धान छोडेर हरियो सुनतर्फ जुम्लाका किसान, तरकारी खेतीबाट वार्षिक लाखौँ आम्दानी

जुम्ला, पुस २०८२।
पछिल्लो समय जुम्लाका किसानहरू परम्परागत धान खेती छोडेर व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन्। धान खेतीमा लागत र समय धेरै लाग्ने तर उत्पादन न्यून हुने भएपछि किसानहरूले मौसमी तथा बेमौसमी तरकारी खेतीलाई आम्दानीको मुख्य आधार बनाएका हुन्।
तातोपानी गाउँपालिका–५ श्रीनगरका महिलाहरू सामूहिक रूपमा व्यवसायिक तरकारी खेतीमा जुटेका छन्। पहिले वर्षमा दुई बोरा धान र दुई बोरा जौ मात्र फल्ने दुई भारी खेतमा अहिले तरकारी खेती गरेर वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको उनीहरूको भनाइ छ।
धान खेतीभन्दा तरकारी खेती धेरै फाइदाजनक भएको तातोपानी–५ की किसान विजुली डाँगीले बताउनुभयो। विगत १८ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएकी उहाँले धान फल्ने खेतमै तरकारी खेती गर्दा उत्पादन र आम्दानी दुवै सन्तोषजनक रहेको अनुभव सुनाउनुभयो। उहाँले भन्नुभयो, “पहिले दुई भारी खेतमा ५०–५० किलोका दुई बोरा धान मात्र फल्थ्यो। अहिले सोही खेतमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दा वार्षिक रूपमा एक लाखभन्दा बढी आम्दानी भइरहेको छ। यसले नियमित रूपमा हरियो सागपात खाने बानी पनि विकास गरेको छ।”
यस्तै, अर्की महिला किसान धर्मा डाँगीले पनि तरकारी खेतीले जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो। १८ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएकी उहाँले गत आर्थिक वर्ष २०८१/०८२ बाट तातोपानी गाउँपालिकाको पहलमा किर्डाकद्वारा सञ्चालित ‘सहयात्रा तेस्रो परियोजना’बाट सिप र प्रविधि पाएपछि खेती थप सहज भएको जानकारी दिनुभयो।
व्यवसायिक तरकारी खेतीले पोषण अवस्थामा सुधार हुनुका साथै घरखर्च व्यवस्थापन र छोरा–छोरीको पठनपाठनमा समेत राहत पुगेको किसानहरूले बताएका छन्। धर्मा डाँगी र विजुली डाँगी जस्तै तातोपानी–५ का २५ जना महिलाले समूह बनाएर तरकारी खेती गरिरहेका छन्। प्रत्येक महिलाले वर्षमा तरकारी बिक्रीबाट एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन्।
यी महिलाहरूले आफ्नै जग्गासँगै अपुग जग्गा लिजमा लिएर तरकारी खेती गरेका छन्। सहयात्रा तेस्रो परियोजनामार्फत किसानलाई आधुनिक खेती प्रविधि, रोग–किरा नियन्त्रण, बजारीकरण तथा वित्तीय साक्षरतासम्बन्धी सिप प्रदान गरिएको छ।
यद्यपि, उत्पादन प्रशस्त भए पनि सङ्कलन केन्द्र र प्रभावकारी बजारीकरणको अभावले समस्या भएको किसानहरूले गुनासो गरेका छन्। सिजनमा प्याज, टमाटर, आलु, काउली, बन्दाजस्ता तरकारी अत्यधिक उत्पादन हुने भए पनि सङ्कलन केन्द्र नहुँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ। दैनिक रूपमा डोकोमा बोकेर बजारका कुना–कुनामा पुगेर तरकारी बेच्नुपर्ने बाध्यता रहेकाले सङ्कलन केन्द्र स्थापना र कृषि एम्बुलेन्सको व्यवस्था गर्न माग गरेका छन्।
यसैबीच, शुक्रबार व्यवसायिक तरकारी खेतीको अनुगमनमा पुग्नुभएका तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले उत्पादित तरकारीको बजारीकरण र सङ्कलन केन्द्र निर्माणमा पालिकाले सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “तपाईंहरू उत्पादन गर्नुहोस्। सिँचाइ व्यवस्थापन, सङ्कलन केन्द्र र बजारीकरणको जिम्मा गाउँपालिकाले लिन्छ। चालु आवमै वडामा सानो लगानीको सङ्कलन केन्द्र स्थापना गर्ने योजना बनाएका छौँ। बाह्रै महिना तरकारी खेतीलाई निरन्तरता दिनुहोस्, पालिका सधैँ किसानको साथमा छ।”
अध्यक्ष चौलागाईले चालु आर्थिक वर्षमै व्यवसायिक तरकारी खेती गर्ने युवा, उद्यमी र किसानका लागि पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्मको सहुलियत ऋण व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो। उहाँले धान खेतीको संरक्षणसँगै व्यवसायिक तरकारी खेतीलाई अघि बढाउनुपर्ने सुझाव दिँदै, धान खेतीमा लगानी धेरै र उत्पादन कम भएकाले किसान तरकारी खेतीतर्फ आकर्षित भएको भन्दै त्यसअनुसारका कृषि कार्यक्रम पालिकाले ल्याउने स्पष्ट पार्नुभयो।






