कर्णालीका मन्त्रीको सम्पत्ति : कोही करोडपति, कोही ऋणमा

पंखबहादुर शाही/रातोपाटी
सुर्खेत, २९ असोज ।
कर्णाली प्रदेशका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री मंगलबहादुर शाहीको सम्पत्ति यसअघि नै सार्वजनिक भए पनि मन्त्रीहरूको भने सार्वजनिक भएको थिएन । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत ६ वटै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । जसमा सबैभन्दा धनी आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र सामाजिक विकासमन्त्री जितबहादुर मल्ल देखिएका छन् ।
सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग करोडौँको भौतिक सम्पत्ति र जग्गाजमिन रहेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१ घर भएका मल्लसँग लाखौँ मूल्यका ४ वटा घर छन् । बाँकेको कोहलपुर नगरपालिका–७ मा ३७४.२५ वर्ग मिटर क्षेत्रफलमा बनेको घर छ, जुन पेसा–व्यवसायबाट आर्जन गरेको ३० लाख रुपैयाँमा खरिद गरेको उनले बताएका छन् ।
त्यस्तै, पेसा–व्यवसायबाटै जोडेको उनकी श्रीमती राधिका मल्लको नाममा मुगुको छायाँनाथ रारा–२ मा ५० लाख मूल्य बराबरको अर्को घर छ । राधिकाकै नाममा मुगुको छायाँनाथ रारा–१ मा क्रमशः ५ लाख र १५ लाख रुपैयाँ खरिद मूल्यका अन्य दुई घर पनि छन्, जसको खरिद स्रोत ‘नोकरी’ उल्लेख गरिएको छ ।
त्यसैगरी, श्रीमती राधिकाकै नाममा छायाँनाथ राराका विभिन्न वडामा गरी १० ठाउँमा लाखौँ मूल्यका जग्गाजमिन छन्। ती जग्गाको खरिद मूल्य ९७ लाख रुपैयाँ बराबर रहेको छ । जग्गा खरिदको स्रोतमध्य ४ वटा ठाउँको जग्गा ऋण र बाँकी नोकरी तथा व्यवसायबाट जोडेको उल्लेख छ ।
मन्त्री मल्लले नोकरी र व्यवसायबाटै ४ तोला सुन र ५ तोला चाँदी जोडेको बताएका छन् । वि.सं. २०७२ मा खरिद गरेको उक्त सुनचाँदीको मूल्य ३ लाख ८० हजार रुपैयाँ उल्लेख गरिएको छ । उनीसँग बैंक मौज्दात ३ लाख रुपैयाँ छ भने श्रीमती राधिकाको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ६३ लाख रुपैयाँ ऋण रहेको उल्लेख छ ।
विद्युतीय सामग्रीतर्फ १ लाख ९० हजारको एक थान मोबाइल, १ लाखको एक थान ल्यापटप र १ लाख ८० हजार बराबरको ट्याबलेट रहेको र ती सामानको स्रोत ’वैदेशिक रोजगारमा रहेकाले उपहार दिएको’ जनाइएको छ ।
अर्थमन्त्रीसँग छैन ऋण, सम्पत्ति करोडौँ
जुम्लाको कनकासुन्दरी–६ घर भएका आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईसँग गाउँमा बुबाको नाममा ६० र १२९ वर्ग मिटरका दुईवटा पुर्ख्यौली घर छन् । बुबाकै नाममा गाउँका विभिन्न २८ ठाउँमा पुर्ख्यौली जग्गा छ ।
त्यस्तै, बर्दियाको राजापुर नगरपालिका–२ का ३ वटा ठाउँमा जग्गाजमिन रहेको विवरणमा उल्लेख छ। उनीसँग २० तोला सुन र ५० तोला चाँदी छ, जसको स्रोत खुलाइएको छैन । विभिन्न बैंकमा गरी आफ्नो नामको खातामा ८ लाख र श्रीमतीको नाममा ४ लाख १५ हजार रुपैयाँ मौज्दात रहेको उनले उल्लेख गरेका छन् ।
मन्त्री पछाईको सेयर बजारमा ठुलो लगानी रहेको छ । सम्पदा लघुवित्तमा ७२ लाख ३५ हजार ६०० रुपैयाँ बराबरको सेयर छ । कमसम बचत तथा ऋण सहकारीमा २ लाख ५० हजार तथा नबिल, कालिका लगायतका लघुवित्तमा ९ हजार कित्ता सेयर छ । यसको मूल्य बजारअनुसार रहने उल्लेख गरिएको छ ।
उनकी श्रीमती तिला आचार्यको नाममा एक्सपर्ट हाइड्रोपावरमा २ लाख बराबरको सेयर छ भने आरम्भ चौतारी, सूर्यज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, त्रिशूली जलविद्युत् कम्पनी लगायत दर्जनौँ ठाउँमा गरी १६ हजार कित्ता सेयर रहेको उल्लेख छ । पछाईले केही सेयरको स्रोत ’सेयर कारोबार’ त केही ’तलबबाट खरिद गरेको’ खुलाएका छन् ।
उनीसँग कुनै पनि ऋण छैन। सवारीसाधनतर्फ २ लाख ४० हजार मूल्यको बजाज मोटरसाइकल र २ लाख ८५ हजारको स्कुटर (श्रीमतीको नाममा) रहेको बताएका छन्, जसको स्रोत व्यक्तिगत आम्दानी तथा बैंकको जागिर राखिएको छ। कृषि तथा पशुपालन्नतर्फ उनीसँग जुम्लामा २०० बोट स्याउ, १५ बोट ओखर र एउटा गाई छ ।
उनले नागरिक लगानी कोषमा आफ्नो नाममा ३ लाख ९२ हजार ६६४ र श्रीमतीको नाममा ५ लाख २१ हजार रुपैयाँ मौज्दात जम्मा गरेका छन् । विद्युतीय सामग्रीतर्फ २ थान एप्पल मोबाइल र १ थान ल्यापटप रहेको उल्लेख गरे पनि ती सामग्रीको मूल्य र स्रोत भने खुलाएका छैनन् ।
जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको ८ लाख ऋण
हुम्लाको अदानचुली–५ घर भएका जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालसँग गाउँमा ०.३२३५ वर्ग मिटरमा फैलिएको पुर्ख्यौली घर छ भने वीरेन्द्रनगरको लाटीकोइलीमा ५ लाख मूल्यको जमिन छ । व्यवसायबाट खरिद गरेको उक्त जमिनको मूल्य अहिले बढेको उल्लेख छ ।
लाटीकोइलीमै अर्को ९६ वर्ग मिटरमा फैलिएको जमिन छोरी–ज्वाइँको जग्गा बैंक प्रयोजनका लागि रोक्का भएको पनि उनले उल्लेख गरेका छन् । हुम्लाको अदानचुली र ताँजाकोटमा गरी २५ कित्ताभन्दा बढी पुर्ख्यौली/पैतृक जग्गा (अंशबन्डा हुन बाँकी) रहेको बताएका छन् । उनीसँग २०५७ सालमा २० हजारमा खरिद गरिएको २ तोला सुन र पैतृक ४० तोला चाँदी छ ।
चारवटा बैंकमा उनको २ लाख ७० हजार रुपैयाँ बराबर रकम मौज्दात छ, जसमध्ये २ लाख ५० हजार वैदेशिक रोजगारबाट प्राप्त र बाँकी तलबबाट जम्मा गरिएको उल्लेख छ । विभिन्न व्यक्तिहरू (सन्तोष शाही, हरि जैसी, छिरिङ लामा, पृथि शाही) बाट वैदेशिक रोजगार तथा अध्ययनका लागि कुल ८ लाख ऋण लिएको र चुक्ता गर्न बाँकी रहेको उल्लेख छ । यद्यपि, अध्ययनका लागि कसलाई पठाएको हो भन्ने कुरा खुलाइएको छैन । कृषितर्फ आफ्नै जग्गामा उत्पादित धान १५ मुरी, कोदो ३ मुरी, गहुँ/मकै ५ मुरी, सिमी/कागुनो २ मुरी रहेको तथा राडीपाखी १६ थान, गलैँचा १५ थान, तामा/पित्तलका भाँडा २०० थान र काँसका भाँडा १०० थान रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसँग १० तोला सुन र ११० तोला चाँदी
हुम्लाकै सर्केगाड–२ घर भएकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) को गाउँमा पैतृक घर छ । जिल्ला सदरमुकाम सिमकोट–६ मा १७.२५ वर्ग मिटरमा फैलिएको २५ लाख मूल्यको जग्गा आफ्नै नाममा रहेको उनले उल्लेख गरेकी छन् भने प्रदेश राजधानी वीरेन्द्रनगर–११ मा ३० लाख मूल्यको अर्को जग्गा पनि छ ।
यो जग्गा केही पैतृक र केही व्यवसायबाट जोडेको उनले बताएकी छन् । ससुराको नाममा हुम्लाको सर्केगाडमा ५० रोपनी पैतृक खेत/पाखो रहेको पनि उल्लेख छ । उनीसँग १० तोला सुन र ११० तोला चाँदी छ भने तुषो/मुगा/मोतीको माला २५ तोला र नगद २ लाख रुपैयाँ मौज्दात छ । यो सम्पत्ति पैतृक, दाइजो तथा पारिश्रमिकबाट जोडिएको उल्लेख छ ।
बैंक मौज्दाततर्फ सिटिजन्स बैंकमा २० हजार, साङ्ग्रिला विकास बैंकमा १५ लाख (श्रीमान्को दुर्घटना मृत्युदाबीबापत प्राप्त बिमा रकम), एनएमबी बैंकमा ११ हजार र छोराको नाममा सिटिजन्स बैंकमा ४२ लाख (बुबा चन्दसिंह कार्कीको दुर्घटना बिमा दाबीबाट प्राप्त रकम) रहेको उल्लेख गरेकी छन् । सवारीसाधनतर्फ छोराको नाममा ३ लाख मूल्यको १ थान मोटरसाइकल रहेको पनि उनले बताएकी छन् ।
पर्यटनमन्त्रीसँग छैन घर
रुकुम पश्चिमको चौरजहारी–९ घर भएकी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कासँग घर छैन । अविवाहित उनको बुबाआमाको घर जाजरकोट भूकम्पमा क्षति भएको थियो । गाउँमा अंशबन्डाबाट प्राप्त ४ कित्ता जग्गा रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै, दाङमा १२० वर्ग मिटरको ३ लाख ६० हजार मूल्य बराबरको घडेरी रहेको र उक्त घडेरी पनि अंशबन्डाबाटै प्राप्त गरेको बताएकी छन् । उनीसँग सुनचाँदी केही पनि छैन । बैंकमा बुबाबाट प्राप्त ५ लाख रुपैयाँ जम्मा गरेकी छन् भने ४ लाख ४६ हजार रुपैयाँ तलब, भत्ता तथा जग्गा बिक्रीबाट जम्मा गरेको उल्लेख छ ।
सबैभन्दा गरिब भौतिकमन्त्री
रुकुम पश्चिमकै मुसीकोट–१३ घर भएकी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोका सबैभन्दा गरिब देखिएकी छन् । मोती रोकाको नाममा गाउँमा कच्ची पुर्ख्यौली घर छ भने आफ्नो र मोती रोकाको नाममा गरी ११ कित्ता पुर्ख्यौली जग्गा रहेको उनले उल्लेख गरेकी छन् । उनीसँग माइतीमै रहँदा कमाएको २ तोला सुन छ ।
बैंक मौज्दात ९० हजार रुपैयाँ रहेको छ भने विभिन्न कम्पनी तथा संस्थामा ३ लाख बराबरको सेयर लगानी छ, त्यो पनि परिवार सगोलमा। आफन्तबाट लिएको १२ लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको उल्लेख गरेकी छन् भने घरमा एउटा गाई र ५ वटा बाख्रा रहेको बताएकी छन् । अन्य सम्पत्तिमा एउटा साधारण मोबाइल सेट मात्र उल्लेख छ । मिलन १० वर्षे सशस्त्र युद्धमा सङ्घर्ष गरेकी महिला नेत्री हुन् ।






