आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली, ५ भदौ ।
बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउँछन । त्यसपछि तयार भएको मादलमा खरी लगाउने, सुकाउने र डोरी कस्छन । नारीहरूले सौभाग्य र समृद्धिका निम्ति धार्मिक परम्परानुसार शिवपार्वतीको उपासना एवं पूजा गर्ने तीज नजिकिएसँगै उनको व्यस्तता बढेको हो । मादलको मौस मादल बनाउने र बेच्ने फुर्सद हुँदैन ।
शिल्पी तीर्थको सानो कच्ची घर छ । समीपको अर्को कटेरोलाई उनले मादलको गोदाम बनाएका छन् । उनले त्यो गोदाममा बेच्नका लागि ठिक्क पारेका एक दर्जनबढी मादल राखेका छन् । मादल बनाउनको लागि तयार पारेका काठका घार पनि भण्डार गरेका छन् । “एउटा मादल साधारणतया तयार गर्न ४ दिने लाग्ने गर्दछ । तर मादल बनाउँदा एक दिन घार तयार पार्ने, अर्को दिने कस्ने र खरी लगाउने गरिन्छ । खरी लगाएको मादललाई सुकाएर ‘फिनिसिङ’ गर्नुपर्छ”, उनले भने ।
मादल बनाउने काठ अभाव भएको उनको गुनसो छ । रिट्ठा र आँपको काठमा कला भर्ने उनी बाख्रा, राँगाको छाला र खरीढुङ्गाबाट मादल उत्पादन गर्ने गरेको बताउँछन । “मादल बेचेर वार्षिक छ लाखसम्म आम्दानी हुने गरेको छ । सात जनाको परिवार यसैले पालेको छु”, एउटा मादले रु तीन हजारदेखि रु १५ हजार सम्ममा बिक्री हुने गरेको जानकारी दिँदै १६ वर्षदेखि मादल बनाउँदै आउनुभएका तीर्थले भने ।
स्थानीय सरकारको सहयोग पाएमा मासिक ५० वटा मादल उत्पादन गर्न सकिने बताउँदै उहाँले आधुनिक बाजाले आफूहरूको पेसा सङ्कटमा परेको सुनाए । बल्चौरकै अर्को मादल व्यवसायी किस्न बादी पनि मादल बनाउन व्यस्त हुन्छन् । तीजमा मादलको माग बढ्ने भएकोले उनलाई चटारो छ । भएको सुनाउँछन । किस्न बादीको पनि मुख्य आयस्रोत मादल बेच्ने नै भएको सुनाउँछन । बजारको आधुनिक मादलले आफ्नो पेसा नै सङ्कटमा परेको सुनाउँदै किस्न बादी व्यावसाय सञ्चालनका लागि स्थानीय र प्रदेश सरकार संग सहयोगको समेत अपेक्षा गरेका थिए । उनले मादल बेचेरै वार्षिक ३/४ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताउँछन ।
बादी समुदायले लामो समयदेखि मादल, दमाहा ठेकी, सुल्फा, हुक्का बनाएर जीविकोपार्जन गर्दै आएको भए पनि हाल आफ्नो पेसा सङ्कटमा परेको दुखेसो उनले गरे । उनले आफ्नो पीडा सुनाउँदै भने, “हिजोआज वनबाट मादल बनाउने काठ ल्याउन पाइँदैन ।” बादी समुदायले परम्परागत पेसाका रूपमा मादल बनाउँदै आएकामा समाजमा आधुनिक बाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाको प्रयोग घट्न थालेपछि बादी समुदायको बाजा बनाउने पेसा सङ्कटमा परेको लम्कीचुहा नगरपालिका–३ बल्चौरका रमेश बादीले बताए ।
लम्कीचुहा नगरपालिका–३ बल्चौरमा बादी समुदायका एक सय ७१ घर छन् । विगतमा घुमन्ते जीवन बिताउँदै आएको उक्त समुदायले स्थायी रूपमा बसोबासको सुनिश्चितता भए पनि रोजगारीको अभावमा छिमेकी मुलुक भारतलाई रोजीरोटी आर्जनको थलो बनाएका छन् । यद्यपि यो समुदायका केही सदस्य मादललगायत बाजाका साथै घरेलु हतियार हँसिया, खुकुरी, बन्चरो, खुर्पा तथा कृषि औजार बनाएर परम्परागत पेसालाई निरन्तरता दिइरहेका छन् । बजार अभावमा आफूहरूलाई टिक्न कठिन भएको उनीहरूको गुनासो छ ।
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुर, ४ भदौ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिचाँइ कुलो निर्माण गरेको छ । कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले जानकारी दिए ।
उनका अनुसार ठेक्कामार्फत शुक्लाफाँटा नगरपालिका–८ र बेदकोट नगरपालिका–७ र ८ मा दुई हजार आठ सय ७५ मिटर कुलो निर्माण गरेको हो । साथै उपभोक्ता समितिमार्फत एक हजार २७ मिटर कुलो निर्माण गरिएको छ । “गत आवमा सम्पन्न कुलोबाट ७५ हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध भएको छ, २८७ मिटरमा मुहान संरक्षण र तीन वटा पोखरी निर्माण गरिएको छ”, प्रमुख विष्टले भने । उनले तटबन्धमार्फत आठ हेक्टर जग्गा संरक्षण गरिएको समेत उल्लेख गरे ।
उनले एक हजार १२४ मिटर ठेक्का र चार हजार ८६८ मिटर तटबन्ध उपभोक्ता समितिमार्फत निर्माण गरिएको बताए । “यहाँको चौधर र पथरीया नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरेका छौँ, गत आवमा कार्यालयले सिँचाइ संरचना र तटबन्ध निर्माणमा ९५ प्रतिशत भौतिक प्रगति गरेको छ”, उनले भने । उनका अनुसार तटबन्ध तथा बाँध निर्माणमा रु १२ करोड १४ लाख ८२ हजार खर्च भएको छ । साथै सिँचाइ संरचना निर्माणमा रु दुई करोड ६३ लाख २० हजार खर्च भएको छ ।





