तीन दशकपछि पुरा हुँदैछ पश्चिम सुर्खेतका नागरिकको सडक सपना

ओम शाही
सुर्खेत, ९ पुस ।
कुनै समय सुर्खेतका पूर्व र पश्चिम भेगका बासिन्दाका लागि यात्रा आफैंमा संघर्ष थियो । कच्ची बाटो, वर्षायाममा हिलाम्मे सडक र घण्टौँको यात्राले दैनिकी कठिन बनाएको थियो । २०३२ सालमा धुलियाविट गुमी भेडावारी र २०५१ सालमा बड्डीचौर–बावियाचौर–विद्यापुर– गुटु–विजौरा–वेतान–लगाम सडक ट्रर्याक खोलिएको सडक हो । राष्ट्रिय प्राथमिकतामा नपर्दा यी क्षेत्रका नागरिकहरूले वर्षौदेखि कष्टकर यात्रा गर्न बाध्य थिए । जब सुर्खेत जिल्लालाई छोएर राष्ट्रिय प्राथमिकतामा राख्दै मदन भण्डारी राजमार्ग नामाकरण गरेर धमाधम सडक निर्माणहुँदा सुर्खेतबासीलाई आशा जगाएको हो । मदन भण्डारी राजमार्ग सुर्खेतका नागरिकका लागि केवल सडक मात्र होइन, विकास र सम्भावनाको नयाँ ढोका बन्दै गएको छ ।
जिल्लाको पूर्वी भाग गुर्भाकोट नगरपालिकाको भेडावारीबाट सुरु हुने मदन भण्डारी राजमार्ग पश्चिम चौकुने गाउँपालिकाको पाल्पाघाट हुँदै सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला प्रवेश गर्छ । सुर्खेतका गुर्भाकोट, लेकवेशी, वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका प्रत्यक्ष लाभग्राही हुन् । सुर्खेतको मध्य भाग भएर पूर्व–पश्चिम जोड्ने सडकलाई जिल्लाकै ‘लाइफलाइन’ का रूपमा हेरिएको छ ।
जिल्लाभित्र मात्रै करिब १७७ किलोमिटर फैलिएको यस राजमार्गले भौगोलिक दूरी घटाउँदै नागरिकको जीवनशैलीमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ । राजमार्ग अन्तर्गत सल्यान सीमाको रैकरदेखि बड्डीचौरसम्म ८३ किलोमिटर तथा बड्डीचौर–लगाम–पाल्पाघाट खण्ड ९४ किलोमिटर सडक पर्छ । यसअघि सुर्खेत पूर्वमा पर्ने बोटेचौर–मालारानी–दाङ तुलसीपुर जोड्ने सडक अहिले घुमाएर सल्यानको बालुवासंग्रही–कुपिण्डे–श्री नगर–बाघचौरबाट रोल्पा जोडिएको छ । रैकर–बोटेचौर–भेडावारी र धुलियाविट–बाँगेशीमल–बड्डीचौर सडक खण्ड यसअघि नै कालोपत्रे भइसकेका छन् । तर बोटेचौर–मालारानी–दाङ तुलसीपुर सडक पूर्ण रूपमा कालोपत्रे भएपछि मध्य नेपालका दाङ–बुटवल–काठमाडौं जाने सवारीहरू यहीँ सडक भएर गुड्ने गरेका छन् ।

अहिले वीरेन्द्रनगरको धुलियाविट खण्डमा काम जारी छ । यो खण्डको सडक प्रि–मिक्स विधिबाट कालोपत्रे गरिएको हो । समयमै विद्युत प्राधिकरण सुर्खेतले पोल नसारिदिँदा काममा ढिलाइ भएको हो । पछिल्लो समय भेडावारी–गुमी–धुलियाविट सडक पनि कालोपत्रे भएपछि पूर्वी सुर्खेतका बासिन्दाले सहज यात्रा गर्न पाएका छन् ।
कालिका, केएस भेरासी जेभीले एक अर्ब तीन करोड लागतमा धुलियाविट–भेडावारी ३५ किलोमिटर सडक २८ असार २०७८ बाट निर्माण थालेको थियो । यति मात्रै हैन, वीरेन्द्रनगर–छिन्चु भएर कर्णालीका उत्तर–पूर्वका जिल्लाहरूमा सल्यान, रूकुमपश्चिम, जाजरकोट, डोल्पा, सुर्खेत पूर्वी भेग तथा दाङ–बुटवल र काठमाडौं जाने सवारीहरू धुलियाविटबाट मेहलकुना र बोटेचौर भएर ओहोरदोहोर गरिरहेका छन् ।
सडक कालोपत्रेसँगै स्थानीय कृषकले उत्पादन गरेको तरकारी, फलफूल र अन्न बजारसम्म पुर्याउन सहज भएको छ । समय र खर्च दुवै घट्दा स्थानीय आर्थिक गतिविधिमा उत्साह थपिएको छ । सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरसम्म पहुँच विस्तारमा टेवा पुग्ने अपेक्षा लिएको चौकुनेका स्थानीय हरी भण्डारी बताउँछन् ।
‘हिजो सदरमुकाम पुग्न दिन वित्थ्यो, अहिले यात्रा छिटो र सुरक्षित बनिरहेको छ,’ भण्डारी भन्छन्, ‘सडकले हाम्रो जीवन मात्र जोडेको छैन, हाम्रो आशा, मेहनत र सपना पनि जोडेको छ । पठ्युमा भारी, विरामी बोकेर धुलो र हिलाम्यमा कठिन यात्रा गर्दै छिचोलेको सडक अब कालोपत्रे सडक भइरहँदा सुर्खेतको विकासको नयाँ यात्रा तय गरिरहेको छ ।’
पश्चिम सुर्खेतमा पर्ने खम्बगाडे–गुटु–बल्दे–लगाम सडक निर्माणको चरणमा छ । यो खण्ड दुई प्याकेजमा निर्माण भइरहेको छ । विद्यापुर–गुटु–बल्दे खण्डको करिब २२ किलोमिटरमध्ये ११ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । ‘यसअघिको घुमाउरो सडक योजना कार्यालयले नयाँ मापदण्डअनुसार सिँधा र छिटो गन्तव्य पुग्न सकिने खालबाट निर्माण गरेको छ,’ भण्डारी भन्छन्,’खासमा राजमार्गको मापदण्ड के हो र सडक कस्तो बन्नुपर्छ भन्ने अनुभूत हुनेगरी सडक इन्जिनियरिङमा कौशलता आँखै अगाडी देखिँदा उत्साहित थपिदिएको छ ।’
बाटोको असहजता त थिया नै तर मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियरहरूले जति सकिन्छ छोटो र सिँधा बाटो बनाइरहेको देख्दा नागरिकहरू नै अचम्मित बनेको उनी बताउँछन् । १७ फागुन २०७९ देखि सुरु भएको यो आयोजना बानियाँ मोतिदान डी.एस. जेभी, काठमाडौंले विद्यापुर–गुटु–बल्दे सडक निर्माणको जिम्मा पाएको हो ।
आयोजनाको लागत एक अर्ब २१ करोड रुपैयाँ छ । निर्माण क्रममा विजौरा क्षेत्रमा करिब १६ सय मिटर सडक खण्डमा देखिएको विवादका कारण केही काम रोकिए पनि बाँकी खण्डको काम तीव्र गतिमा अघि बढिरहेको छ । विद्यापुर–गुटुखोला तथा गुटुको घुम्तीमोडदेखि विजौरा डाँडासम्म सडक कालोपत्रे गरिसकिएको मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर टोपनारायण पौडेलले जानकारी दिए । विजौरा पश्चिमदेखि बल्देसम्मको सडक कालोपत्रे सुरु गर्ने तयारी अन्तिम चरणमा छ ।
सुर्खेत पश्चिममा निर्माण भइरहेको सडक महंगो (अस्फाल्ट) प्रविधिबाट कालोपत्रे गरिएको छ । अस्फाल्टबाट कालोपत्रे गरिँदा सडक बलियो र दीर्घकालिन हुन्छ । निर्माण व्यवसायीलाई आगामी १६ फागुनसम्म काम सक्ने समयसीमा छ । यद्यपि त्यो मितिअघि नै काम सम्पन्न गर्ने लक्ष्यसहित अहिले काम भइरहेको इन्जिनियर पौडेल बताउँछन । उनी भन्छन्, ‘सडक निर्माण सम्पन्न भएपछि सुर्खेतका दुर्गम बस्तीहरू राष्ट्रिय सडक सञ्जालसँग जोडिने छन् ।’
चौर–विद्यापुर खण्ड असारसम्म कालोपत्रे
मदन भण्डारी राजमार्गको तेस्रो प्याकेज अन्तर्गत चौर खोला–पलैटे–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० किलोमिटर र बल्दे–लगाम १५ किलोमिटर गरी २५ किलोमिटर सडक निर्माण भइरहेको छ । १४ भदौ २०८४ मा सक्ने लक्ष्य लिएको सडक निर्माणका लागि दिवा यती जेभीले १४ भदौ २०८१ मा सम्झौता गरिएको हो । यो सडकको लागत १ अर्ब ३६ करोड छ । दिवा यती जेभी काठमाडौंले निर्माण गरिरहेको सडकको बल्दे–लगाम खण्डमा कटिङको काम जारी छ । शीमलखेत नजिकसम्म कटिङ भइरहेको छ ।
‘आगामी चैतसम्म लगाम बजार नजिकैसम्म कटिङको काम सकिन्छ,’ इन्जिनियर पौडेल भन्छन्, ‘कटिङ सकिएको क्षेत्रमा नाली, वाल र कल्भर्ट निर्माण भइरहेको छ ।’ चौर खोला–विद्यापुर डाँडासम्मको १० किलोमिटर सडक आगामी असार अगावै कालोपत्रे सक्ने लक्ष्यका साथ बेस विछ्याउने र चत्तुरेदेखि चौर खोलाको खण्डमा कटिङ लगायतका काम भइरहेको उनी बताउँछन् । राजमार्गको सुर्खेत खण्डमा २३ ओटा पक्की पुल निर्माण गर्नुपर्नेछ । यीमध्य १३ पुल सुर्खेत पूर्व र १० वटा सुर्खेत पश्चिम खण्डमा पर्दछन् ।
हालसम्म १६ पक्की पुल निर्माण सम्पन्न गरेर सवारी सञ्चालन भइसकेका छन् । सुर्खेत पूर्वी खण्डमा १३ वटा पक्की पुल ४० करोड ४५ लाख लागतमा निर्माण गरिएको छ । भुगुती, काली, खत्री, गुर्जी, बेतनी, खहरे, राते, बेवारे, कागते, थोत्री, गंगटे र रानीमत्ते खोलामा नयाँ पुल निर्माण गरिएको छ । यी पुलहरू केएस कन्ट्रक्शन र हिम सगरमाथाले निर्माण गरेका हुन् ।
विद्यापुर, गुटु र ब्यूरेनी खोलामा पुल निर्माणको काम सकिएको छ । विद्यापुर खोलाको पुल तीन करोड ४६ लाख, गुटु खोलाको पुल पाँच करोड र ब्यूरेनी खोलाको पुल तीन करोड ६० लाख लागतमा निर्माण गरिएको हो । पञ्चपुरी नगरपालिकाको स्यालीघाट, चत्तुरे, बरैचे, सलाम दुवे खोला, चौकुने गाउँपालिकाको सिमल खेत र लेमु खोलामा पक्की पुल निर्माण गर्नुपर्नेछ ।
६ वटा पक्की पुलको विस्तृत प्रतिवेदन परियोजना र वातावरणीय प्रभाव मूल्यांकन कार्यालयले तयार गरेर मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा पठाइसकेको छ । प्रतिवेदन आउन बाँकी रहेकाले त्यसपछि डिजाइनको प्रक्रियामा जानेछ । डोटी र सुर्खेत जोड्ने चौकुने गाउँपालिका–१ पाल्पाघाटस्थित कर्णाली नदीमा पक्की पुल निर्माण गर्न कार्यालयले प्रस्ताव पेश गर्न प्रक्रिया थालेको छ । पाल्पाघाटमा पक्की पुल निर्माणपछि राजमार्ग सुदूरपश्चिमको डोटी जोडिनेछ । डोटीको पिपिनगर जोड्ने लक्ष्य राखिएको सडकको डोटी खण्डको झण्डै ४४ किलोमिटर नयाँ बनाउनुपर्नेछ । डोटी खण्डमा ठुलीघाट किनारै किनार लैजाने की मुलेचौरहुँदै बाघछेडाबाट विपिनगर जोड्ने भन्ने अझै टुंगो लागेको छैन् ।
डोटी र सुर्खेतस्थित कर्णाली नदीमा पर्ने पाल्पाघाट पुल निर्माण र डोटी खण्डमा सडक बनेमा सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी तथा बाजुरा र अछामका पश्चिम र कैलालीका उत्तरी भेगका नागरिकहरुलाई सुर्खेत भएर दाङ, बुटवल, काठमाडौं लगायतका शहर पुग्न छोटो हुनेछ । मदन भण्डारी राजमार्गले केवल सडक निर्माण मात्र नभई पश्चिम सुर्खेतका गाउँ–बस्तीमा जीवनको दूरी घटाउँदै, अवसर र आशाको बाटो पनि खोलेको छ । पहिले घण्टौँ लाग्ने यात्रा अब छिटो र सुरक्षित भएको छ, जसले स्थानीय बासिन्दाको दैनिकी, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिमा नयाँ गति थपेको छ ।






