गुठिचौर गाउँपालिकाको राजस्व संकलनमा उल्लेखनीय वृद्धि, गत वर्ष ३३ लाख संकलन

काली बहादुर परियार
जुम्ला,१९ कार्तिक।
जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। गाउँपालिकाले विभिन्न शीर्षकबाट गरी कुल ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको गाउँपालिकाको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले आफ्ना पाँच वटै वडाबाट स्थानीय राजस्व संकलन गर्दै आएको छ । गत आर्थिक वर्षमा वडागत रूपमा हेर्दा वडा – १ बाट ८२ हजार, वडा – २ बाट १ लाख, वडा नं ३ बाट १ लाख ५३ हजार, वडा नं ४ बाट २ लाख ६८ हजार र वडा नं ५ बाट २ लाख ५८ हजार ५ सय ३१ रुपैयाँ राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत मायाँ लक्ष्मी बुढाले जानकारी दिइन् ।
वडास्तरमै राजस्व संकलनमा सक्रियता देखिनु गाउँपालिकाको वित्तीय व्यवस्थापनमा सुधारको संकेतका रूपमा लिइएको छ।
त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट ३ लाख १३ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ। पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट मात्रै ८ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जसले स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा थपेको बताइन् ।
यसबाहेक, डोजर सञ्चालनबाट ५ लाख ५९ हजार रुपैयाँ, एम्बुलेन्स सेवाबाट ८१ हजार रुपैयाँ, र पशु शाखाबाट ७ लाख ८४ हजार रुपैयाँ राजस्व उठाइएको छ। यी सबै स्रोतहरू मिलाएर गाउँपालिकाले गत वर्ष ३३ लाख रुपैयाँ राजस्व संकलन गर्न सफल भएको बुढाकाे भनाइ छ ।
राजस्व संकलनका सन्दर्भमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुढाका अनुसार, राजस्व बढाउन वडास्तरमा निगरानी, सेवा शुल्कको नियमितता र नयाँ आम्दानीका स्रोतहरू पहिचानमा जोड दिइएको छ । स्थानीय सेवा सहज बनाउँदै राजस्वका नवीन क्षेत्रहरू विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताइन् ।
उक्त प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षको कात्तिक १४ गतेसम्म मात्रै गाउँपालिकाले ९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा उल्लेखनीय वृद्धि हो ।
स्थानीय स्रोतबाट राजस्व संकलनमा आएको वृद्धि गाउँपालिकाको आर्थिक स्वावलम्बनतर्फको ठूलो कदमका रूपमा हेरिएको छ। गुठिचौरले आन्तरिक स्रोत सशक्त बनाउँदै स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा लगानी गर्ने तयारी गरेको जनाएको छ।
राजस्व वृद्धिसँगै गाउँपालिकाले आगामी वर्षहरूमा पर्यटन, उद्योग र सेवा क्षेत्रबाट अझ बढी आम्दानी बढाउने योजना अघि सारेको छ। गाउँपालिकाको यो उपलब्धि स्थानीय तहमा पारदर्शिता र आर्थिक अनुशासनको उदाहरणका रूपमा स्थापित हुँदै गएको अध्यक्ष दान बहादुर बुढाकाे भनाइ छ ।






