राजापुरमा गोली काण्ड– थारु रेष्टुरेन्टका कर्मचारी निरज चौधरीको हत्या, प्रहरीद्वारा विस्तृत अनुसन्धान जारी
बर्दिया ,२२ मंसिर ।
राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको गोली प्रहारबाट हत्या गरिएको छ। दाङको तुलसीपुर–५ घर भएका चौधरी अचेत अवस्थामा फेला परेपछि उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिनुभयो।
प्रहरीका अनुसार गोली चौधरीको गाला र दुबै कानमा लागेको थियो। घटनास्थलबाट गोलीका खोका फेला पारिएको र प्रारम्भिक अनुसन्धानका आधारमा गोली चलाउने व्यक्ति मोटरसाइकलमा फरार भएको पुष्टि भएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो।
घटना सम्बन्धी थप विवरणका लागि चौधरीको शव पोष्टमार्टम हेतु नेपालगन्जमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको प्रकृति, दूरी र प्रयोग भएको हतियारबारे स्पष्ट जानकारी प्राप्त हुने प्रहरीले जनाएको छ।
हाल जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय राजापुरले घटनास्थलसम्मको सबै सीसीटीभी फुटेज, सम्भावित उद्धृत स्थान र भेटिएका प्रमाणका आधारमा विस्तृत अनुसन्धान अघि बढाएको छ। कसले र किन हत्या गरेको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।





