जुम्लामा ३ सय बढी विद्यार्थीले लिए ‘एनसीसी’ तालिम

गाेल्डेन बुढा
जुम्ला,१३ पुस।
नेपाली सेनाले सञ्चालन गर्दै आएको जुनियर नेसनल क्याडेट कोर (एनसीसी) तालिम जुम्लामा हालसम्म ३ सय ४८ जना विद्यार्थीले लिएका छन्। जुम्लाका १० वटा विद्यालयका विद्यार्थी उक्त तालिममा सहभागी भएका हुन्, जसमा २ वटा निजी र ८ वटा सामुदायिक विद्यालय छन्।देविदत्त गण जुम्लाका गणपति धीरज थापाका अनुसार जुम्लामा २०७३ सालदेखि विद्यालयस्तरमा एनसीसी तालिम सुरु गरिएको हो। तालिम लिने विद्यार्थीमध्ये १ सय ८३ जना छात्र र १ सय ६५ जना छात्रा छन्। ‘विद्यालय तहबाटै सभ्य, अनुशासित र असल नागरिक उत्पादन गर्ने उद्देश्यले एनसीसी तालिम सञ्चालन गरिएको हो,’ थापाले भने।जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालय लाम्राबाट ३६ जना (१८ छात्र, १८ छात्रा) सहभागी भएका छन्।
यस्तै कनिका निशा माध्यमिक विद्यालयबाट पनि समान ३६ जना विद्यार्थी तालिममा सहभागी छन्। कैलाश बोधि माध्यमिक विद्यालयबाट ३४ जना (१८ छात्र, १६ छात्रा) र अर्को समूहमा ३६ जना (१८ छात्र, १८ छात्रा) विद्यार्थी सहभागी भएका छन्।यस्तै जनता माध्यमिक विद्यालय महतगाउँबाट २१ जना (१२ छात्र, ९ छात्रा) तथा अर्को समूहमा ३६ जना (१९ छात्र, १७ छात्रा) छन्। कर्णाली माध्यमिक विद्यालय अनामनगरबाट ४५ जना (२५ छात्र, २० छात्रा) र अर्को समूहमा ३३ जना (२० छात्र, १३ छात्रा) सहभागी छन्। चन्दननाथ माध्यमिक विद्यालय खलंगा बजारबाट ३६ जना (१६ छात्र, २० छात्रा) र अर्को समूहमा ३५ जना (१९ छात्र, १६ छात्रा) विद्यार्थीले तालिम लिएका छन्।गणपति थापाका अनुसार यो तथ्यांक २०७३ देखि २०८२ सालसम्मको हो। ‘एनसीसी तालिम प्राप्त विद्यार्थीको बानी–व्यवहार र आचरणमा सकारात्मक परिवर्तन देखिएपछि विद्यालयहरूबाट तालिमको माग बढ्दै गएको छ,’ उनले भने, ‘अभिभावकहरू पनि यसप्रति सकारात्मक देखिनु भएको छ।
’कर्णाली प्रदेशभरका १० जिल्लामा हालसम्म १ सय १० विद्यालयका ३ हजार ७ सय २२ विद्यार्थीले एनसीसी तालिम लिइसकेका छन्। हरेक वर्ष निश्चित संख्यामा सञ्चालन गरिने यो तालिमले विपद्का बेला राष्ट्रका लागि योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको सेनाले जनाएको छ।‘अनुशासन नै राष्ट्रसेवाको मूल जग हो’ भन्ने आदर्श बोकेको एनसीसीले विद्यार्थीमा चरित्र निर्माण, नेतृत्व विकास, खेलभावना र निःस्वार्थ सेवाको संस्कार विकास गराउने थापाको भनाइ छ। तालिम सैद्धान्तिक र व्यावहारिक दुवै पक्ष समेट्ने पाठ्यक्रमअनुसार सञ्चालन गरिन्छ।तालिमले विद्यार्थीको आत्मविश्वास बढाउने, राष्ट्रप्रेम जागृत गर्ने र नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने प्रमुख सेनानी थापाले बताए। ‘तालिम पूरा गर्न केही चुनौती भए पनि यसले व्यक्ति, समाज र देशलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्छ,’ उनले भने।कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीबाट छनोट गरी एनसीसी तालिम दिइन्छ। नेपालमा नेपाली सेनाले सिनियर र जुनियर गरि दुईवटा डिभिजन छुट्याएर तालिम दिदै आएको छ।एनसिसी तालिममा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड पुरा गर्नुपर्छ।जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी हुन पाउँछन्।जुम्लामा जुनियर तालिम भइरहेको छ।यो वर्ष भने ग्रामीण भेगका विद्यालयलाई प्राथमिकतामा राखेर तालिमका लागि विद्यालय छनोट गरिएको देविदत्त गण जुम्लाले जनाएको छ।विद्यालयका शिक्षकहरूका अनुसार एनसीसी तालिमले विद्यार्थीलाई अनुशासित, सिर्जनशील र जिम्मेवार नागरिक बनाउन सहयोग गरेको छ।
तालिमको सही सदुपयोग गर्न सके वैदेशिक रोजगारीमा होमिनुपर्ने नेपाली युवायुवतीको बाध्यता पनि हट्ने उनीहरुले विश्वास व्यक्त गरेका छन्।सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै राष्ट्रप्रति समर्पित नागरिक उत्पादन गर्नु नै यस तालिमको मुख्य उद्देश्य भएको जनाएको छ।नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ साल कार्तिक ७ गते देखि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको थियोे। जिल्लामा भने आव २०७१/०७२ बाट यस्तो तालिको सुरुवात गरिएको हो।अहिले देशका ७७ वटै जिल्लामा प्रत्येक वर्ष संचालन भइरहेको छ।






