जुम्लामा ठुली भैलोको रौनक

गाेल्डेन बुढा
जुम्ला,९ पुस।
खस सभ्यता र मौलिक संस्कृतिको जीवन्त पहिचान मानिने परम्परागत ठुली भैलो यस वर्ष पनि जुम्लाका गाउँ–बस्तीमा उत्साहपूर्वक खेलिएको छ। पुस ५ गतेदेखि सुरु भएको भैलो पुस ८ गते विधिसम्मत रूपमा सम्पन्न भएको हो। महिला–पुरुष, बुढापाका र युवाको सहभागितामा गाउँ–गाउँदेखि सरकारी कार्यालयसम्म भैलोको रौनक देखिएको छ।
जुम्लामा पुस महिनाको औँसी वा कृष्ण प्रतिपदाबाट सुरु हुने ठुली भैलोलाई हिउँदे यामको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ। ‘ए आउसी बार भैलो, दर बुधबार भैलो’ जस्ता चुट्किलासहित सामूहिक रूपमा भैलो खेल्ने चलन पुस्तौँदेखि निरन्तर छ। स्थानीयका अनुसार मंसिर पूर्णिमामा सानी भैलो सकिएपछि पुस औँसीदेखि पाँच दिनसम्म खेलिने भएकाले यसलाई ठुली भैलो भनिएको हो।जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराका हरिलाल सार्कीका अनुसार यस वर्ष पनि गाउँका बुढापाकादेखि युवासम्मको टोली खस पहिरनमा सजिएर भैलो खेल्न निस्किएको थियो। “खस पहिरनमा भैलो खेल्दा पुर्खाको संस्कृति अझै जिउँदो रहेको अनुभूति हुन्छ,” उनले भने।भैलो खेल्ने क्रममा महिला, बुढाबुढीहरूले स्थानीय लोकगीत गाउँदै आफन्तजनका घर–आँगनमा पुगेर भैलो माग्ने चलन छ। पछिल्ला वर्षहरूमा महिलाहरू फरिया, आँचला लगाएर हातमा गृह लठ्ठी बोकी भैली खेल्न थालेका छन्। भैलोबाट संकलन गरिएको चामल, दाल र नगद प्रयोग गरी भैलो समापनपछि पाटेभात (वनभोज) खाने परम्परा अझै कायम छ।
यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य भैलो खेल्ने चलन पछिल्लो समय कार्यालयसम्म फैलिनु सकारात्मक संकेत भएको बताउँछन्। “साथीसंगी भेला भएर भैलो खेल्ने र उठेको सामग्रीबाट सामूहिक भोज खाने चलन सामाजिक एकता, मनोरञ्जन र आत्मीयताको माध्यम हो,” उनले भने।खस सभ्यताका जानकार रमानन्द आचार्यका अनुसार जुम्लाका राजा बलिराजको शासनकाल, करिब बाह्रौँ शताब्दीदेखि नै हिउँदे याममा ठुली भैलो खेल्ने चलन सुरु भएको मानिन्छ। “यस परम्परालाई निरन्तरता दिन सके खस सभ्यता र मौलिक संस्कृतिको प्रवर्द्धनमा ठूलो योगदान पुग्छ,” उनले बताए। किम्बदन्तीअनुसार तत्कालीन राजारजौटाको पालामा बाज (चल) पाल्ने, युद्धकला अभ्यास र मनोरञ्जनका लागि भैलो सुरु गरिएको उल्लेख पाइन्छ।यता लोक देउडा संस्कृति समूह जुम्लाका अध्यक्ष कालिबहादुर बुढ्थापाका अनुसार केही वर्षअघि भैलो हराउँदै गएको थियो। “मौलिक पर्व जोगाउने उद्देश्यले पुनः ठुली भैली खेल्न थालिएको हो,” उनले भने। ठुली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिने उनको भनाइ छ।चन्दननाथ नगरपालिका–२ की सुर्यदेवी बुढ्थापाले पहिले चार–पाँच दिनसम्म मन मिल्ने समूह बनाएर भैली खेल्ने चलन रहेको स्मरण गरिन्। “अहिले यसको महत्त्व घट्दै गएको छ, त्यसैले गाउँका बुढापाखा मिलेर संस्कृति जोगाउने प्रयास गरिरहेका छौँ,” उनले भनिन्।यद्यपि केही वर्षयता कर्णाली राजमार्गमा सवारी चालकसँग सहयोग माग्दै भैली खेल्ने प्रवृत्ति देखिन थालेको छ, जसलाई स्थानीयले राम्रो अभ्यास मानेका छैनन्।
स्थानीय कला र संस्कृतिको संरक्षणका लागि स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने माग समेत बढ्दै गएको छ।दशकअघिसम्म जुम्लामा ठुली भैलोलाई हिउँदको सबैभन्दा महत्वपूर्ण पर्वका रूपमा मनाइन्थ्यो। अन्य चाडपर्व कम हुने हिउँदे याममा सामाजिक भेटघाट, सामूहिक मनोरञ्जन र न्यास्रोपन हटाउने माध्यमका रूपमा भैलोको विशेष भूमिका थियो। पछिल्लो समय भैलोप्रति बढ्दो चासोले जुम्लामा खस सभ्यता र मौलिक संस्कृतिको पुनर्जागरणको संकेत देखिन थालेको स्थानीय जानकारहरू बताउँछन्।






