एमालेको ११ औं महाधिवेशन पहिलो पटक पदाधिकारीको उम्मेदवारमा कर्णालीको डेब्यू

ओम शाही
सुर्खेत, २९ मंसिर ।
नेकपा एमालेको पार्टी इतिहासमा पहिलो पटक कर्णाली प्रदेशले पदाधिकारीको उम्मेदवार पाएको छ । शनिबारबाट जारी नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा कर्णालीले पदाधिकारीमा उम्मेदवारी दिन पाएको हो । २०७८मा सम्पन्न १०औं महाधिवेशनसम्म आइपुग्दा योग्य नेता हुँदाहुँदै पनि कर्णालीले आफ्नो प्रतिनिधित्व स्थायी र केन्द्रीय सदस्यमै चित्त बुझाउन बाध्य थियो ।
जारी महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली कर्णालीलाई पदाधिकारी दिन राजी भएपछि स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री यामलाल कँडेलले सचिव पदमा मनोनयन दर्ता गरिसकेका छन् । अन्य प्रदेशले केन्द्रीय पदाधिकारीमा बर्चश्व जमाउदा कर्णालीले भने हरेक अवसर गुमाउँदै आएको छ ।
एमाले कर्णालीको राजनीतिमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएका कँडेलले केन्द्रीय नेतृत्वको हेपाहा प्रवृत्तिका विरुद्ध प्रतिवाद गर्दै आएका थिए । सोही कारण अध्यक्ष ओलीले कँडेललाई असहयोग गर्दै आएका थिए । एमालेको केन्द्रीय नेतृवबाट कर्णालीलाई यतिसम्म उपेक्षा थियो कि, कर्णालीमा योग्य नेता हुँदाहुँदै इन्चार्जमा अन्य प्रदेशका नेतालाई कर्णालीको जिम्मेवारी दिइएको इतिहास छ ।
यतिमात्रै होइन संघीयता कार्यान्वयनपछि स्थापना भएका प्रदेश संरचनाको नेतृत्व लिन केन्द्रीय नेतृत्वले उपेक्षा गर्दै आएको थियो । बहुमत हुँदा होस् वा प्रदेश प्रमुख भागमा पर्दा एमालेको केन्द्रीय नेतृत्वले अन्य प्रदेशका नेताको जिम्मा लगाउदा कर्णालीका एमाले नेताहरुमा वितृष्णा थियो ।
२०७८ मंसिरमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि कँडेल सचिव पदका दावेदार थिए । उनलाई सचिव बनाउन कर्णालीका महाधिवेशन प्रतिनिधिहरु चितवन पुगेका थिए । तत्कालिन समयमा एमालेले १९ पदाधिकारी चुन्यो । सात उपाध्यक्ष, सात सचिव र तीन उपमहासचिव हुँदासमेत कँडेल अध्यक्ष ओलीको केन्द्रीय पदाधिकारीमा अटाएनन् । कँडेल कर्णालीमा संगठन निर्माणमा अब्बल र अनुभवी नेता हुन् ।
जो पहिलो पटक केन्द्रीय सदस्यमा डेब्यू गर्दैछन्
एमालेको ११औं महाधिवेशनबाट कर्णालीका सात नेताले केन्द्रीय सदस्यमा डेब्यु गर्दैछन् । जारी एमाले महाधिवेशनमा पार्टी अध्यक्ष ओली समूहबाट केन्द्रीय सदस्यमा सुर्खेतकी पद्मा खड्का, दैलेखका रुद्रबहादुर शाही, दैलेखकै सुशील थापा, मुगुका जितबहादुर मल्ल, दैलेखकी पार्वती विशंखे, मुगुका दानसिं परियार र कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । खड्का र थापा, विशंखे र परिवार पूर्व संघ र प्रदेशसभा सदस्यसमेत हुन्, भने मल्ल बहालवाला प्रदेशसभा सदस्य हुन् ।
यस्तै शाही २०७९ मा दूल्लु नगरपालिका दैलेखका नगर प्रमुखमा नेपाली काग्रेस र नेकपा माओवादीको गठवन्धनका कारण पराजित व्यक्ति हुन् । खड्का र थापा २०७४ मा सम्पन्न कर्णाली प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए । एमालेको तर्फबाट थापा दैलेखबाट प्रत्यक्ष र सुर्खेतबाट खड्का समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिएका थिए ।
खड्का हाल नेकपा एमाले कर्णाली प्रदेश कमिटीको उपसचिव छन् । उनले अखिल नेपाल महिला संघ तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेकी छन् । बहालवाला प्रदेशसभा सदस्यसमेत रहेका मुगुका मल्ल नेकपा एमाले कर्णाली प्रदेश लेखा आयोगका अध्यक्ष हुन् । उनी २०७९ मा मुगुबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
यस्तै, दैलेखकी विशंके २०७४ मा एमालेबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेकी थिइन भने, मगुका परिवार २०७४ मा कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । यस्तै, केन्द्रीय सदस्यमा पहिलो पटक उम्मेदवार बनेका शाही २०८० असोजमा सम्पन्न एमाले कर्णाली प्रदेश कमिटिको अध्यक्षमा पराजित भएका थिए ।
जारी महाधिवेशनमा तेस्रो पटक अध्यक्षको उम्मेदवार बनेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा कर्णालीबाट एक पदाधिकारीसहित २९ बढी केन्द्रीय सदस्यले उम्मेदवारी दिएका छन् । कर्णाली भुगोल खुलातर्फ सुर्खेतका नवराज रावत, जाजरकोटका डम्बर सिंह, दैलेखका विष्णु रिजाल, हुम्लाका दल फडेरा, मुगुका जितबहादुर मल्ल छन् ।
प्रदेश भुगोल युवातर्फ दैलेखका रुद्रबहादुर शाही, प्रदेश भुगोल महिलातर्फ सुर्खेतकी मोहनमाया ढकाल, दैलेखकी मिनासिं रखाल, कालिकोटकी इन्दिरा सन्ज्याल उम्मेदवार छन् । यस्तै, दैलेखका लक्ष्मीप्रसाद पोखरेल, दैलखकै राजवहादुर बुढाक्षेत्री, दैलेखका धर्मराज रेग्मी, हुम्लाका दल रावल, जाजरकोटका निरज आचार्य र हुम्लाकै गोरखबहादुर बोगटी र कालीकोटका मिनबहादुर शाही छन् ।
आदीवासी जनजाती केन्द्रीय सदस्यतर्फ जाजरकोटका सीपी घर्ति र सल्यानका गोविन्द पुन उम्मेदवार बनेका छन् । दलित कलष्टर खुलामा मुगुका दानसिं परियार र दलित महिलातर्फ दैलेखकी पार्वती विशंके केन्द्रीय सदस्यका उम्मेदवार छन् । पिछडिएको कलष्टरबाट खुलातर्फ कालिकोटका नागिन्द्र शाही नेसनल र महिलातर्फ डोल्पाकी बदमीक्वारी बोहरा छन् ।
त्यस्तै, खुलातर्फ केन्द्रीय सदस्यहरुमा हुम्लाका गोरखबहादुर बोगटी, दैलेखका लक्ष्मीप्रसाद पोखरेल, राजबहादुर बुढाक्षेत्री र धर्मराज रेग्मी, हुम्लाका दलबहादुर रावल, जाजरकोटका निरज आचार्य र कालिकोटका मिनबहादुर शाही उम्मेदवार छन् । केन्द्रीय सदस्य खुला ४० मुनि दैलेखका सुशील थापा उम्मेदवार छन् । त्यस्तै, केन्द्रीय सदस्य महिलातर्फ सुर्खेतकी पद्मा खड्का र दैलेखकी सूर्यकुमारी श्रेष्ठ छन् ।






