सुर्खेत विमानस्थल परिसरमा आगलागी नियन्त्रण गर्न ‘बम्बी बकेट’

सुर्खेत, ११ पुस ।
सुर्खेत विमानस्थल परिसर भित्र मानविय सहायता तथा विपद उद्वार पोखरी निर्माण हुने भएको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको सहकार्यमा उक्त पोखरी निर्माण गर्न लागेको हो । सुर्खेत विमानस्थलस्थित पश्चिम पृतना सुर्खेत विमानस्थल एयरबेशको हाताभित्र निर्माण हुने उक्त पोखरीबाट आगलागीका घटनामा हेलिकप्टरमार्फत पानी भरेर जंगलको डढेलो वा अन्य आगलागीका घटना नियन्त्रण गर्न उपयोगी हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका विपद् महाशाखा प्रमुख उपसचिव उत्तम गौतमले जानकारी दिए ।
उनका अनुसार उक्त प्रविधिलाई बम्बी बकेट भनिन्छ । यसको अर्थ हेलिकप्टरमा झुण्ड्याइने विशेष बाल्टिन हो, जसले पोखरी वा तालबाट पानी भरेर जंगलमा डढेलो वा अन्य आगलागी भएमा खसालेर निभाइन्छ । उपसचिव गौतमले उक्त पोखरी अधिकतम ९७ फिट लामो र १३ फिट गहिरो हुने बताए । नेपाली सेनाको प्राविधिक सहयोग रहने उक्त पोखरीको लागत ९९ लाख ९६ हजार दुई सय रहने उपसचिव गौतमले जानकारी दिए । उपसचिव गौतमले विमानस्थल भित्र मानवीय सहायताका हिसावले उक्त पोखरी नेपालकै पहिलो हुने बताँउदै पोखरी निर्माण पश्चात प्रदेश सरकारले नेपाली सेनालाई हस्तान्त्रण गर्ने बताए ।
यसैबिच कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले उक्त पोखरी निर्माणको आज शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले विपदका घटना अकस्मात हुने हुँदा पूर्वतयारीका लागि पोखरी उपयोगी हुने बताए । उनले बढदो शहरीकरणले आगजनीका घटना दिनप्रतिदिन बढी रहेकाले हेलिकप्टरसँगै दमकलबाट समेत अग्नी नियन्त्रणमा उक्त पोखरीले सहज हुने बताए । मुख्यमन्ती कँडेलले प्रदेश सरकारले विपद न्यूनीकरण गर्न नेपाली सेनालगायत सुरक्षानिकायसँग सहकार्य गरिरहेको बताउँदै विपद न्यूनिकरणमा सबैको सामुहिक प्रयासको आवश्यकता औल्याए ।






