्या भएको छ ।’ कविता अहिले ६ रोपनीमा धान खेती गर्दै आएकी छन् । गत वर्ष उनले नौ क्विन्टल धान उत्पादन गरेकी थिइन्, तर यस वर्ष त्यो घटेर आठ क्विन्टलमा झरेको छ । उनले भन्छिन्, ‘वर्ष दिनको खान पुर्‍याउन पुग्थ्यो । विस्तारै उत्पादन ओरालो लाग्दै गएको छ ।’

पहिला जुम्लाको रातो मार्सी चामल विक्रि गरेर घरपरिवारको खर्च जुटाउने किसानहरू अहिले ६ महिनाको खर्च व्यवस्थापन गर्नसमेत संघर्षरत छन् । कविताका अनुसार, जुम्लाको रातो मार्सी धानमा उत्पादनमा गिरावटको मुख्य कारण प्रतिकुल मौसम हो । जलवायु परिवर्तनका कारण धान रोप्ने समयमा पानी नपर्नु, सिँचाइको अभाव र अनियमित वर्षाले उत्पादनलाई लगातार ओरालो लाग्न बाध्य पारेको उनले बताइन् । पहाडी भेगमा सिँचाइ सुविधा अभावका कारण किसानहरू झन् मर्कामा परेका छन् । कर्णालीको कृषिलाई कहिले अनावृष्टि, कहिले खण्डवृष्टि र कहिले अतिवृष्टिले मार्दै गएको छ । त्यसमाथि मौसमी अनिश्चितता, झारपात र किरा–कीटाणुको प्रभावले उत्पादनमा निरन्तर ह्रास ल्याइरहेको कुरा कविता बताउँछिन् ।

कविताको अनुभव, बाधुका कथासँगै जोडिँदा स्पष्ट हुन्छ कि कर्णालीका किसानहरू केवल बाली नभई, आफ्नै जीवन र भविष्यको भरोसासँग संघर्षरत छन् । मौसमले निरन्तर चुनौती दिएपछि उनीहरूका लागि धान खेती केवल पेशा होइन—जीवनको आधार नै संकटमा परेको अनुभूति दिन्छ । भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा खेतीयोग्य जमिन पनि सिंचाईको पर्याप्त सुविधा नहुँदा किसानहरूको जीवन नै चुनौतीपूर्ण बनेको छ । यहाँको खेती प्रणाली अझै परम्परागत रूपमै आकाशे पानीमा निर्भर छ, जसले वर्षेनी धान उत्पादनमा अनिश्चितता ल्याउँछ ।

जुम्ला, जो कर्णालीको रातो मार्सी चामलको लागि प्रख्यात छ, अहिले आफ्नो परम्परागत पहिचान र उत्पादन दुवै गुमाउँदै गएको छ । कविताले भनिन्, ‘व्यवसायिक कृषकका हिसाबले भन्ने हो भने अहिले रैथाने धानवाली मात्र होइन, अरु बालीनाली पनि हुने–नहुने कुनै ठेगान छैन । कहिले चाहिएको बेला पानी नै पर्दैन, कहिले नचाहिएका बेला दिनरातै दर्केर हैरानी बनाउँछ ।’ कर्णालीको पहिचान बोकेको रातो, कालो मार्सी चामल मात्र होइन, परम्परागत रूपमा रोप्दै र फल्दै आएका अधिकाँश रैथाने जातका धानहरू पनि पछिल्लो समय हराउँदै गएको अवस्था छ ।

कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख रामभक्त अधिकारी भन्छन्, ‘परम्परागत मूल, नदी–नाला र नहरहरू सुक्दै गएका कारण रैथाने बालीहरू उत्पादनमा कमी आएको हो । एउटै पालिकामा पनि एउटा वडामा पानी पर्छ, अर्कोमा पर्दैन, ठाउँपिच्छे मौसम फरक फरक छ, कतै पानी नपर्ने कतै बढी पर्छ । सयौँ वर्षदेखिका मूलमुहानहरू सुक्दै गएपछि उत्पादन पनि घट्दै गएको छ ।’ अधिकारीका अनुसार, जुम्लामा पछिल्लो समय स्थानीय हावापानी सुहाउने चन्दननाथ १ र ३ जातका धान रोप्न थालिएको छ । जलवायु परिवर्तनका कारण सृजना भएका झारनाशक र लाभदायक किराकिटाणुहरूको कमीले माटोको उर्वरा शक्तिमा पनि ह्रास आएको छ । तर यस वर्ष भने जुम्लामा गत वर्षको तुलनामा २.३ प्रतिशतले उत्पादन वृद्धि भएको अधिकारीले जानकारी दिन्छन् । उनी थप्छन्, ‘कुनै पालिकामा कम धान उत्पादन भएका छन्, कुनै पालिकामा धेरै उत्पादन भएका छन् । समयमै रोपाइँ भएको पालिका, सिँचाई र कुलो भएको स्थानमा धान उत्पादन राम्रो छ भने, पानी, सिँचाई र कुलो नभएको स्थानमा उत्पादन त लगभग छैन ।’

आकाशे पानीमा निर्भर खेतीले कर्णालीका किसानहरूको जीवनमा कहिले सुख र कहिले पीडा ल्याउँछ । सल्यान, वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का तुङ्ग बहादुर विसीले यसवर्षको धान उत्पादनमा आएको गिरावट साझा गर्दै भन्छन्, ‘गत वर्षभन्दा यस वर्ष २० मुरी धान उत्पादनमा कमी भयो । यस वर्षको रोपाइँ साउन महिनामा हुनु पर्ने थियो, तर भदौको पहिलो सातामा भयो । त्यसपछि गोभरा र डल्ले रोग लागेर उत्पादनमा कमी आयो । सिँचाइ सुविधा छैन, आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सल्यानका सबै किसानको समस्या मेरो जस्तो नै छ ।’

विसीका अनुसार वर्षभरी दुख गरेर पनि वर्षदिनसम्म खान पुग्ने मात्र उत्पादन हुन्छ । त्यसैले धेरै जसो किसान अहिले खेती पातीभन्दा बढी भारततिर कमाउन जाने गर्छन् । यो अवस्था केवल उत्पादनको प्रश्न मात्र होइन । कर्णालीका किसानहरूको जीवन, परम्परा, र आत्मनिर्भरता नै संकटमा परेको छ । पानी नपर्नु, रोग र कीरा बढ्नु, सिँचाइको अभाव र अनियमित मौसम—यी सबै कारकहरूले किसानहरूलाई अनिश्चिततामा धकेलेका छन् । यहाँका प्रत्येक खेतमा पसिना, आशा र चिन्ता सँगसँगै उब्जिन्छ । र जहाँ एकातिर खेतबारीमा धान घट्दै गएको छ, त्यहीँ अर्कोतिर किसानहरूको भरोसा, संघर्ष र भविष्य सधैंको प्रश्न बनेको छ ।

८२ हजार हेक्टर बढी जमिन बाँझैः कर्णालीको कृषि संकट

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको २०८१/०८२ को तथ्यांकले प्रष्ट देखाउँछ कि यहाँको भूमि मात्र नभएर किसानको जीवन नै संकटमा परेको छ । कर्णालीको कुल क्षेत्रफल ३० लाख २० हजार ९०० हेक्टर रहेको छ, तर त्यसमध्ये दुई लाख २८ हजार ७७ हेक्टर मात्र खेतीयोग्य छन् । आश्चर्यजनक कुरा के छ भने, यी खेतीयोग्य जमिनमध्ये ८७ हजार एक सय ५९ हेक्टर भने बाँझै रहेका छन् ।

यसले स्पष्ट रूपमा देखाउँछ कि कर्णालीका खेतबारीहरूले अझै आफ्नो पूरा क्षमता उपयोग गर्न सकेका छैनन्, र हजारौँ किसान आफ्नो मेहनत र आशालाई जमीनसँग जोडेर पनि खाली हात फर्किरहेका छन् । प्रदेशमा खेतीयोग्य जमिन बाँझो रहनुको प्रमुख कारण सिँचाइ अभाव रहेको छ । यही समस्या कर्णाली प्रदेश सरकारको १० वर्षे कृषि रणनीतिमा औँल्याइएको छ । उक्त रणनीति २०८१ पुस २६ गते देखि लागु गरिएको थियो । भूमि त छ, किसानको इच्छा र मेहनत पनि छ, तर पानीको पहुँच नभएको कारण बाली रोपाइँबाट फलिफाप हुन सकेको छैन ।

तथ्यांक अनुसार, कर्णालीमा खेती गरिने कुल जमिनमध्ये केवल १९ दशमलव ६ प्रतिशत अर्थात् ३८ हजार २ सय ३३ हेक्टरमा मात्र वर्षभरि पानी पुग्छ । ३० हजार ४ सय ७ हेक्टरमा भने मौसमी सिँचाइको सुविधा भए पनि, कुलोमा मात्र ३४ दशमलव २२ प्रतिशत जमिनमा सीमित सिँचाइ पुग्ने अवस्था छ । यसको प्रत्यक्ष असर किसानको वर्षेनी उत्पादनमा देखिन्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा, मौसमी प्रतिकूलता र सिंचाइको अभावका कारण कर्णालीमा हरेक वर्ष करिब ३९ हजार मेट्रिकटन खाद्यान्न अपुग हुन्छ ।

त्यो ३९ हजार मेट्रिकटन मात्र होइन, त्यो ३९ हजार घरधुरी, परिवार, बच्चा र वृद्धहरूको दिनभरिको खाना हो, जसलाई भरपर्दो रूपमा खेतले उत्पादन गर्न सकिरहेको छैन । यो केवल आर्थिक चुनौती मात्र होइन; यहाँको जीवन, परम्परा र किसानको आत्मनिर्भरता माथि सधैंको प्रश्न चिह्न हो । तथ्यांकले देखाउँछ कि जमिन छ, मेहनत छ, तर पानीको पहुँच र व्यवस्थापनको कमीले कर्णालीको कृषि अझै अधुरो छ । बाँझो जमिन र अधुरो सिँचाइ—यी दुवैले केवल उत्पादन मात्र घटाएको छैन, यहाँको किसानको विश्वास, परिश्रम र भविष्यलाई पनि जोखिममा राखेको छ ।

उत्पादन घट्दा किसान र परिवारको जीवन संकटमा

कर्णाली प्रदेशको कृषि क्षेत्रमा देखिएको संकट केवल बाली मात्र सीमित छैन । प्रदेशको कृषि मन्त्रालयको तथ्यांकले प्रष्ट देखाउँछ कि रैथाने जातका धान मात्र होइन, पछिल्ला वर्षहरूमा रोपिएका नयाँ र उन्नत प्रजातिका धान उत्पादन पनि घट्दो क्रममा छ । प्रदेशभरका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ भन्दा २०७८/०७९ मा धानको उत्पादन र उत्पादकत्व दुवै घटेको देखिन्छ ।

२०७७/०७८ मा कर्णालीमा १४ लाख ७३ हजार ४७४ हेक्टर जमिनमा धान खेती गरिएको थियो, जसमा ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो । तर आर्थिक वर्ष २०७८/०७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा खेती भए पनि उत्पादन घटेर ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन मात्र रह्यो ।

२०७९/८० मा धान खेती गरिएको क्षेत्रफल १४ लाख ४७ हजार ७८९ हेक्टर थियो भने उत्पादन ५४ लाख ८६ हजार ४७२ मेट्रिक टनमा सीमित रह्यो । यही क्रमगत गिरावटले ०८०/०८१ मा अझ गहिरो रुप लिएको देखिन्छ । उक्त आर्थिक वर्षमा उत्पादकत्व घटेर एक लाख ४५ हजार ६३ मेट्रिक टन मात्र उत्पादन भएको तथ्य कृषि मन्त्रालयसँग छ ।

यसले स्पष्ट पार्छ कि प्रदेश सरकारले कृषि क्षेत्रमा धेरै लगानी गरे पनि—पूर्वाधार निर्माण र बजेट वृद्धि हुँदाहुँदै—उत्पादन र धानखेती विस्तार हुनुको साटो लगातार घट्दै गएको छ । तथ्यांकले देखाउँछ कि कर्णालीमा उत्पादन भएको धानको चामलले यहाँका नागरिकलाई ६ महिना पनि पूर्ण रूपमा खाने क्षमता प्रदान गर्न सक्दैन । उत्पादकत्व मात्र घटेको होइन, धानखेती गर्ने क्षेत्रफल पनि लगातार सिमित हुँदै गएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा केवल ४१ हजार नौ सय चार हेक्टरमा धान खेती भएको छ । २०७८/०७९ भन्दा ०८०/०८१ मा धानखेती हुने क्षेत्रफल शून्य दशमलव ४२ प्रतिशतले घटेको तथ्य मन्त्रालयमा छ । यसैगरी उत्पादनमा १३ दशमलव ८९ प्रतिशत र उत्पादकत्वमा ७ दशमलव ८ प्रतिशत गिरावट आएको छ । ०८२/०८३ को तथ्यांक संकलनको क्रममा रहेको योजना भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका नीति अनुगमन मापदण्ड तथा समन्वय शाखाका प्रमुख पूर्ण थापाले बताए ।

पछिल्लो समय जमिन खण्डीकरण र बस्ती विस्तार हुँदा खेतीयोग्य जमिन घट्दै गएको उनको भनाई छ । उनका अनुसार, उत्पादकत्व घट्नुको अर्को प्रमुख कारण भनेको खेती गर्ने समयमा पानी नपर्नु, पर्याप्त सिँचाइ र कुलोको अभाव हो । उनी भन्छन्, ‘खेती पाती गर्ने समयमा गाउँमा काम गर्ने जनशक्ति नहुँदा जमिन बाँझै रहन्छ, अर्कोतर्फ किसानले समयमा बीउ–बिजन नपाउँदा पनि उत्पादनमा ह्रास आएको हो ।’

प्रदेश सरकारले पछिल्लो समय जलवायु परिवर्तनका प्रभावलाई कम गर्न हावापानी सुहाउँदो खेतीपाती र फलफूल लगाउने पहल थालेको भए पनि, यसले पूर्ण समाधान दिन अझै सकेको छैन । कृषि मन्त्रालयका अनुसार, कर्णालीमा वर्षेनी झण्डै तीन लाख १६ हजार तीन सय ९१ मेट्रिक टन धान उत्पादन हुन्छ । यहाँका कुल तीन लाख ५५ हजार दुई सय ५५ घरधुरीमध्ये तीन लाख दुई हजार ६ सय ४० परिवार पूर्ण रूपमा कृषि पेसामा आश्रित छन् । तर आश्चर्यजनक कुरा के छ भने, ६९ दशमलव पाँच प्रतिशत परिवारलाई आफ्नो कृषि उत्पादनले वर्षभरी खान पुग्दैन ।

यो तथ्य केवल संख्या वा प्रतिशत मात्र हो यसले कर्णालीका हजारौं परिवारको जीवन, उनीहरूको आत्मनिर्भरता र दैनिक भोजन सुरक्षा माथि प्रत्यक्ष खतरा देखाउँछ । यहाँका किसानहरूले वर्षभरी खेतमा पसिना बगाउँछन्, आशा राख्छन्, तर पानीको अभाव, सिँचाइ सुविधा नहुनु, बीउ–बिजनको कमी र मौसमी अनिश्चितताले बारम्बार उनीहरूको मेहनत र भरोसा भत्काइदिन्छ । कर्णालीमा धान उत्पादन घट्नु केवल कृषि चुनौती होइन । यो जनजीवनको आधार, किसानको आत्मसम्मान र सामाजिक सुरक्षा माथिको ठूलो संकट हो । जहाँ सरकारले ठूलो बजेट खर्च गर्छ, कृषि पूर्वाधार विस्तार गर्छ, तर उत्पादन घट्छ र परिवारहरूको खाना नपुग्ने अवस्था रहन्छ, त्यहाँ नीतिगत सुधार र प्रभावकारी जलवायु अनुकूल रणनीति अपरिहार्य देखिन्छ ।

धान उत्पादनमा ह्रास र कर्णालीको भविष्यमाथी चुनौती

सुर्खेतको दशरथपुरमा रहेको नेपाल कृषि अनुसन्धान केन्द्रका प्रमुख देवनीधि तिवारीले पछिल्लो समय कर्णालीमा धानबालीमा देखिएका विभिन्न रोगको कारण कृषि उत्पादनमा गिरावट आएको बताउँछन् ।  मौसमी प्रतिकूलताका कारण घाँटीमरुवा र पातमरुवा रोग देखा परेको र ती रोग पुराना बीउले सहन नसक्ने भएकाले रैथाने बालीको संरक्षणमा समस्या आएको उनको भनाई छ ।

‘परिवर्तित मौसमअनुसार नै कर्णालीमा ठाउँ विशेषमा उत्पादन गर्न सकिने माटो सुहाउँदा विभिन्न बालीहरूको परीक्षण गरिरहेका छौं,’ तिवारी भन्छन् । ‘जलवायु परिवर्तनले पारेको प्रभावलाई सकारात्मक अवसरका रूपमा पनि लिन सकिन्छ । हाम्रा लागि मौसमी प्रतिकूलता अनुसार नयाँ ज्ञान, अनुसन्धान र नयाँ उत्पादन गर्ने चुनौतीसहितको अवसर हो,’ उनले थपे ।

मध्यपश्चिम विश्वविद्यालयको वातावरण तथा जलवायु संकायका डिन डा. सुदीप ठकुरीका अनुसार कर्णालीमा धेरै भू–भागमा अझै आकाशे पानीमै निर्भर रहनुपर्ने बाध्यता छ, जसले तापक्रममा हुने असमानताका कारण धान उत्पादनमा कमी ल्याएको छ । धान रोप्ने समयमा पानी नपर्नु, रोपाइँ समयमै नहुनु, र अनपेक्षित मौसमले धानमा विभिन्न रोग र किराहरूको वृद्धि गरेको ठकुरीको भनाइ छ ।

‘जलवायु परिवर्तनले खोला, नाला जस्ता पानीका मुहानमा असर पारेको छ । सुख्खापनले धान खेतीमा सीधा प्रभाव पुर्‍याएको छ । यद्यपि तापक्रममा वृद्धि भएपनि त्यसैलाई मात्र आधार मानेर उत्पादन घटेको भन्न सकिन्न,’ उनले बताए । युवा वर्गमा कृषि प्रतिको मोह घट्नु, परम्परागत खेतीमा लागत बढी र उत्पादन कम हुने कारण पनि धान उत्पादन र क्षेत्रफल घटेको अर्को कारण हो ।

मार्सीमा पलाएको आशा 

यद्यपि, रैथाने उत्पादनहरूको संरक्षण र बजारीकरणका लागि केही पहल पनि भैरहेको छ । जुम्लामा रहेको चन्दननाथ बहुउदेश्यीय सहकारी संस्था ले २०७४ फागुनदेखि मिनी मार्केट सञ्चालनमा ल्याएको छ । जुम्ला सदरमुकाममा सञ्चालित यो अर्गानिक मिनी मार्केटले स्थापना भएदेखि हालसम्म करिब ३ करोड ५० हजार बराबरको मार्सी चामल बिक्री गरेको छ ।

सहकारीका व्यवस्थापक ऋषीराम पाण्डे भन्छन्, ‘जुम्ला आउने जानेको पहिलो रोजाइमा मार्सी पर्छ । मार्सीसँगै ओखर, सिमी, कोदो, चना, भटमास, स्याउका चाना, चिनु कागुनो, गहत, जौको पिठो जस्ता कृषिजन्य वस्तु बिक्री हुन्छ ।’ पाण्डेका अनुसार, मिनी मार्केटले एक वर्षमा १३ करोड बराबरको अर्गानिक खाद्य वस्तु बिक्री गरेको छ । २८ हजार सदस्य आवद्ध सहकारीका सदस्यहरूले उत्पादन गरेका रैथाने उपजहरू बिक्रीका लागि प्रदेश राजधानी सुर्खेत, संघीय राजधानी काठमाडौं लगायतका स्थानमा वितरण गरिरहेका छन् ।

पाण्डे भन्छन्, ‘आउँदो माघमा नेपालगञ्ज एयरपोर्टमा पनि मिनी मार्केटको शाखा खोल्ने तयारी भइरहेको छ ।’ तर यस्ता पहलका बाबजुद पनि मार्सी धानको माग अत्याधिक छ, र उत्पादन माग अनुसार पुर्‍याउन सकिएको छैन । पाण्डेका अनुसार, ‘पछिल्लो समय मार्सी धानको उत्पादन घट्दो क्रममा छ । कतिपय किसानले मार्सी धान कम उत्पादन हुने भएकाले रोप्नै छोडेका छन् । युवा जति वैदेशिक रोजगारीतिर जाँदै छन्, त्यसले पनि उत्पादनमा कमी ल्याएको छ ।’

अन्ततः, कर्णालीमा धान उत्पादनको गिरावट केवल कृषि समस्या मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक संकट पनि हो । रैथाने धानको संरक्षण, युवा वर्गको कृषि मोह, सिंचाइको अभाव र बदलिँदो मौसम—यी सबै कारकहरूले किसानको मेहनत र भविष्य माथि प्रश्न चिन्ह लगाएको छ । यहाँका किसानले पसिना बगाउँछन्, आशा राख्छन्, तर प्राकृतिक असमानता र संसाधन अभावले बारम्बार उनीहरूको भरोसा र जीवनशैली चुनौतीपूर्ण बनाइरहेको छ ।

धान उत्पादन वृद्धिमा जोडः कर्णालीको कृषि रणनीतिको आवश्यकता

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अर्थविज्ञ विनोद कार्कीले कर्णालीको धान उत्पादन वृद्धि गर्नका लागि सरकारले धान प्रवद्र्धन नीति ल्याउन जरुरी रहेको बताएका छन् । उनले धानको पकेट क्षेत्र सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा धान उत्पादनको क्षेत्रफल बढाउन किसानलाई अनुदानका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।

कार्कीका अनुसार कर्णालीमा धानको उत्पादन घट्नुको मुख्य कारण सिँचाइको उचित व्यवस्था नहुनु हो । समयमा धानमा सिँचाइ गर्नका लागि सिँचाइ कुलो नभएका स्थानमा वर्षातको समयमा आकाशे पानी जम्मा गर्ने, परम्परागत कुलो सुधारका कार्यक्रम ल्याउने र पम्प सिँचाइ जस्ता कार्यक्रमहरू लागू गर्न सकिने उनले बताएका छन् । जलवायु अनुकूलन धानका जातहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले किसानलाई समय समयमा कृषि प्राविधिक सेवा दिन सके धानमा लाग्ने रोग र किरालाई समयमै किसानद्वारा नै न्यूनीकरण गर्न सकिने उल्लेख गरेका छन्‌् ।

किसानलाई समयमा बीउ र मल उपलब्ध गराउन सकेको खण्डमा पनि धानको उत्पादकत्व बढाउन सकिने उनको भनाइ छ । उनले मन्त्रालयले ब्लकमा धान उत्पादन खेती प्रविधि कार्यक्रम सुरु गरेको र धान उत्पादन बढाउन चैते धानलाई सुहाउँदो हावापानी भएको स्थानमा लगाउन सुरु गरेको बताएका छन् । समयमा रोग किराको समस्या समाधान गर्न आकस्मिक बाली संरक्षण कार्यक्रम पनि लागू गरिएको उनले जानकारी दिए ।

त्यसैगरी, कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्र रोकायले प्रदेश सरकारले ल्याएको पाराङ्गारिक नीतिमा कर्णालीलाई पूर्ण रूपमा अर्गानिक बनाउने योजना अघि बढाएको बताएका छन् ।

रासायनिक मलको विकल्पमा पाराङ्गारिक र जैविक मलको प्रयोगलाई प्रोत्साहन गरिएको र यस नीतिले कृषकहरूलाई दिगो र वातावरणमैत्री खेतीतर्फ प्रेरित गर्ने लक्ष्य राखेको उनको भनाई छ । जलवायु परिवर्तनका कारण धानमा खैरो फड्के किराको प्रभाव बढेको र बाला फल्ने समयमा धान सुक्ने समस्या देखिएकाले यसलाई कम गर्न सरकारले हरियो मल र गोठे मल प्रयोग बढाउन प्रयत्न गर्दै आइरहेको उनले बताए । हरियो मल पछिल्लो समय किसानका लागि धानका साथै अन्य रैथाने बालीको उत्पादकत्व बढाउन मद्दत पुर्‍याएको उनको भनाइ छ ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका कृषि विकास शाखाका प्रमुख हेमराज केसीले नगरपालिकाले भू–उपयोग नीति पास गरी पूर्व–पश्चिम राजमार्गको तल्लो भागलाई कृषि भूमिको रूपमा छुट्याएको बताएका छन् । यो क्षेत्र खेतीयोग्य जमिनको रूपमा छनोट गरिए पनि बढ्दो सहरीकरण र जमिन खण्डीकरणका कारण संरक्षणमा चुनौती बढेकाले यसलाई रोक्न छुट्टै रणनीति बनाएर काम गर्न जरुरी रहेको उनले बताएका छन् । उनले कृषकहरूलाई गोठे र हरियो मलको उत्पादन तथा प्रयोगका लागि तालिम दिइरहेको बताउँदै यसो गर्दा धानको उत्पादकत्व बढाउन सकिने उल्लेख गरेका छन् । खेतीयोग्य जमिनको संरक्षण र सहरीकरणको बढ्दो प्रभाव नियन्त्रण गर्न अझ बढी प्रयास आवश्यक रहेको केसीको भनाई छ ।

धान उत्पादन वृद्धिका सन्दर्भमा “धान खेती क्षेत्र र गतिशीलता“ सम्बन्धी अनुसन्धानमा सिँचाइ र पानी व्यवस्थापन सुधार, गुणस्तरीय बीउ उपलब्ध गराउने, स्थानीय र उपयुक्त बीउ उपलब्ध गराउने, स्वयं सिफारिस गरेको नीति हस्तक्षेपहरू र कृषि विस्तार सेवामा जोड दिनुपर्ने बताइएको छ । उक्त अनुसन्धानमा किसानहरूको पहुँचमा गुणस्तरीय कृषि सेवा तथा प्रशिक्षण, बजारसम्म पहुँच र वित्तीय पहुँच हुनुपर्ने कुरामा जोड दिइएको छ । विशेष गरी महिला किसानहरूको प्राविधिक पहुँचलाई सुदृढ गर्नुपर्ने बताइएको छ ।

त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्, जुम्ला, कर्णालीले किसानहरूले जलवायु अनुकूलन सुहाउँदो जातको धानका बीउ रोप्नुपर्ने उल्लेख गरेको छ । कर्णाली क्षेत्रमा धानको उत्पादन बढाउन सके खाद्य सुरक्षामा पनि योगदान पुर्‍याउन सकिनेछ । डोल्पा, हुम्ला, कालिकोट र मुगुमा उपलब्ध विविधता छनोटहरूको विकल्प बढाउन रोग प्रतिरोध, चिसो सहनशीलता र छोटो बढ्दो अवधि भएका नयाँ प्रजातिहरू पहिचान गरिनुपर्ने कुरामा परिषद्ले जोड दिएको छ ।

 

धान उत्पादन घट्दा किसान मर्कामा,   मार्सी बजारले नयाँ सम्भावना देखाउँदै

नेपालगन्ज भन्सारः पाँच महिनामा सात अर्ब ६५

Leave a comment

Your email address will not be published. Required fields are marked *