खजुरा क्यान्सर अस्पतालमा दस दिनदेखि भिडियो एक्सरे ठप्प, बिरामी मारमा

बाँकेृ,२२ पुस।
बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा पछिल्लो दस दिनदेखि भिडियो एक्सरे सेवा पूर्णरूपमा बन्द भएको छ । क्यान्सरको उपचार प्रक्रियामा अत्यन्तै आवश्यक मानिने प्रारम्भिक परीक्षण सेवा नै बन्द भएपछि अस्पतालमा उपचारका लागि आएका बिरामी तथा उनका आफन्तहरू ठूलो समस्यामा परेका छन् ।
अस्पतालका रेडियोलोजिस्ट डा. ठाकुर कोइरालाले करिब दस दिनअघि राजीनामा दिएर काठमाडौँ फर्किएपछि हालसम्म अर्को रेडियोलोजिस्टको व्यवस्था हुन नसक्दा भिडियो एक्सरे सेवा ठप्प भएको अस्पताल प्रशासनले जनाएको छ । डा. कोइरालाको राजीनामापछि मन्त्रालय र सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराइए पनि हालसम्म कुनै पहल नदेखिएको अस्पतालको गुनासो छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. ज्वलन्त पौडेलका अनुसार क्यान्सर उपचारका लागि भिडियो एक्सरे अत्यावश्यक सेवा हो । “क्यान्सरको पहिचान, उपचारको योजना बनाउने र उपचारको प्रगतिबारे मूल्याङ्कन गर्न भिडियो एक्सरे अनिवार्यजस्तै हुन्छ,” उनले भने, “तर एक्कासी रेडियोलोजिस्टले राजीनामा दिएर जानु भयो, त्यसपछि तत्काल विकल्प नजुट्दा सेवा रोक्नुपरेको छ ।” उनले मन्त्रालयलाई छिटोभन्दा छिटो रेडियोलोजिस्ट पठाइदिन आग्रह गरिरहे पनि हालसम्म सुनुवाइ नभएको बताए ।
यसअघि लामो समयसम्म अस्पतालमा पार्टटाइम ज्यालादारीका आधारमा भिडियो एक्सरे सेवा सञ्चालन हुँदै आएको थियो । करिब एक वर्षअघि डा. ठाकुर कोइराला आएपछि भने सो सेवा पूर्णरूपमा नियमित सञ्चालनमा आएको थियो । दैनिक १५ देखि २० जनासम्म बिरामीको भिडियो एक्सरे हुँदै आएको अस्पतालले जनाएको छ । तर अहिले उहाँकै राजीनामासँगै सेवा ठप्प हुँदा बिरामीलाई बाहिर जान बाध्य बनाइएको छ ।
अस्पताल प्रशासनका अनुसार स्थानीयस्तरमै रेडियोलोजिस्ट राख्ने प्रयास भए पनि अस्पताल विकास समिति नै पूर्ण नहुँदा दरबन्दी सिर्जना र विज्ञापन गर्न समस्या भएको छ । “हामी स्थानीय स्रोतबाट समाधान खोज्न चाहन्छौँ, तर संरचनागत कमजोरीले गर्दा प्रक्रिया अघि बढाउन सकिएको छैन,” डा. पौडेलले बताए ।
भिडियो एक्सरे सेवा बन्द भएपछि अस्पतालमा उपचारका लागि आएका अधिकांश बिरामीलाई नेपालगञ्ज जानुपर्ने बाध्यता सिर्जना भएको छ । यसले विशेष गरी विपन्न र आर्थिक रूपमा कमजोर बिरामीहरूलाई थप आर्थिक तथा मानसिक बोझ परेको छ । क्यान्सरजस्तो गम्भीर रोगसँग लडिरहेका बिरामीलाई अतिरिक्त यात्रा र खर्चले झन् पीडा थपेको उनीहरूको भनाइ छ ।
बर्दिया जिल्लाको राजापुरबाट उपचारका लागि खजुरा क्यान्सर अस्पताल आइपुग्नुभएका एक बिरामीका आफन्त रमेश थारुले अस्पतालमै भिडियो एक्सरे सेवा नहुँदा निकै समस्या भोग्नुपरेको गुनासो गरे । “हामीलाई यही अस्पतालमा सबै सेवा पाइन्छ भनेर आएका थियौँ,” उनले भने, “तर भिडियो एक्सरे छैन भनेर नेपालगञ्ज जान भनियो । त्यहाँ गएर महँगो शुल्क तिरेर एक्सरे गराउनुपर्यो, आउजाउ खर्च पनि थपियो । गरीब मान्छेले यस्तो बोझ कसरी थेग्ने ?”
त्यस्तै, कर्णाली क्षेत्रबाट उपचारका लागि आएकी एक महिलाले नाम नखुलाउने सर्तमा भने, “यहाँ क्यान्सर अस्पताल खुलेपछि हामीलाई ठूलो राहत भएको थियो । पहिले त भरतपुर, काठमाडौँ वा भारतको नयाँदिल्लीसम्म जानुपर्थ्यो । तर अहिले सामान्य एक्सरेका लागि पनि बाहिर जानुपर्दा फेरि उस्तै अवस्था दोहोरिन थालेको छ ।”
स्थानीय बासिन्दा तथा बिरामीका आफन्तहरूले समेत अस्पतालमा तत्काल रेडियोलोजिस्टको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार सेवा बन्द हुँदा अस्पतालप्रतिको विश्वास कमजोर हुँदै गएको छ, जसको प्रत्यक्ष असर क्यान्सरजस्ता संवेदनशील बिरामीमाथि परेको छ ।
यसअघि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेल र स्वास्थ्य सचिवबाट एक महिनाभित्र मन्त्रालयमार्फत रेडियोलोजिस्ट पठाइने आश्वासन दिइएको थियो । तर सो आश्वासनपछि पनि करिब पाँच महिनापछि मात्र डा. ठाकुर कोइराला क्यान्सर अस्पतालमा आएका थिए । अहिले फेरि उनकै राजीनामासँगै उही समस्या दोहोरिएको छ ।
खजुरा क्यान्सर अस्पतालले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशसम्मका क्यान्सरका बिरामीलाई सेवा दिँदै आएको छ । यस अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका बिरामीलाई भरतपुर, काठमाडौँ वा भारत जानुपर्ने बाध्यता धेरै हदसम्म घटेको थियो । तर पछिल्लो समय देखिएको सेवा अवरोधले पुनः बिरामीलाई अन्यत्र धाउन बाध्य बनाएको छ ।
२०७२ सालमा सङ्घीय सरकारले स्थानीय तहबाट स्वामित्व ग्रहण गरेको यस अस्पतालमा हालसम्म पनि शून्य दरबन्दीमा सेवा प्रवाह हुँदै आएको छ । संरचनागत समस्या, जनशक्ति अभाव र ढिलासुस्तीका कारण अत्यावश्यक सेवा नै बन्द हुनु दुःखद भएको भन्दै स्थानीयले तत्काल समाधानको माग गरेका छन् ।






