भाइको स्मृति दिवसमा गाउँपालिका अध्यक्ष शाहीले गरे ‘आधा अध्याय’ सार्वजनिक

गाेल्डेन बुढा,

जुम्ला,३० असोज।
जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको आत्मकथात्मक पुस्तक ‘आधा अध्याय’ बुधबार सार्वजनिक भएको छ। नेपाली कांग्रेसका उपसभापति मधु आचार्य र महामन्त्री उदयशमशेर राणाले लेखक तथा समीक्षकहरूसँग संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।कर्णालीको सामाजिक यथार्थ, राजनीतिक संघर्ष र स्थानीय सरकार सञ्चालनका अनुभव समेटिएको पुस्तकमा शाहीले बाल्यकालदेखि राजनीतिक नेतृत्वसम्मको यात्रा प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवनमा प्रवेश, तरुण दलको नेतृत्व, संगठन निर्माण, चुनावी प्रतिस्पर्धा र जनप्रतिनिधिका रूपमा काम गर्दाका अनुभव पुस्तकका मुख्य विषय हुन्।पुस्तकमा कर्णालीको गरिबी, भौगोलिक विकटता र आधारभूत सेवामा नागरिकको पहुँचका समस्या पनि समेटिएका छन्। खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा स्थानीय सरकारले सामना गर्ने चुनौती तथा विकासप्रतिको नागरिक अपेक्षालाई शाहीले आफ्ना अनुभवमार्फत प्रस्तुत गरेका छन्।पुस्तक विमोचन गर्दै कांग्रेस उपसभापति आचार्यले कर्णालीको सभ्यता, संस्कृति र नागरिकका समस्यालाई राष्ट्रिय राजनीतिको बहसमा जोड्न पुस्तक उपयोगी हुने बताए। विकासलाई भाषण र सिद्धान्तमा सीमित नगरी नागरिकको दैनिक जीवनमा आएको परिवर्तनका आधारमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो।‘खानेपानी, विद्यालयको पहुँच र बिरामी पर्दा सडकसम्म पुग्ने सहजता नै जनमुखी विकासका आधार हुन्,’ आचार्यले भने। काठमाडौंकेन्द्रित दृष्टिकोणबाट मात्रै नेपालको वास्तविक भूगोल र नागरिकको जीवन बुझ्न नसकिने उनले बताए।कांग्रेस महामन्त्री राणाले शाहीसँग तरुण दलको नेतृत्व चयनका क्रममा जुम्लामा भएको पहिलो भेट स्मरण गर्दै स्थानीय तहमा रहेर संगठन र समाजका लागि काम गर्ने नेतृत्वका अनुभव राष्ट्रिय नीति निर्माणमा समेटिनुपर्ने बताए।कवि तथा लेखक महेन्द्र अतलले ‘आधा अध्याय’ आत्मप्रशंसामा केन्द्रित आत्मकथाभन्दा फरक रहेको टिप्पणी गरे। पुस्तकमा उपलब्धिसँगै संघर्ष, कठिनाइ र राजनीतिक पराजयबाट प्राप्त सिकाइसमेत समेटिएको उनले बताए।लेखक तथा समीक्षक मनऋषि धितालले शाहीको नेतृत्व विद्यार्थी जीवन, राजनीतिक आन्दोलन, संगठन निर्माण र स्थानीय समाजसँगको सम्बन्धबाट निर्माण भएको बताए।

कर्णालीका अनुभव र विचारलाई राष्ट्रिय बहसमा स्थापित गर्न यस्ता कृतिले योगदान पुर्‍याउने उनको भनाइ थियो।शाहीले पुस्तकमा आफ्ना उपलब्धिको विवरणभन्दा कर्णालीका नागरिकले भोगिरहेका समस्या र राज्यका अवसरबाट वञ्चित समुदायका अनुभवलाई नीति निर्मातासम्म पुर्‍याउने प्रयास गरेको बताए।दसैं मनाउन घर फर्कने क्रममा बाटोमै ज्यान गुमाएका आफ्ना कान्छा भाइ तथा नेपाली सेनाका जवान स्वर्गीय सुरेन्द्र शाहीको स्मृति दिवस पारेर पुस्तक सार्वजनिक गरिएको उनले जानकारी दिए। उनले पुस्तकलाई व्यक्तिगत क्षति, पारिवारिक पीडा र सामाजिक जिम्मेवारीसँग जोडिएको दस्तावेजका रूपमा व्याख्या गरेका छन्।

भाइको स्मृति दिवसमा गाउँपालिका अध्यक्ष शाहीले गरे ‘आधा अध्याय’ सार्वजनिक

विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!