सिंजा क्षेत्र यातायात भाडा सुलभ गर्न: प्रशासनलाई ध्यानाकर्षण

गाेल्डेन बुढा
जुम्ला ,२४ मंसिर ।
जुम्लाकाे सिंजा गाउँपालिकामा सार्वजनिक यातायातको भाडा यात्रुहरूको महंगो मारमा परेका छन् । सिंजा–नराकोट–जुम्ला सडकखण्डमा बस र साना गाडीले तोकिएको भन्दा बढी भाडा लिने अभ्यास स्थानीयहरूले आरोप लगाएका छन्।सिंजा–४ की सर्केनी रोकायाका अनुसार, उनी जुम्ला सदरमुकाम खलंगा आउँदा बसमा ६ सय रुपैयाँ तिर्न बाध्य हुन्छिन्। उनले भनिन्, “हामीले सोध्दा पनि चालकले एक रुपैयाँ समेत घटाउने गरेका छैनन्।” त्यस्तै, सिंजा–३ की जयलक्ष्मी चौलागाईंले सानो गाडीमा ७ सय ५० रुपैयाँ तिर्नुपरेको बताइन्।स्थानीयहरूले भाडा अत्यधिक भएको कारण दैनिक यातायातमा असुविधा र आर्थिक भार बढेको बताएका छन्।
यसै विषयमा स्थानीय नागरिकहरूले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिपक पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।पत्रमा उल्लेख छ कि जुम्ला निर्वाचन क्षेत्र–ख अन्तर्गत सडक सञ्जालमा उल्लेखनीय सुधार भएको छ। कर्णाली राजमार्ग पक्की भइसकेको, नाग्म–गमगडी सडकको केही भाग पक्की, र ग्राभिलसम्म गाडी सहजै गुड्ने अवस्था भए पनि यातायात व्यवसायीहरूले मनमानी भाडा असुल्ने गरेको पाइएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “हामी बाध्यता वा आवश्यकताका कारण यात्रा गर्ने यात्रुहरू एकदमै मर्कामा परेका छौं। नेपाल सरकारको ऐन, नियम र कार्यविधि अनुसार जुम्लामा सार्वजनिक यातायातका साधनहरूको भाडा तत्काल लागू गरिनु पर्नेछ।”स्थानीय हर्षबहादुर शाहीले भने, “सडक अब बिस्तारै राम्रो हुँदैछ, ईभिगार्डी पनि आइसकेको छ। यस्ता सुधार भइरहेका बेला पनि भाडा चर्को हुनु स्वीकार्य छैन। नियमअनुसार भाडा कायम गर्नै पर्छ।” प्रयाग आचार्यले पनि सरकारको तोकिएको भाडा छिटो लागू गर्नुपर्नेमा जोड दिए।प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले यस विषयमा दुई वर्षअघि टिम गठन गरिएको जानकारी दिए।
उनले प्रतिवद्धता जनाउँदै भन्नुभयो, “टिमलाई बसाएर भाडा व्यवस्थापनबारे छलफल गर्नेछौं। आगामी आइतबार (२८ गते) यस विषयमा छलफल तय छ।”जुम्ला बजारबाट नाग्म हुदै सिंजा क्षेत्रको सार्वजनिक गाडिको भाडा नाग्म चारसय, सिंजाको नराकोट जान सातसय तथा गुठिज्यूला पुग्न आठ देखी एक हजार भाडा लिने गरिएको स्थानीय बताउछन्।तर, बीचबीचमा मनमानी बढेको भाडासँग सम्बन्धित जनगुनासो निरन्तर रहेको छ, ग्रामीण सडकको विकाससँगै यातायातको नियमन नहुँदा स्थानीय यात्रुहरू आर्थिक रूपमा बढी प्रभावित हुने खतरा हुन्छ। यसकारण यातायात व्यवस्थापन र भाडा नियमन तत्काल आवश्यक रहेको देखिन्छ।






