झन्डै १४ वर्षपछि प्रहरीचौकाे आफ्नै भवन

गाेल्डेन बुढा
जुम्ला,१८ मंसिर ।
झण्डै १४ वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको कनकासुन्दरी गाउँपालिका-५ गोठिज्युला प्रहरीचौकी अब आफ्नै भवनमा सेवा प्रवाह गर्न थालेको छ। स्थानीयवासीले निशुल्क जग्गा उपलब्ध गराएपछि ४ करोड १० लाख रुपैयाँमा तीन तले, हिरासतसहितको सुविधा सम्पन्न भवन निर्माण भएको हो।भवन बुधबार डिआइजी माधवप्रसाद श्रेष्ठले उद्घाटन गरे। उनले प्रहरीलाई “निर्धक्क भएर जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्न” निर्देशन दिए। डिआइजी श्रेष्ठले नयाँ भवनले “समुदाय–प्रहरी सम्बन्धलाई नयाँ आयाम दिने” विश्वास व्यक्त गरे।नयाँ भवनमा कार्यकक्ष, गार्डरूम, सञ्चार कक्ष, महिला–पुरुष छुट्टाछुट्टै हिरासत, भान्सा, मनोरञ्जन कक्ष र स्वच्छता-अनुकूल शौचालय निर्माण गरिएको छ।
भूकम्पप्रतिरोधी संरचना, पर्याप्त हावापानी र सुरक्षा गोपनीयताको दृष्टिले निर्माण गरिएको भवन दीर्घकालीन प्रयोगको मापदण्डअनुसार बनाइएको निर्माण पक्षले जनाएको छ।जुम्लामा १३ वटा स्थायी प्रहरीचौकी छन्। तीमध्ये गोठिज्युला, रारालिही र कुडारी आफ्नै भवनमा सञ्चालन भइरहेका छन् भने बाँकी १० वटा भाडाको घरमा छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र रेग्मीका अनुसार अस्थायी प्रहरी पोष्ट ६ वटा छन् र जिल्लाभर २९ वटा प्रहरी युनिट सञ्चालनमा छन्।डिएसपी रेग्मीले भने, “पूर्वमा वर्षा-हावामा चुहिने छाना, चिसो कोठा र असुरक्षित अवस्थाबाट खटिनुपर्ने बाध्यता हटेको छ। अब समुदायलाई अझ नजिकबाट सेवा दिन सजिलो हुनेछ। गोठिज्युला प्रहरीचौकी सबैभन्दा सुविधा सम्पन्न र गुणस्तरीय भवन बनेको छ।”गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले भवन निर्माणलाई प्रहरी र स्थानीय तहबीचको सहकार्यको प्रत्यक्ष उदाहरणको रूपमा वर्णन गर्दै भन्नुभयो, “यो भवनले स्थानीय शान्ति-सुरक्षा कायम गर्न ठोस योगदान पुर्याउनेछ। आवश्यक सहयोगमा पालिका कहिल्यै पछि हट्दैन।”स्थानीयवासीहरूले नयाँ भवनलाई केवल संरचना नभई ‘राज्यको उपस्थितिको प्रतीक र नागरिक भरोसाको सशक्त आधार’को रूपमा मूल्याङ्कन गरेका छन्। उद्घाटन समारोहमा स्थानीयवासी, जनप्रतिनिधि, जग्गा दाताहरू, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र सामाजिक संस्थाका अगुवाहरू उपस्थित थिए।जुम्लाको कठोर भू-भाग, दुर्गम बस्ती र चुनौतीपूर्ण ढुवानीबीच समयमै सम्पन्न भवन निर्माणले प्रदेशको पूर्वाधार निर्माण क्षमतामा महत्वपूर्ण संकेत दिएको विश्लेषकहरूको धारणा छ।






