चाैकुने गाउँपालिकामा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गर्दै ।

सुर्खेत ,२० पुस।
चाैकुने गाउँपालिका वडा नं. ६, ७ र ८ का कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरी छात्राहरूका लागि किशोरी आत्मरक्षा तालिम सञ्चालन गर्ने भएकाे छ । तालिम २०८२ साल पौष २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
चाैकुने गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको उक्त तालिममा श्री जीवन ज्योति मा.वि. झकमके, श्री सिद्देश्वरी मा.वि. सान्नेघारी र नेपाल राष्ट्रिय मा.वि. भट्टेसराका गरी जम्मा ३० जना छात्राहरू सहभागी भएका छन।

कार्यक्रमका सभाध्यक्ष खड्क वि.क. रहनुभएको उक्त तालिम कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क., शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्र बहादुर बुढा, चाैकुने गाउँपालिका खेलकुद विकास समिति उपाध्यक्ष विजय वि.क., महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कुमारी कडेल, प्रशिक्षकहरू तेजु गुरुङ र सोना थापा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा मन्तव्य राख्दै शिक्षा शाखा प्रमुख टेकेन्द्र बहादुर बुढाले नयाँ सुरुवातका रूपमा सञ्चालन गरिएको यस तालिमबाट सहभागी छात्राहरूले अधिकतम लाभ लिई आत्मरक्षा सम्बन्धी सीप सिकेर आफ्नो क्षमता विकास गर्न सक्ने अपेक्षा व्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर वि.क.ले स्रोत अभावका कारण हाल सबै वडामा तालिम सञ्चालन गर्न नसकिए पनि नमुनाका रूपमा गुटुबाट सुरु गरिएको बताउँदै, सहभागी छात्राहरूलाई अनुशासित भएर प्रशिक्षकले सिकाएको ज्ञान तथा सीप आत्मसात गर्न आग्रह गर्दै शुभकामना सन्देश दिनुभयो।

कार्यक्रमका अध्यक्ष खड्क वि.क.ले आत्मरक्षा सीप अप्ठेरो परिस्थितिमा अत्यन्तै उपयोगी हुने उल्लेख गर्दै सहभागी छात्राहरूलाई तन–मन लगाएर अनुशासित ढंगले तालिम लिन आग्रह गर्नुभयो। उहाँले यस किसिमको तालिमले किशोरीहरूलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि मजबुत बनाउने विश्वास व्यक्त गर्दै तालिमको सफलताको कामना गर्नुभयो।


