राष्ट्र बैंकको तथ्यांकमा अर्थतन्त्र ६.३४ प्रतिशत पुग्यो बजार महँगी

ओम शाही
सुर्खेत, १कार्तिक ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ । बजारमा खाद्यवस्तुको मूल्य तीव्र रूपमा बढ्दा सर्वसाधारणको भान्सा महँगिएको छ भने अर्कोतर्फ रेमिट्यान्स आप्रवाह, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा सुधार देखिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन र भदौ महिनाको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले अर्थतन्त्रमा महँगीको दबाबसँगै बाह्य क्षेत्रका केही सूचकमा सुधार देखाएको हो ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मुद्रास्फीति अर्थात् बजार महँगी बढीमा ५.५ प्रतिशतको हाराहारीमा राख्ने अनुमान गरेको थियो । तर, आर्थिक वर्षको सुरुवातमै बाजर महँगी ६.३४ प्रतिशत पुगेको छ । यो केन्द्रीय बैंकको अनुमानित सीमाभन्दा माथि हो । खाद्य तथा पेयपदार्थको मूल्य १६.६८ प्रतिशतले बढेको छ ।
फलफूलको मूल्य १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको मूल्य ६.७१ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वको समयमा बढेको महँगीले उपभोक्ताको खर्च बढाएको छ ।
बाढीपहिरोका कारण आपूर्ति व्यवस्थामा परेको अवरोध, अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तन, शक्ति राष्ट्रबीचको बढ्दो तनाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई महँगी बढ्नुका सम्भावित कारणका रूपमा लिन सकिन्छ । महँगीको चापले उपभोग, उत्पादन, बजारीकरण र बैंक तथा वित्तीय संस्थाको लगानीमा समेत असर पार्न सक्छ ।
रेमिट्यान्समा २३.९ प्रतिशतको वृद्धि
महँगी बढिरहँदा अर्थतन्त्रलाई राहत दिने पक्षका रूपमा रेमिट्यान्स आप्रवाह देखिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा चार खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशतले बढी हो ।
भदौ महिनामा मात्रै दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या घटे पनि रेमिट्यान्स बढेको छ । अघिल्लो आर्थिक वर्षको साउन र भदौमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या एक लाख ३६ हजार थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या घटेर एक लाख ३० हजार चार सय ८३ मा झरेको छ । श्रमिकको संख्या घट्दा पनि रेमिट्यान्स बढ्नुले विदेशबाट नेपाल भित्रिने रकमको प्रवाह बढेको देखाउँछ ।
निर्यात बढे पनि घटेन व्यापार घाटा
वैदेशिक व्यापारमा निर्यात र आयात दुवै बढेका छन् । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । तर, आयात पनि ३१.६ प्रतिशतले बढेर चार खर्ब एक अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । निर्यातको वृद्धिदर आयातको भन्दा बढी भए पनि कुल रकमका आधारमा आयात धेरै भएकाले व्यापार घाटा उच्च छ ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालले तीन खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोरेको छ । समीक्षा अवधिमा सेवा आयतर्फको खुद घाटा २२ अर्ब चार करोड रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षको भदौ मसान्तसम्म यस्तो घाटा ३० अर्ब ८८ करोड रुपैयाँ थियो । यसरी सेवा आय घाटा झन्डै २९ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भ्रमण आय २८.६ प्रतिशतले बढेर १४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ११ अर्ब ६२ करोड रुपैयाँ थियो । यसैगरी भ्रमण व्यय पनि घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा भ्रमण व्यय ४७ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो खर्च ४१ अर्ब १० करोड रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ ।
शैक्षिक प्रयोजनका लागि विदेशिने रकममा पनि कमी आएको छ । अघिल्लो वर्षको साउन र भदौमा शैक्षिक खर्चका रूपमा ३२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च घटेर २९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । भ्रमण आय बढ्नु र भ्रमण तथा शैक्षिक खर्च घट्नुले सेवा आय घाटा कम गर्न सहयोग गरेको छ ।
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब
रेमिट्यान्स आप्रवाहमा वृद्धि र सेवा आय घाटामा सुधारसँगै विदेशी मुद्रा सञ्चिति पनि बढेको छ । भदौ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
विदेशी मुद्रा सञ्चिति बढ्नुले अन्तर्राष्ट्रिय बजारबाट वस्तु तथा सेवा खरिद गर्न र बाह्य भुक्तानी गर्न सहज बनाउँछ । तर, पर्याप्त सञ्चिति हुनु मात्रै उपलब्धि होइन, त्यसबाट अर्थतन्त्रले लाभ लिन सक्ने गरी उत्पादन, लगानी र आर्थिक गतिविधि विस्तार गर्नु पनि महत्वपूर्ण हुन्छ ।
हालको आयातलाई आधार मान्दा विदेशी मुद्रा सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने गरी विदेशी मुद्रा सञ्चिति व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । अहिलेको सञ्चिति उक्त लक्ष्यभन्दा निकै माथी छ ।
अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था देखाउने प्रमुख सूचक शोधनान्तर स्थिति पनि बचतमा रहेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा शोधनान्तर स्थिति एक खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत एक खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँ थियो ।
त्यस्तै, चालु खाता पनि एक खर्ब ६९ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत एक खर्ब ३० अर्ब ९७ करोड रुपैयाँ थियो । यस वर्ष चालु खाता बचतमा वृद्धि भएको छ । रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्रका अन्य सूचकमा देखिएको सुधारले अर्थतन्त्रको बाह्य सन्तुलनलाई बलियो बनाएको छ । तर, उच्च मुद्रास्फीति र बढ्दो व्यापार घाटाले आन्तरिक अर्थतन्त्रमा चुनौती कायमै रहेको देखाउँछ । त्यसैले बाह्य क्षेत्रको सुधारसँगै बजार महँगी नियन्त्रण, स्वदेशी उत्पादन विस्तार र आयातमा निर्भरता घटाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।






