घरदैलोमै स्वास्थ्य सेवा : नरैनापुरको सामुदायिक अभियानले बढायो नागरिकको भरोसा

बाँके ।बाँकेको नरैनापुर गाउँपालिकाले नागरिकको स्वास्थ्य अवस्था सुदृढ बनाउने र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरेको सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिकाले सुरु गरेको यो अभियानले स्वास्थ्य सेवा नागरिकको घरआँगनसम्म पु¥याउँदै स्वास्थ्यप्रति सचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।

गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, समयमै स्वास्थ्यसम्बन्धी जानकारी र सेवा नपाउँदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको विगतका अनुभवलाई मध्यनजर गर्दै यो कार्यक्रम अघि बढाइएको हो। “रोग लागेपछि मात्र अस्पताल जाने प्रवृत्तिलाई तोडेर रोग लाग्न नदिन र प्रारम्भिक अवस्थामै पहिचान गर्न यो कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष शाहले भन्नुभयो। उहाँका अनुसार घरदैलोमै पुगेर सेवा दिन थालेपछि नागरिकको सोच र व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको छ।

कार्यक्रम अन्तर्गत गाउँपालिकाका सबै ६ वटै वडामा अनमी, स्टाफ नर्स र अहेव गरी १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। उनीहरूले मुटुरोग, मानसिक स्वास्थ्य समस्या, पाठेघर तथा स्तन क्यान्सर, गर्भवती र सुत्केरी महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा किशोर–किशोरीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, परामर्श र सचेतनामूलक सेवा प्रदान गर्दै आएका छन्। नियमित अनुगमन र परामर्शले नागरिकलाई रोगबारे बुझ्न र समयमै उपचारतर्फ अग्रसर हुन सहयोग पुगेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहका अनुसार, अभियानमार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने लक्ष्य राखिएको छ। “नागरिकको वास्तविक अवस्था पहिचान गरी तथ्याङ्कमा आधारित सेवा प्रवाह गर्न सके मात्र प्रभावकारी स्वास्थ्य नीति बनाउन सकिन्छ,” उहाँले बताउनुभयो। यसले दीर्घकालीन रूपमा गाउँपालिकाको समग्र स्वास्थ्य व्यवस्थापनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

जनस्वास्थ्य अधिकृत करम चौधरीले यो अभियानलाई दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार सबै वडामा स्वास्थ्यकर्मी परिचालन भइसकेको छ र तथ्याङ्क सङ्कलनसँगै जनचेतना विस्तारको काम पनि तीव्र रूपमा अघि बढिरहेको छ। “घरदैलो अभियानले सेवा र सचेतनालाई एकैसाथ जोडेको छ, जसले समुदायमा सकारात्मक परिणाम दिन थालेको छ,” उहाँले भन्नुभयो।

यसैबीच, कटकुइया स्वास्थ्य चौकीका इन्चार्ज दिनेश मौर्यले नरैनापुर मधेशी र मुस्लिम बाहुल्य क्षेत्र भएकाले सामाजिक तथा सांस्कृतिक कारणले केही चुनौती देखिए पनि अभियानलाई निरन्तरता दिन सके उल्लेख्य सफलता हासिल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार स्थानीय समुदायको विश्वास जित्न समय लागे पनि क्रमशः सहभागिता बढ्दै गएको छ।

कटकुइया स्वास्थ्य चौकीमा कार्यरत अनमी सामना क्षेत्री गुरुङले नरैनापुर–१ गाउँपालिकाकै चुनौतीपूर्ण क्षेत्रमध्ये एक भएको बताउनुभयो। भारतीय सीमासँग जोडिएको र चेतनाको स्तर कम भएकाले यहाँ गर्भवती महिलाले आवश्यक ध्यान नदिने समस्या देखिएको उहाँको भनाइ छ। “धेरै महिलाले गर्भधारणपछि समयमै स्वास्थ्य जाँच नगर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो।

२४ घण्टा कटकुइया स्वास्थ्य चौकीमै बसेर निरन्तर सेवा दिँदै आउनु भएकी गुरुङ स्थानीयवासीबीच प्रिय स्वास्थ्यकर्मीका रूपमा परिचित हुनुहुन्छ। “पहिला महिलाहरू स्वास्थ्य चौकी आउन डराउँथे, अहिले बिस्तारै विश्वास बढ्दै गएको छ,” उहाँले भन्नुभयो। घरदैलो अभियानपछि गर्भवती र सुत्केरी महिलाले आफैँ फोन गरेर जाँचका लागि बोलाउन थालेको बताउँदै उहाँले यही परिवर्तनलाई अभियानको ठूलो सफलता मान्नुभयो।

वडा नं. १ का वडा अध्यक्ष इसाक जोलाहले सामुदायिक स्वास्थ्य तथा घरदैलो कार्यक्रमले दुर्गम र पछाडि पारिएका समुदायसम्म स्वास्थ्य सेवा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। “घरदैलोमार्फत स्वास्थ्यकर्मी आफैँ नागरिकको घरमा पुगेपछि सेवाप्रतिको विश्वास बढेको छ र स्वास्थ्य परीक्षणतर्फको पहुँच सहज बनेको छ,” उहाँले भन्नुभयो।

स्थानीयवासीहरू पनि स्वास्थ्यकर्मीको सक्रियता र निरन्तर उपस्थितिले आफूहरू सुरक्षित महसुस गर्न थालेको बताउँछन्। गाउँपालिकाले यो अभियानलाई अझ विस्तार गर्दै दीर्घकालीन स्वास्थ्य सुधारको आधार बनाउने तयारी गरेको छ। नागरिकको घरआँगनमै सेवा पुर्‍याउने यो प्रयास नरैनापुरको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनको संकेत बनेको छ।

घरदैलोमै स्वास्थ्य सेवा : नरैनापुरको सामुदायिक अभियानले बढायो नागरिकको भरोसा

युद्धले अपाङ्ग बनायो, सुई र धागोले जीवन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds