उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक

यमन, ३० असोज (रासस/एपी) । 

इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले चिनियाँ उपकरण तथा पार्टपुर्जाको सहयोगमा नयाँ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको एक प्रतिवेदनले जनाएको छ । द्वन्द्वग्रस्त क्षेत्रमा हतियारको आपूर्ति तथा प्रयोगको अध्ययन गर्ने बेलायतस्थित संस्था कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो । प्रतिवेदनअनुसार नयाँ क्षेप्यास्त्र प्रणाली विकास भएमा हुथी विद्रोहीको सैन्य क्षमता विस्तार हुन सक्ने र साउदी अरब तथा इजरायलका लक्ष्यमा थप सटीक प्रहार गर्ने क्षमता बढ्न सक्ने सम्भावना छ ।

संस्थाका वरिष्ठ विश्लेषक फाबियन हिन्जका अनुसार हुथी विद्रोहीहरूको स्वदेशमै हतियार उत्पादन गर्ने महत्त्वाकाङ्क्‌षा यसअघि अनुमान गरिएभन्दा बढी देखिएको छ । उहाँका अनुसार प्राप्त गर्न खोजिएका केही पार्टपुर्जा विशेष प्रकृतिका भएकाले तिनको उत्पादनका लागि क्षेप्यास्त्रको डिजाइनसम्बन्धी प्राविधिक जानकारी आवश्यक पर्न सक्छ ।

प्रतिवेदनमा हुथी विद्रोहीहरूले इरानको ‘खैबर शेकान’ क्षेप्यास्त्रको संस्करण निर्माण गर्न उपयोगी हुने सामग्री चिनियाँ आपूर्तिकर्ताबाट प्राप्त गर्ने प्रयास गरेको उल्लेख छ । उक्त क्षेप्यास्त्रको मारक दूरी करिब दुई हजार किलोमिटर रहेको बताइएको छ ।

यस विषयमा वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ चाङले प्रतिवेदनका विशिष्ट निष्कर्षबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि चीनले अन्तर्राष्ट्रिय दायित्व पूरा गरिरहेको बताउनुभयो । उहाँका अनुसार चीनले सैन्य सामग्रीको निर्यातमा सावधानी अपनाउँदै दोहोरो प्रयोजनमा प्रयोग हुन सक्ने वस्तुको निर्यातलाई कडाइका साथ नियन्त्रण गर्छ ।

प्रतिवेदन यमनका सरकारी अधिकारीहरूले जुलाईमा सार्वजनिक गरेको विवरणमा आधारित छ । त्यसबेला चीनबाट पठाइएका र यमनको होदेदाह बन्दरगाहमा पुर्‍याउन लागिएका शङ्कास्पद उपकरणसहितका दुई खेप नियन्त्रणमा लिइएका थिए । बरामद सामग्रीमा क्षेप्यास्त्रसँग सम्बन्धित विभिन्न पार्टपुर्जा समावेश थिए ।

त्यसैबीच, साउदी अरब र यमनको सरकारले हुथी विद्रोहीको प्रभाव घटाउने उद्देश्यले बाब अल–मन्देब जलडमरूमध्य क्षेत्रमा सैन्य अभियान सञ्चालन गरेका छन् । उक्त जलमार्ग अन्तर्राष्ट्रिय व्यापार तथा तेल ढुवानीका लागि महत्त्वपूर्ण मानिन्छ । चीनले यसअघि साउदी अरब र इरानबीच सम्बन्ध सुधार गर्न कूटनीतिक भूमिका निर्वाह गरेको थियो । पछिल्लो प्रतिवेदनले मध्यपूर्वमा हतियारको आपूर्ति, क्षेत्रीय सुरक्षा र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धबारे थप चासो उत्पन्न गरेको छ ।

इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका

अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ । सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो ।

अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु भएमा उक्त बम प्रयोग गर्ने विकल्पमाथि विचार भइरहेको छ । इरानसँगको जारी द्वन्द्वमा पहिलो पटक एमओएबी प्रयोग गरिएमा त्यसले युद्धलाई थप चर्काउन सक्ने सीएनएनले जनाएको छ । 

यद्यपि, उक्त बमको प्रयोगले अमेरिकाका घोषित रणनीतिक उद्देश्य पूरा गर्न वा युद्धको शक्ति सन्तुलन बदल्न कत्तिको प्रभाव पार्छ भन्नेमा अमेरिकी सैन्य योजनाबारे जानकार अधिकारीहरूले शंका व्यक्त गरेका छन् । वासिङ्टन र तेहरानबीच द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि तनाव कायमै छ । राष्ट्रपति ट्रम्पले अक्टोबर ८ मा इरानी अधिकारीहरूसँग वार्ता जारी रहेकाले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि नयाँ आक्रमण नगर्ने बताएका थिए । तर, निर्वाचनपछि सैन्य कारबाही हुन सक्ने सम्भावनालाई उहाँले खुला राख्नुभएको थियो ।

इरानसँगको द्वन्द्वले क्षेत्रीय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ । विशेषगरी स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर चासो बढेको छ । युद्धअघि विश्वको ठूलो परिमाणमा तेल ढुवानी हुने यो सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ । करिब ९ हजार ५२५ किलोग्राम तौल भएको एमओएबी अमेरिकी सेनाको भण्डारमा रहेको सबैभन्दा ठूलो गैरआणविक बम हो । यसलाई ठूलो क्षेत्रफलमा रहेका लक्ष्यहरू ध्वस्त पार्न डिजाइन गरिएको हो ।

उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक

सम्पादकीय :  महँगीको मारमा उपभोक्ता

उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!