वन–निर्भर समुदाय मार्फत जलवायु उत्थानशीलता अभिवृद्धि सम्बन्धि जुम्लामा परामर्श

काली बहादुर परियार,

जुम्ला,१४ पुस ।

जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेको कर्णाली प्रदेशका वन–निर्भर समुदायको जीविकोपार्जन, क्षमता सुदृढीकरण र जलवायु उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्य सहित प्रस्तावित एक महत्त्वाकांक्षी परियोजना माथि जुम्लामा जिल्ला स्तरीय परामर्श बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा सम्पन्न बैठकमा वन–निर्भर समुदायहरूको जीविको पार्जन र क्षमता सुदृढीकरण मार्फत जलवायु उत्थानशीलता अभिवृद्धि शीर्षकको परियोजनालाई हरित जलवायु कोषमा प्रस्ताव गर्ने तयारी बारे विस्तृत छलफल गरिएको हो ।

बैठकमा सहभागीहरूले जलवायु परिवर्तन अब भविष्यको खतरा नभई वर्तमानको संकट बनिसकेको भन्दै नेपाल, विशेष गरी कर्णाली प्रदेशलाई नखाएको बिष जस्तै जलवायु संकटको चपेटामा परेको धारणा व्यक्त गरे ।

हिमालहरू तीव्र गतिमा पग्लँदै जानु, वन क्षेत्र माथि बढ्दो दबाब, पानीका स्रोत सुक्नु र जीविकोपार्जनमा देखिएको गम्भीर असरले कर्णालीलाई उच्च जोखिमयुक्त प्रदेश बनाउँदै लगेको सहभागीहरूको निष्कर्ष रहेकाे छ ।

छलफलमा प्रस्तुत परियोजनाले जलवायु परिवर्तनका कारण सबै भन्दा बढी असर वन क्षेत्रमा पर्ने र त्यसको प्रत्यक्ष प्रभाव वन–निर्भर समुदायको जीविकोपार्जनमा पर्ने उल्लेख गरिएको छ । प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, प्रकृतिमा आधारित समाधान, जलवायु अनुकूलन, क्षमता अभिवृद्धि तथा दिगो वन व्यवस्थापनलाई परियोजनाको मुख्य प्राथमिकताका रूपमा अघि सारिएको राष्ट्रिय प्रकृति संरक्षण कोष प्रमुख मनिष राज पाण्डेले बताए ।

तर, सहभागी स्थानीय जन प्रतिनिधिहरूले विगतमा सञ्चालन भएका केही परियोजनाहरू अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको अनुभव सुनाउँदै यसपटक कागजमै सीमित नभई व्यवहारमै परिणाम देखिनुपर्ने जोड दिएका छन ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले परियोजनाको उद्देश्य सकारात्मक भए पनि कार्यान्वयन पक्ष सबै भन्दा संवेदनशील हुने भन्दै स्थानीय आवश्यकता अनुसार स्पष्ट योजना, पारदर्शिता र जवाफदेहिता अनिवार्य हुनुपर्ने बताएका छन ।

छलफलका क्रममा महिला, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायको सहभागिता परियोजनामा अनिवार्य गरिए पनि उनीहरूलाई निर्णय प्रक्रियामै प्रभावकारी भूमिका सुनिश्चित गर्नुपर्ने आवाज उठेको थियो ।

उनका अनुसार, साथै वातावरणीय तथा सामाजिक जोखिम मूल्याङ्कन, जैविक विविधता संरक्षण र दीगो वन व्यवस्थापन परियोजनाको केन्द्रमा हुनुपर्नेमा जोड दिए । तीनै तहका सरकारसँग सहकार्यको आवश्यकता परियोजनाले स्थानीय तह देखि प्रदेश र संघीय सरकार सम्मको समन्वय र सहकार्यमा अघि बढ्नुपर्ने, जोखिममा परेका समुदाय र जलवायु संकटग्रस्त क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा पनि बैठकमा प्रमुख आचार्यले व्यक्त गरे ।

आयोजक संस्थाका अनुसार बैठक बाट प्राप्त सुझाव, स्थानीय आवश्यकता, भूगोल र सामाजिक संरचनालाई समेटेर मात्रै परियोजनालाई अन्तिम रूप दिइनेछ ।
जलवायु जोखिम उच्च र विकासका अवसर सीमित कर्णाली प्रदेशका लागि यो परियोजना केवल सहायता कार्यक्रम नभई उत्थानशील वातावरण, सुरक्षित जीविकोपार्जन र दीगो विकासतर्फको आधार बन्न सक्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन । तर त्यो विश्वास व्यवहारमा बदलिनु नै यस परियोजनाको सबैभन्दा ठूलो परीक्षा हुने देखिन्छ ।

वन–निर्भर समुदाय मार्फत जलवायु उत्थानशीलता अभिवृद्धि सम्बन्धि जुम्लामा परामर्श

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन,

वन–निर्भर समुदाय मार्फत जलवायु उत्थानशीलता अभिवृद्धि सम्बन्धि जुम्लामा परामर्श

जाडो बढेसँगै जुम्लाका सामुदायिक विद्यालयहरू बन्द

Leave a comment

Your email address will not be published. Required fields are marked *