“टोपी दिवस:जुम्लाको खरायोकाे टाेपी चर्चा”

गाेल्डेन बुढा

जुम्ला,१७ पुस।
अंग्रेजी नयाँ वर्षको पहिलो दिन ‘टोपी दिवस’ देशभर मनाइँदै गर्दा जुम्लामा बनेको खरायोको ऊनको टोपीले विशेष चर्चा बटुल्यो। स्थानीय पहिचानको प्रतीक मात्रै नभई, यो टोपी अहिले जुम्ली किसानको जीवनशैली र आम्दानीको महत्त्वपूर्ण स्रोत बन्न पुगेको छ।जुम्लाको चन्दननाथ नगरपालिका–८, तलिउम गाउँका विष्णु रोकाया हरेक वर्ष लाखौँ रुपैयाँ बराबरको टोपी बिक्री गर्छन्। “सुरुमा ग्राहकले ढाका टोपी चाहन्थे, अहिले आफ्नै खरायोको टोपी किन्न गाउँमा नै आउने गरेका छन्,” उनले बताए।

रोकायाले टोपी बुन्नका लागि ६० भन्दा बढी खरायो पालेका छन्,।मासिक आठ वटा टोपी बुनेर करिब २५ हजार रुपैयाँसम्म आम्दानी गर्छन्।स्थानीय समारोह, स्वागत–विदाइ, विवाह, ब्रतबन्धदेखि जुम्लामा आउने उच्च अधिकारी र विशिष्ट पाहुनाको स्वागतमा पनि टोपी प्रयोग हुने क्रम बढ्दै गएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड) देखि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले जुम्लाको टोपी लगाइसकेका छन्।खरायोको टोपीले स्थानीय अर्थतन्त्रमा समेत नयाँ आयाम थपेको छ। चन्दननाथ बहुउद्देश्यीय सहकारीले किसानले बुनेका टोपीलाई बजारसम्म पुर्‍याउने काम गर्छ। सहकारीका कार्यकारी प्रबन्धक ऋषिराम पाण्डे भन्छन्, “काठमाडौं, भैरहवा, नेपालगञ्ज र सुर्खेतबाट धेरै अर्डर आउँछ। माग यति बढी छ कि सबै अर्डर पूरा गर्न चुनौतीपूर्ण छ।”यस्तै, चन्दननाथ नगरपालिका–८ जातिभिड गाउँका कालीबहादुर भण्डारीलाई पनि टोपी बुन्न भ्याइनभ्याइ छ। ५५ वटा खरायो पालेका भण्डारीले चार वटा खरायोको ऊनबाट एउटा टोपी बुन्ने गरेका छन्। २२ वर्षदेखि खरायो पालन गर्दै आएका उनी भन्छन्, “पहिले ढाका टोपीको चर्चा हुन्थ्यो, अहिले खरायोको ऊनको टोपीको माग बढेको छ।”“पहिले सुर्खेत र नेपालगञ्जबाट ढाका टोपी मगाएर लगाउँथ्यौँ, अहिले आफ्नै खरायोको ऊनबाट बनेको टोपी बेचेर आम्दानी गरिरहेका छौँ,” उनले भने।सुरुमा खरायोको टोपी बेच्दा निराशा व्यक्त गर्नेहरू नै अहिले गाउँमै टोपी किन्न आइपुग्ने गरेको उनी बताउँछन्। जुम्लामा १ हजार ४ सय १५ वटा अंगुरा जातका खरायो पालन हुँदै आएका छन्। पशु अस्पतालका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार गत वर्ष मात्र करिब ७० लाख रुपैयाँ बराबरको टोपी बिक्री भएको थियो। “खरायोको ऊनको टोपी अहिले जुम्लाको चिनोका रूपमा मानिन थालेको छ,” उनले बताए।यो, जुम्लाको टोपी केवल सांस्कृतिक पहिचान होइन, ग्रामीण उद्यमशीलता र स्थानीय उत्पादन प्रवर्द्धनको उदाहरण पनि हो। यसले नेपाली परम्परा जगेर्ना गर्ने मात्र नभई गाउँ-सहरबीचको आर्थिक सञ्जाललाई मजबुत बनाएको छ।

किसानले आफ्नै उत्पादनको मूल्य पहिचान पाएपछि ढाका टोपीमा निर्भरता घटेको छ।नेपाली टोपी दिवस ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नारासहित विसं २०७० देखि मनाइँदै आएको छ। १३ वर्षसम्म निरन्तर मनाइँदै आएको यो दिवसले अब जुम्लाको खरायो टोपीलाई राष्ट्रियस्तरमा छुट्टै पहिचान दिएको छ। सांस्कृतिक महत्त्व, स्थानीय रोजगारी र पर्यटनसम्ममा योगदान पुर्‍याउने यस व्यवसायले भविष्यमा थप विस्तारको सम्भावना बोकेको छ।

“टोपी दिवस:जुम्लाको खरायोकाे टाेपी चर्चा”

नेपालको विविधता नै राष्ट्रिय शक्ति : मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *