रुसबाट युरोपमा ३२० अर्ब डलरको ऊर्जा आयात

युक्रेनमाथि रुसको आक्रमणपछि प्रतिबन्ध लगाए पनि युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् ।
रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार उक्त अवधिमा युरोपेली संघ (इयु) का देशहरूमा सो मूल्यको ऊर्जा आपूर्ति गरिएको बताए । उनका अनुसार सन् २०२६ को पहिलो नौ महिनामा मात्रै २१ अर्ब ३० करोड डलरको रुसी हाइड्रोकार्बन खरिद भएको छ । उनले प्रतिबन्धका बाबजुद केही क्षेत्रमा प्राप्त छुटका आधारमा ऊर्जा आपूर्ति जारी रहेको र यस वर्षको अन्त्यसम्ममा रुसी तेल निर्यात युद्धपूर्वको स्तरमा पुग्न सक्ने बताए ।
स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले भने रुसबाट ऊर्जा आयातमा भएको खर्च युक्रेनलाई उपलब्ध गराइएको सहयोगभन्दा बढी रहेको बताए । युक्रेनमा युद्ध सुरु भएदेखि युरोपेली संघ (इयु) ले २१८ अर्ब ७० करोड युरो अर्थात् २४४ अर्ब डलर सहयोग दिएको उनले उल्लेख गरे । रोक्का गरिएका रुसी सम्पत्ति प्रयोग गर्न सके युक्रेनलाई दिइएको सहयोग झन्डै दोब्बर बनाउन सकिने उनको भनाइ थियो ।
युरोपेली संघ (इयु) ले रुसमाथि विभिन्न प्रतिबन्ध लगाए पनि फ्रान्सलगायतका देशले तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयात गरिरहेका छन् । स्लोभाकिया र हङ्गेरीले पाइपलाइनबाट आउने रुसी तेल खरिदमा छुट पाएका छन् । भारत र टर्कीजस्ता देशमा प्रशोधन गरी युरोप पुर्याइने रुसी उत्पादन भने प्रत्यक्ष आयातको आँकडामा समावेश छैन । यी देश र चीनले सन् २०२२ देखि रुसी कच्चा तेलको खरिद बढाएका छन् ।
त्यसैबीच, रुसी डिजेल आयात गर्न अमेरिकालाई अनुमति दिने सम्झौताको युरोपेली देशहरूले आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार युरोपेली संघ (इयु) ले रुसलाई ऊर्जा खरिदबापत २५० अर्ब डलर तिरेको दाबी गर्दै आफ्नो निर्णयको बचाउ गरे । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि रुसी डिजेल खरिदसम्बन्धी अमेरिकी सम्झौताको आलोचना गर्ने युरोपेली देशहरूले नै रुसबाट ऊर्जा आयात जारी राखेको भन्दै उनीहरूको व्यवहारलाई पाखण्डको संज्ञा दिएका थिए ।
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति भएको घोषणा गरे पनि रुसले युक्रेनका ऊर्जा संरचनामाथि आक्रमण जारी राखेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पनि मस्कोले आफ्नो देशका ऊर्जा केन्द्रहरूलाई निशाना बनाइरहेको बताएका हुन ।
ट्रम्पले कथित ‘ऊर्जा युद्धविराम’ को घोषणा गरेको केही घण्टापछि नै रुसले उत्तरपूर्वी सहर खार्किभस्थित विद्युत् केन्द्र, ग्यास उत्पादन केन्द्र तथा सर्वसाधारणले प्रयोग गर्ने एउटा ग्यास स्टेसनमा आक्रमण गरेको भन्दै जेलेन्स्कीले आश्चर्य व्यक्त गरेका थिए ।
पछि फक्स न्युज च्यानलको ‘अमेरिकाज न्युजरुम’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले ट्रम्पको घोषणापछि युक्रेनले रुसी ऊर्जा संरचनालाई निशाना नबनाएको र युद्धविरामको पालना गर्न तयार रहेको बताए ।
जेलेन्स्कीले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमतिलाई युद्ध अन्त्य गर्ने दिशामा ‘राम्रो पहिलो कदम’ का रूपमा व्याख्या गरेका छन् । तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यस्तो सहमति पालना गर्न तयार हुन्छन कि हुन्न भन्नेमा आफू विश्वस्त नरहेको उनको भनाइ छ ।
“ट्रम्पका हिजोका सन्देशपछि पनि पुटिनले हाम्रो ग्यास पूर्वाधारमा आक्रमण गर्नुभयो,” जेलेन्स्कीले भने । उनका अनुसार ऊर्जा युद्धविरामको अर्थ रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने र युक्रेनले पनि रुसी ऊर्जा संरचनामा प्रत्याक्रमण नगर्ने भन्ने हो ।
यता, अमेरिकी राष्ट्रपति ट्रम्पले भने सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ऊर्जा युद्धविराम लागू भएको दाबी गरे । दुवै पक्षले सहमति स्वीकार गरेको हो कि होइन भन्ने प्रश्नमा उनले आफूले सहमत हुन भनेकाले दुवै पक्ष सहमत भएको आशय व्यक्त गरे ।
रुसले आक्रमण जारी राखेको भन्ने आरोपबारे सोध्दा ट्रम्पले दुवै पक्षबाट सहमति उल्लङ्घन भएको हुन सक्ने बताउँदै त्यसबारे थप अध्ययन गर्नुपर्ने प्रतिक्रिया दिऐ । रुस–युक्रेन युद्ध साढे चार वर्षदेखि जारी रहेको अवस्थामा ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सम्भावित सहमतिले युद्धको दिशा परिवर्तन गर्न सक्ने अपेक्षा गरिएको छ । तर, दुवै पक्षबीच सहमतिको कार्यान्वयन र त्यसको पालना सुनिश्चित गर्ने विषय अझै चुनौतीपूर्ण देखिएको छ ।





