धान मात्रै होइन् आशा पनि भिज्याे: जुम्लाका किसान

गोल्डेन बुढा

जुम्ला,१४ कार्तिक ।

गत सोमबारदेखि नरोकेर परिरहेको वर्षाले जुम्लाका किसानको महिनौंको मेहनत पानीमा बगाएको छ। काटेर सुकाउने तयारीमा रहेका धान खेतमै भिजेपछि किसान अहिले चिन्तित छन्। निरन्तर वर्षाका कारण खेत पोखरीजस्ता बनेका छन् र धानका बालाहरू पौडी खेलेजस्ता देखिन्छन्।

जुम्लाको चन्दननाथ–८ तलिउम गाउँकी किसान मनु परियारको स्वरमा पीडा छ।“छ महिनाको पसिना एकछिनमै बगायो। एघार घरपरिवार छौं, ६ भारी सबै धान सखाप भयो। अब कसरी पाल्ने?”मनुजस्तै स्थिति कोटिला गाउँकी सत्यदेवी बोहोराको पनि छ।“काटेको धान खेतमै भिजिरहेको छ। न दाना खान मिल्ने देखिन्छ, न पराल काम लाग्ने।”वर्षाले लगानी र मिहिनेत दुवै खेर गएपछि किसानहरू निराश छन्।

भिजेको धान सुकाउन हम्मे परेको छ। कतिले पालले छोपेर राखेका छन्, कतिले डाँठसहित घरमा ल्याएका छन्,।कतिले खेतमै थुपारेका छन्।तर निरन्तर वर्षाले धान अझ भिज्दै गएको छ।“१२ भारी धान डुब्यो, परिवार पाल्नै गाह्रो भयो” नगरपालिका -८ स्यालबाडा गाउँकी कुईरी रोकायाले बताइन्,।“मेरो १२ भारी धान खेतमै डुब्यो। नौ जनाको परिवार पाल्न गाह्रो भएको छ।

अहिले भिजेको धान ओबानो ठाउँमा लगेर सुकाउने प्रयास गर्दैछौं, तर बीउका रूपमा प्रयोग गर्न मिल्ला कि मिल्दैन भन्ने डर छ।”त्यस्तै, हरिकला बोहोराका १३ भारी र ध्वनी रोकायाका १५ भारी धान पनि काम नलाग्ने अवस्थामा पुगेका छन्।

कृषकहरूको भनाइमा भिजेको धान सुख्खा ठाउँमा लगे पनि दाना झर्ने, कुहिने र कनिका बढ्ने समस्या देखिन थालेको छ।यता कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार,“जुम्लामा करिब २ हजार ८ सय ९० हेक्टरमा धान रोपिएको थियो। त्यस मध्ये करिब २० प्रतिशत धान अहिले वर्षाको पानीले भिजेको छ।”उनका अनुसार जुम्लाको तातोपानी, हिमा गाउँपालिका, र चन्दननाथ नगरपालिकाका केही वडाका किसानले अझै धान भित्र्याउन सकेका छैनन्।

चन्दननाथको गैरागाउँ, पिपलगाउँ र जातिभिड, तातोपानीको राँका, बाइराँका, लाछु जिउला, डाँगीबाडा, र हिमा गाउँपालिकाको दयारगाउँ तथा मोफ्लाका किसान अझै खेतमै धान सुकाउने प्रयासमा छन्।कृषि कार्यालयका अनुसार ,“यदि दुई चार दिनभित्र राम्रोसँग वर्षा राकिएन्,भने धानका बाला कुहिने, दाना उम्रिने र चामलमा कनिका बढ्ने सम्भावना छ।

”जुम्लाका किसानको मुख्य अन्नबाली धान हो। यहाँ कालीमार्सी, लेकाली–१, लेकाली–३, चन्दननाथ–१ र चन्दननाथ–३ जातका धान रोपिँदै आएको छ। यसपालिको वर्षाले यी जातका धानमा समेत ठूलो क्षति पुर्‍याएको छ।किसानहरू भन्छन्“धान त भिज्यो, तर त्यससँगै हाम्रो वर्षभरिको आशा पनि भिज्यो।”

धान मात्रै होइन् आशा पनि भिज्याे: जुम्लाका किसान

घुयँत्राे:७१ दिनको “मौन प्रहरी युग” : खापुङको

Leave a comment

Your email address will not be published. Required fields are marked *