पहिरो हटेपछि जुम्लामन चार केन्द्रका मतपेटिका ढुवानी

गाेल्डेन बुढा
जुम्ला ,२१ फाल्गुन ।
प्रतिनिधिसभा निर्वाचनपछि मतपेटिका ढुवानी भइरहेका बेला जुम्लाको तातोपानी गाउँपालिका अन्तर्गत त्रिवेणी–टोप्ला सडक खण्डमा खसेको सुख्खा पहिरो हटाएर चार मतदान केन्द्रका मतपेटिका सुरक्षित रूपमा सदरमुकामतर्फ ल्याउन थालिएको छ।बिहीबार दिउँसो करिब ३ बजे सुर्कीपाखा क्षेत्रमा एक्कासी सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
पहिरोले सडक पूर्ण रूपमा थुनिएपछि मतदान सम्पन्न भइसकेका केन्द्रबाट मतपेटिका ढुवानी गर्ने तयारीमा रहेका निर्वाचन टोली र सुरक्षाकर्मी केही समय रोकिनु परेको थियो। सोही बाटो प्रयोग गरेर आवतजावत गर्ने स्थानीय बासिन्दासमेत समस्यामा परेका थिए।घटनाबारे जानकारी पाएपछि जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको निर्देशनमा सडक डिभिजन कार्यालय जुम्लाले तत्काल डोजर परिचालन गरेको थियो। करिब साढे दुई घण्टाको प्रयासपछि पहिरो पन्छाएर साँझ ६ बजेर १५ मिनेटतिर सडक एकतर्फी रूपमा खुलाइएको कार्यालयले जनाएको छ।निर्वाचन प्रक्रिया अनुसार मतदान कार्य साँझ ५ बजे नै सकिएको भए पनि सडक अवरुद्ध हुँदा मतपेटिका ढुवानीमा ढिलाइ भएको थियो। सडक खुलेसँगै मतपत्रसहितका मतपेटिका र निर्वाचनमा खटिएको टोली सदरमुकामतर्फ हिँडिसकेको जनाइएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिनबाबु रेग्मीका अनुसार उक्त सडक हुँदै चार मतदान केन्द्रका मतपेटिका ल्याइँदैछ। “पहिरो हटाएर सडक खुलाएपछि मतपेटिका बोकेका सवारीसाधनलाई सुरक्षाका साथ अघि बढाइएको छ,” उनले भने।त्रिवेणी–टोप्ला सडक खण्ड पूर्ण रूपमा सुरक्षित नभएसम्म डोजरलाई मतपेटिका बोकेका गाडीहरूको अघिअघि चलाउने व्यवस्था मिलाइएको छ। यसले पुनः साना ढुंगा खस्ने वा सडक अवरुद्ध हुने सम्भावना भए तत्काल व्यवस्थापन गर्न सहज हुने प्रशासनले जनाएको छ।
स्थानीय तह, सुरक्षा निकाय र प्राविधिक टोलीको समन्वयमा सडक खुलाएपछि निर्वाचन सामग्री ढुवानी तथा नागरिकको आवतजावत पुनः सहज बनेको छ। दुर्गम भूगोल र जोखिमपूर्ण सडकबीच पनि मतपेटिका सुरक्षित रूपमा सदरमुकाम पुर्याउने प्रयास जारी रहेको सम्बन्धित निकायले बताएका छन्।






