सम्पादकीय: अराजकलाई कानुनी कठघरामा उभ्याऊ

आफुलाई राजावादीको संज्ञा दिने केही व्यक्तिको अगुवाईमा शुक्रबार काठमाण्डौंको तिनकुने क्षेत्र अशान्त बन्यो । जनताले अस्वीकृत गरेको राजतन्त्रात्मक व्यवस्था पुनरबहालीको व्यक्तिवाजी लहडले रक्तपात मात्रै मच्चिएन दुई जनाले ज्यान गुमाए । सुरक्षाकर्मीसँगै दर्जनौ आन्दोलनकारी घाइते भए । आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाई लगायत राप्रपाका नेताहरुको अराजक गतिविधिले व्यवसायिक घरनामा आगो लगाउने काम गरियो । निजी सवारी साधनमा आगो लगाउनेदेखि चोरी डकैतीसम्मका काम भए । जनताको बहुमतले अस्वीकृत भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा लागेका कथित राजा फर्काउने अभियानका केही व्यक्तिको अराजकशैलीले रिपोटिङ्गमा खटिएका एक जना पत्रकारले ज्यान गुमाउनु प¥यो । अन्य पत्रकारहरु कुटपिटबाट घाइते भए । कान्तिपुर र अन्नपुर्ण पोष्टको कार्यालयमा आन्दोलनकारीले ढुङ्गामुढा गरे । यो वास्तवमा स्वतन्त्र प्रेसमाथीको हस्तक्षेप थियो । व्यवस्थाले नै नचिन्नेहरुको गणतन्त्रमाथी हमाला थियो । यस प्रकारको अवाञ्छित गतिविधि जुनवादीको भएपनि स्वीकार्य छैन । नेपाल २०६२÷०६३ को ऐतिहाँसिक जनआन्दोलनपछि गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश ग¥यो । नागरिक स्वतन्त्रता, समानता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित गणतन्त्र नेपाली जनताको बलिदानको परिणाम हो । तर, पछिल्लो समय केही समूहहरूले गणतन्त्र असफल भएको भन्दै राजतन्त्रको पक्षमा आवाज उठाइरहेका छन् ।
राजतन्त्र अन्त्य भएको १६ वर्ष बितिसक्दा पनि किन केही समूहहरू पुनःराजसंस्थाको पक्षमा उत्रिरहेका छन् ? यसको प्रमुख कारण हो, वर्तमान लोकतान्त्रिक व्यवस्थाले जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्नु । यथार्थमा गणतन्त्रको विकल्प राजतन्त्र होइन बरु गणतन्त्रको सुदृढीकरण हो । कुनै पनि प्रणालीलाई पूर्ण रूपमा सफल बनाउने वा असफल पार्ने काम संस्थागत संरचना, नेतृत्वको प्रतिबद्धता र नागरिक सचेतनामा निर्भर गर्छ । नेपालको गणतन्त्रले अपेक्षाकृत गतिमा उपलब्धि हाँसिल गर्न नसकेको सत्य भएपनि यसको सुधारात्मक विकल्प पुनः राजतन्त्र फर्काउनु होइन । राजतन्त्र मुलतः व्यक्तिवादी शासन प्रणाली हो, जसमा जनताको सार्वभौमसत्ता सीमित गरिन्छ । नेपालको इतिहाँसमा राजतन्त्र जनहितको पक्षमा नभई दरबार केन्द्रित सत्ताको अभ्यासमा केन्द्रित थियो । यसैले पुनः पुरानै प्रणालीमा फर्किनु भनेको देशलाई पछाडि फर्काउनु हो । यद्यपि, गणतन्त्रवादी शक्तिहरूको कमजोर भुमिकाले राजतन्त्रवादीहरूलाई उक्साउने अवसर प्रदान गरेको देखिन्छ । गणतन्त्रको मर्म र मूल्य मान्यता बिर्सिएर सत्ता स्वार्थमा लिप्त हुने प्रवृत्तिले नागरिकमा निराशा फैलिएको छ । भ्रष्टाचार, कुशासन, नेतृत्वको अकर्मण्यता र जनताको अपेक्षाअनुसारका परिवर्तन नआउँदा गणतन्त्रप्रति विश्वास खस्किएको हो । यसले गणतन्त्रको आलोचना गर्नेहरूलाई बल पु¥याएको छ ।
नेपालको वर्तमान राजनीतिक परिदृश्यमा जनताको निराशा र असन्तोषले राजावादी गतिविधिहरूलाई पुनःउत्थान गरेको छ । यो अवस्थामा राजनीतिक दलहरूले आत्मआलोचना गर्दै जनताको अपेक्षाहरू पूरा गर्न ठोस कदम चाल्न आवश्यक छ । नेपालमा अहिले समस्या शासकमा छ, व्यवस्थामा होइन । यदि राजनीतिक अस्थिरता, भ्रष्टाचार, प्रशासनिक जटिलता र विकासमा ढिलाइ जस्ता समस्याहरू छन् भने तिनको समाधान गणतन्त्रभित्रै खोजिनुपर्छ । सुशासन, जवाफदेहिता, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण र संस्थाहरूको मजबुतिकरण गरेर मात्र समस्याको समाधान हुन सक्छ । त्यसैले, गणतन्त्रलाई परिमार्जन गर्दै प्रभावकारी बनाउने दिशामा केन्द्रित हुनु नै आजको राष्ट्रिय आवश्यकता हो । नागरिक सचेतना, नेतृत्वको इमान्दारिता र संस्थागत सुधारमार्फत नेपालले समृद्धिको यात्रा तय गर्न सक्छ । गणतन्त्रको विकल्प फेरी राजतन्त्र ल्याउनु होइन, बरु गणतन्त्रलाई अझ सुदृढ बनाउनु हो । अन्तमा पूर्वराजा ज्ञानेन्द्र आफु बसिरहेको सिहासनबाट निर्मल निवास त्यसै गएका होइन । र त्यसैगरी उनी फर्किर्नेवाला पनि छैनन् । अराजक व्यक्तिलाई उक्साएर आतङ्क मच्चाउन खोज्ने पूर्वराजालाई समयमै जवाफदेही बनाउन ढिला गरिनु हुँदैन । उनका पछाडी लागेर व्यक्तिगत लहडमा अराजक गतिविधि गर्ने दुर्गा प्रसाई जस्ता व्यक्तिलाई कानुनी कठघरामा उभ्याउन राज्यले ढिला नगरोस् ।






