जुम्लाको गिरीखोला जाल्पादेवी सहकारी ‘सुप्रविध ऊर्जा पुरस्कार’बाट सम्मानित

गोल्डेन बुढा
जुम्ला,१९ कार्तिक ।
जुम्लाको तातोपानी गाउँपालिका–४ मा अवस्थित गिरीखोला जाल्पादेवी ग्रामीण विद्युत सहकारी संस्था लिमिटेड ले यस वर्षको प्रतिष्ठित ‘सुप्रविध स्मृति नविकरणीय ऊर्जा पुरस्कार–२०८२’ प्राप्त गरेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, काठमाडौंले ग्रामीण क्षेत्रमा नवीकरणीय ऊर्जाको विस्तार र समुदाय–आधारित विद्युत व्यवस्थापनमा संस्थाको उत्कृष्ट योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरेको हो।
राजधानी काठमाडौंमा आयोजित भव्य समारोहमा जलस्रोत, ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले पछ्यौरो अविरका साथ सम्मान ग्रहण गर्दै यो पुरस्कारले ग्रामीण विकासका प्रयासमा थप प्रेरणा दिएको प्रतिक्रिया व्यक्त गर्नुभयो।पुरस्कारले जाल्पादेवी सहकारीलाई अझ सुदृढ र विस्तारमुखी बन्न प्रेरित गरेको अध्यक्ष पाण्डे बताउनुहुन्छ,“यो पुरस्कार हाम्रो यात्राको अन्त्य होइन, नयाँ सुरुवात हो।पुरस्कारअन्तर्गत मञ्जुका स्मृति अक्षय कोषबाट नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ।

सहकारीले स्थापना कालदेखि नै दुर्गम बस्तीहरूमा उज्यालो पुर्याउने लक्ष्यसहित काम गर्दै आएको छ। हाल तातोपानी गाउँपालिकाकाभित्र १ हजार ८ सयभन्दा बढी घरधुरी यस संस्थाबाट नियमित रूपमा लाभान्वित भइरहेका छन्।करिब २ सय किलोवाट क्षमताको जलविद्युत आयोजनाबाट सञ्चालित यो सहकारीले विद्युत आपूर्तिमार्फत न केवल उज्यालो, बरु शिक्षा, स्वास्थ्य, साना उद्योग र सञ्चारका क्षेत्रमा पनि नयाँ सम्भावनाहरू सिर्जना गरेको छ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार, जाल्पादेवी सहकारीले समुदाय–केन्द्रित ऊर्जा व्यवस्थापनको आदर्श नमूना प्रस्तुत गरेको छ। दुर्गम जुम्लाको भूगोलमा स्थानीय स्रोत र सहभागितामार्फत आत्मनिर्भर ऊर्जाको सम्भावना साकार पार्न सफल यस सहकारीलाई देशभरका अन्य ग्रामीण क्षेत्रका लागि प्रेरणाको स्रोतका रूपमा लिइएको छ।ऊर्जा मन्त्री घिसिङले कार्यक्रममा भन्नुभयो,“जाल्पादेवीको प्रयासले देखाएको छ — यदि इच्छाशक्ति र सामुदायिक एकता छ भने दुर्गम गाउँमा पनि समृद्धिको उज्यालो बाल्न सकिन्छ।”यस सफलतासँगै गिरीखोला जाल्पादेवी ग्रामीण विद्युत सहकारीले जुम्लालाई नवीकरणीय ऊर्जा प्रवर्द्धनको नक्सामा विशेष पहिचान दिलाएको छ।





