राउटे सहभागितामा वृक्षारोपण : लोपोन्मुख समुदायले रोपे ३ सयभन्दा बढी बिरुवा

१२, साउन २०८२
सुर्खेत । लोपोन्मुख राउटे समुदायको सहभागितामा पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–९ स्थित ओखलढुङ्गाको डाँडामा वृक्षारोपण गरिएको छ। खाँडदेवी सामुदायिक वन क्षेत्रअन्तर्गत आइतबार आयोजित कार्यक्रममा राउटे समुदायले खयर, सिसौं, चिउरी, हर्रो, बर्रो, अमला लगायतका ३ सयभन्दा बढी बहुवर्षीय काष्ठ तथा जडीबुटीजन्य बिरुवा रोपेका हुन्।

डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठका अनुसार, वातावरण संरक्षणको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने प्रजातिका बिरुवाहरू रोपिएको हो। खाँडदेवी वन उपभोक्ता समूहको आयोजनामा कार्यक्रम सगरमाथा वृक्षारोपण महाअभियानअन्तर्गत सञ्चालन गरिएको हो।

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले जंगलमै आश्रित जीवन बिताउने राउटे समुदायको वृक्षारोपणमा सक्रिय सहभागिताले वातावरणीय सन्तुलन कायम गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडेलले तापक्रम नियन्त्रण, हरियाली संरक्षण र राउटे समुदायको जीवनस्तर उकास्न वृक्षारोपण अपरिहार्य भएको उल्लेख गर्नुभयो।

राउटे मुखिया शेरबहादुर शाहीले पछिल्लो समय आफैंलाई आवश्यक काठपात र जडीबुटी जंगलमा सहजै नपाइएकाले अब आफैंले रोप्नुपर्ने अवस्था आएको बताउनुभयो। उनका अनुसार हाल चौरासे क्षेत्रमा बस्दै आएको राउटे समुदायको जनसंख्या १३५ रहेको छ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला खड्लुक, प्रदेश वन निर्देशनालयका निर्देशक गणेश त्रिपाठी, मन्त्रालयका जैविक विविधता महाशाखा प्रमुख दीपेश केसी, सामुदायिक वनका प्रतिनिधि र डिभिजन वन कार्यालयका कर्मचारीहरूको समेत उपस्थिति थियो।

 

राउटे सहभागितामा वृक्षारोपण : लोपोन्मुख समुदायले रोपे ३ सयभन्दा बढी बिरुवा

दाङमा कोब्रा सर्पको टोकाइबाट एक पुरुषको ज्यान

राउटे सहभागितामा वृक्षारोपण : लोपोन्मुख समुदायले रोपे ३ सयभन्दा बढी बिरुवा

सम्पादकीय : सडक सुरक्षामा चुनौती

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds