एमालेको ११ औँ महाधिवेशन ९ जिल्लामा सर्वसम्मत, रुकुमपश्चिममा निर्वाचनबाट प्रतिनिधि छनौट

दिनेश बुढा
सुर्खेत, १४ मंसिर ।
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौंटको काम देशभर जारी रहेको छ । कर्णाली प्रदेशका १० जिल्ला मध्ये ९ जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन हुँदा रुकुमपश्चिममा भने निर्वाचनबाट प्रतिनिधि चयन गरिएको छ । ४७ हजार बढी पार्टीका संगठित सदस्य रहेको कर्णाली प्रदेशमा ११३ जना नेताहरु प्रतिनिधि चयन भएको एमाले कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहले जनाकारी दिए ।
अध्यक्ष शाहले प्रदेशका १० जिल्ला मध्ये रुकुमपश्चिममा पार्टीको जिल्लाको आन्तरिक विवादका कारण निर्वाचन भएको बताए । उनले भने, ‘१० जिल्ला मध्ये ९ जिल्लामा महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएको छ । रुकुमपश्चिमा पार्टी केन्द्रका पक्षविपक्ष नभई आन्तरिक विवादका कारण निर्वाचन भएको हो । अन्य जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन गरिएका छन् ।’
अध्यक्ष शाहका अनुसार हुम्लामा ६ जना, मुगु ६ जना, जुम्ला ६, कालीकोट ८, डोल्पा ८ जना, दैलेख २० जना, सुर्खेत २१ जना, जाजरकोट १२ जना, रुकुमपश्चिम ६ जना र सल्यानबाट ८ जना प्रतिनिधि चयन भएका छन् । अन्य प्रदेश कमिटिबाट प्रतिनिधि चयन भएका छन् ।
अन्यमा सर्वसम्मत हुँदा, रुकुमपश्चिममा चुनाव
अन्य जिल्लामा सर्वसम्मत एमालेले महाधिवेशन प्रतिनिधि चयन गरेपनि रुकुमपश्चिममा निर्वाचन भएको छ । दुइ हजार ५४ जना पार्टीको संगठित सदस्य रहेको रुकुमपश्चिममा निर्वाचनबाट प्रतिनिधिको टुंगो लगाइएको छ ।
खुल्लामा एमाले जिल्ला कमिटी अध्यक्ष नन्दाराम देवकोटा, दिनेश चन्द, महिलामा हिमकुमारी केसी र कौशिला केसी, युवा (४० वर्षमूनी) प्रकाश खड्का र दलितमा शशिराम परियार निर्वाचित भएका छन् ।
त्यस्तै, महिलामा प्रतिनिधिका लागि चुनाव लडेकी कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्ल भने पराजित भएकी छन् । प्रतिनिधिमा निर्वाचित भएकी कौशिलाले २०४ र हिमकुमारीले २०३ मत ल्याउँदा मल्लले १११ मत मात्रै प्राप्त गरिन् ।
शनिबार भएको एमाले रुकुमपश्चिममा प्रतिनिधि छनौटको निर्वाचनलाई लिएर सांसद मल्लले असन्तुष्टि जनाएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकि छन्, ‘हाम्रो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट पार्टीको आन्तरिक निर्वाचनमा बाँफिकोट गाउँपालिका, मुसिकोट नगरपालिकार चौरजहारीका नगरपालिका केही कमरेडहरुले कसैले ५ पटक, कसैले ७ पटक, कसैले २/४ पटक मत उपस्थित नभएका ब्यक्तिहरुको मत हाल्नु भयो ।’
उनले यसरी मत हालेर जित्ने कुरा अगामी निर्वाचनमा पनि देखाउन चुनौती दिएकी छन् । उनले अगाडी लेखेकि छन्, ‘यो कला, सिप अव आउने २०८४ को स्थानीय वडा, पालिका, संघ र प्रदेशका आफ्ना नेकपा एमालेका उम्मेदवारलाई विजय बनाउन प्रयोग गर्नुहोला र प्रयोग गरेर विजय प्राप्त गर्नुहुनेछ भन्ने हिजोको तपाईहरुका कला देखेर म विश्वस्त छु।’
त्यस्तै, जाजरकोट जिल्लाबाट एमालले १२ जना प्रतिनिधिको टुंगो लगाएको छ । शनिबार जिल्ला कमिटि जाजरकोटले १२ प्रतिनिधिको नाम सर्वसम्मत रुपमा टुंगाएको हो । खुल्लामा लालबहादुर महतारा, करबिर शाही, नरेन्द्र शाही, नारायण घर्ती र प्रेमबहादुर सिंह छन् ।
महिला प्रतिनिधिमा तारा शाक्य, कुमारी थापा र सुनिता बोहरा, दलिततर्फ गोपाल नेपाली, नवेन्द्र नेपाली, कौशिला कामी र युवातर्फ विश्वबिक्रम शाह सर्वसम्मत चयन भएका छन् । एमाले जाजरकोटका अनुसार छनौट भएका सबै प्रतिनिधिहरु संथापनपक्ष ओली समूहका हुन् ।
त्यस्तै, नेकपा एमाले कालीकोट जिल्ला कमिटिले ८ जना नेताको नाम प्रतिनिधिका लागि सर्वसम्मत रुपमा चयन गरेको छ । खुल्लामा तुलाराज मल्ल, कुर्मराज शाही, दयाराम सिम्खाडा र तपेन्द्र शाही, महिलामा सुभद्रा सिंह, जलशा बुढा र दलितमा ब्यासी तिरुवा र युवातर्फ टेक बोगटी (प्रबिन) सर्वसम्मत चयन भएका छन् ।
एमाले जिल्ला कमिटि अध्यक्ष समेत रहेका प्रतिनिधि तुलाराज मल्ल एमाले अध्यक्ष ओली निकट हुन् । उनीसँगै कुर्मराज शाही, दरायाम सिम्खाडा, जलशा बुढा लगायतका नेताहरु ओलीको पक्षमा छन् भने अन्य प्रतिनिधिहरु खुलेका छैनन् ।
त्यस्तै, एमाले जुम्लाले ६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको छ । खुल्लामा जिल्ला अध्यक्षसमेत रहेका शान्तिलाल महत, देविलाल थापा, महिलातर्फ मेनका पछाईं, शान्ता शाही, दलिततर्फ रामबहादुर नेपाली र युवातर्फ धिरज जैशी सर्वसम्मत रुपमा चयन भएका छन् ।
सल्यान जिल्लाबाट ८ जना नेताको नाम प्रतिनिधिका लागि चयन भएको छ । खुल्लातर्फ चार जना प्रतिनिधि चयन भएका छन्। जसमा भीमबहादुर सेन, ओजबहादुर बुढाथोकी, लालबहादुर रावत र घनश्याम शर्मा सर्वसम्मत चयन भएका छन् । महिलामा पुष्पाकुमारी बुढाथोकी र सनसिल्ला वली (डिसी), युवातर्फ गणेशमान सिंह र दलिततर्फ भिउसेन नेपालीको नाम प्रतिनिधिका लागि सर्वसम्मत चयन भएको छ ।
त्यस्तै, नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधीको लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट ९ जना प्रतिनिधि चयन भएका छन् । खुल्लामा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहनसिंह वाढुवाल, सचिव डम्मर तिवारी, जिल्ला कमिटी सचिवालय सदस्य पूर्णप्रसाद पौडेल र भीमबहादुर रावत छन् । महिलातर्फ टिकाकुमारी अधिकारी, टिकाकुमारी घले गुरुङ र निर्मला राना मगर र युवातर्फ प्रेम खड्का प्रतिनिधि चयन भएका छन् ।
एमाले सुर्खेतका अनुसार सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि छनौंटको लागि छलफल जारी रहेको छ । एमाले उपाध्यक्ष मोहनसिंह बडुवालका अनुसार आइतबार बिहान ८ बजे प्रतिनिधि छनौंटका लागि बैठक बस्ने समय तय भएको जानकारी दिए ।
डोल्पा अध्यक्ष रोकाया युवाबाट प्रतिनिधि
त्यस्तै, शनिबार एमाले डोल्पा जिल्ला पार्टी कार्यालयमा विभिन्न पालिकाबाट सिफारिस भएर आएका केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु सबै संस्थापन पक्षका रहेका छन् ।
एमाले जिल्ला पार्टी अध्यक्ष लंकबहादुर रोकाया महाधिवेशन प्रतिनिधि चयन भएका छन् । उनी युवा (४० वर्षमुनि) कोटाबाट चयन भएका हुन् । डोल्पाबाट कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री शेरबहादुर बुढा, गोपाल बि.क, चन्द्राकुमारी बुढा, बिश्वचन्द्र डसाल, धावासम्दुक गुरुङ, जिल्ला पार्टी उपसचिव जुनी बुढा र नन्दसिंह बुढा सर्वसम्मत चयन भएका छन् ।
जिल्ला अध्यक्ष लंकबहादुर रोकायाले प्रतिनिधि छनौंटमा कुनै विवाद नभएर सर्वसम्मत रुपमा चयन भएको जानकारी दिए । उनले छनौट भएका प्रतिनिधिहरु सबै संस्थापन पक्षका रहेका दाबी गरे ।
महाधिवेशनको लोगो सार्वजनिक
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइतबार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमम अध्यक्ष केपी शर्मा ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।
पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।
महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरिएको छ । साथै महाधिवेशनका लागि एमालेले प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुर्याएको छ ।
सचिवमा कर्णालीबाट बोगटी आकांक्षी
एमालेको ११औँ महाधिवेशनमा कर्णाली प्रदेशबाट हुम्लाबा गोरखबहादुर बोगटीले सचिव पदमा आकांक्षा देखाएका छन् । नेता बोगटी लामो समयदेखि पार्टीको केन्द्रीय कमिटि देखि पोलिटब्यूरो सदस्य हुँदै हाल स्थायी कमिटि सदस्यको जिम्मेवारीमा छन् ।
कर्णाली प्रदेशबाट प्रतिनिधि चुनिएका अधिकांश नेताहरु संस्थापन पक्ष अर्थात् एमाले अध्यक्ष केपी शर्मा ओली समूहका छन् । हालसम्म कुनै पनि प्रतिनिधि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग खुलेका छैनन् । नेकपा एमाले कर्णाली प्रदेश कमिटि इन्चार्ज समेत रहेका स्थायी कमिटि सदस्य बोगटी ओलीका विश्वास पात्र हुन् ।
कर्णाली प्रदेशबाट छनांैट भएका सबै प्रतिनिधिहरु ओली समूहका भएका कारण बोगटीलाई चुनावमा सहज हुने एमालेका एक नेताले बताए । साथै बोगटीले नेता–कार्यकर्तामार्फत पदाधिकारीमा चुनाव लड्ने कुरा सांकेतिक रुपमा दिइसकेका छन् ।
त्यस्तै, कर्णाली प्रदेशबाट स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री सुर्खेतका यामलाल कँडेल पनि पदाधिकारी पदका दाबेदार छन् । चितवनमा भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सचिवमा दाबेदार रहेका कँडेललाई सर्वसम्मत पदाधिकारी चयन गर्दा स्थायी कमिटि सदस्यको जिम्मेवारी दिइएकको थियो ।
पदाधिकारीका दाबेदार भएपनि कँडेलले आफु कुन पदमा दाबी हो भन्ने कुरा कतै पनि खुलाएका छैनन् । तर, नेकपा एमाले सुर्खेतका उपाध्यक्ष मोहनसिंह बडुवालले नेता कँडेलको नेतृत्वमा कर्णाली पदाधिकारी पाउनुपर्ने माग प्रतिनिधिहरुको भएको बताए । उनले भने, ‘कर्णालीमा कुनै गुट छैन् । एउटै छ । त्यो केन्द्रमा केपी ओली र कर्णालीमा यामलालको नेतृत्व ।’





