स्थायी जागिर भन्दा पशु प्राविधिक हरिबहादुरकाे भविष्य बगैंचामा

गाेल्डेन बुढा

जुम्ला,६ पुस

बिहानको चिसो हावासँगै जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारी गाउँकाबाडामा हरिबहादुर कामीको बगैंचामा स्याउका पात हल्लिन्छन् । ती पातसँगै हल्लिएका छन्।उनका तीन दशकका सपना, पसिना र संघर्षका पाइला। जहाँ अरूले दुर्गम देखे, त्यहीँ उनले सम्भावना देखे।३ हजार ७ सय ८० वर्गमिटर क्षेत्रफलको जग्गामा फैलिएको बगैंचा आज उनको मात्रै होइन, सात जनाको परिवारको भविष्यको आधार बनेको छ । ३२ वर्षअघि सुरु गरेको कृषि कर्म आज ‘राजेश पब्लिक फलफूल नर्सरी एण्ड स्याउ प्रशोधन उद्योग’का रूपमा फैलिएको छ ।

यही बगैंचाले उनका छोराछोरीको शिक्षा, घरको खर्च र आत्मसम्मान जोगाइरहेको छ ।कामी स्याउ, ओखर, नास्पति, चुली, खुर्पानी र आरु उत्पादनसँगै बिरुवा व्यवसायमा लागेका छन्। अघिल्लो वर्ष मात्रै उनले करिब ५२ लाख रुपैयाँ आम्दानी गरे। गतवर्ष उनले १० हजार ओखरका बिरुवा बिक्री गरे । प्रति बिरुवा २ सय ५० रुपैयाँका दरले बिक्री हुँदा २५ लाख रुपैयाँ आम्दानी भयो । यस्तै २० हजार स्याउका बिरुवा बेचेका थिए। झन्डै ९ लाख बढी कमाई गरे।थिन्सेल एसले ‘हात्ले जात’का ओखर बिरुवा काभ्रेपलाञ्चोकदेखि मुस्ताङसम्म पुगे । नास्पति, चुली, खुर्पानी र आरुका १० हजार बिरुवा प्रति बिरुवा ४५ रुपैयाँमा बिक्री हुँदा थप ४ लाख ५० हजार रुपैयाँ हात पर्यो । स्याउका रेड र डेलिसियस गोल्डेन जातका बिरुवा पनि देशका विभिन्न जिल्लामा पुगेका छन् ।उनको बगैंचामा अहिले २ सय ७६ वटा फल्ने स्याउका बोट छन् ।वार्षिक ५ देखि ७ लाख रुपैयाँ आम्दानी हुन्छ । १ सय ६० वटा फल्ने ओखरका बोटबाट ४ देखि ५ लाख रुपैयाँ बराबरको उत्पादन हुन्छ।केवल आम्दानी होइन, जुम्लाको माटोमा लुकेको सम्भावना देखाउँछ।हाल हरिबहादुर जुम्लाको दुर्गम पातारासी गाउँपालिका अन्तर्गतको पशु भेटेरिनरी शाखामा प्राविधिकका रूपमा कार्यरत छन् । तर उनी भन्छन्, “मेरो मासिक तलब ५० हजार रुपैयाँ मात्रै हुन्छ । त्यसले जीवन चल्दैन । छोराछोरीको पढाइ, घरखर्च,सबै यही फर्मले धानेको छ । जागिर त देखाउने मात्रै हो ।”उनको परिवारका लागि खेती रोजगारी मात्र होइन, दर्शन बनेको छ । जेठा छोरा राजेश कामी अहिले कृषि विकास अधिकृतका रूपमा जुम्लाकै तिला गाउँपालिकामा कार्यरत छन् । माइलो छोरा भुवन कामी काठमाडौंमा बीएस्सी फरेष्टी अध्ययन गर्दैछन्

। छोरी भविसरा कामी आईएसीजी पढिरहेकी छन्। बाबुको पसिनाले सिँचिएको बगैंचाबाटै उनीहरूको सपना पलाइरहेका छन् ।हरिबहादुर कामी भन्छन्, “जुम्लामा केही हुँदैन भन्ने सोच गलत हो । माटो चिन्न सकियो ?भने यही माटोले जीवन बदल्छ ।” दुर्गम भूगोल, सीमित सुविधा र बजार अभावका बीच पनि उनले हार मानेनन् । आज उनको बगैंचा जुम्लाको पहिचान बनेको छ।जहाँ फल मात्र होइन, आशा पनि फल्छ ।जुम्लाका धेरै युवालाई शहर पलायनबाट रोक्ने एउटा जीवित उदाहरण हुन्। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्ष ०८२÷०८३ को तथ्यांक हेर्दा ४ सय ९१ जनाले राहदानी फाराम भरेका छन् । यस्तै आर्थिक वर्ष ०८१÷०८२ मा १ हजार ९४ जना छन्,भने २०८०÷०८१ काे तथ्यांकले १ हजार २ सय २५ जनाले राहदानी लिएकाे पाइएको छ।संघर्षबाट भाग्ने होइन, सम्भावनालाई रोप्न जान्नुपर्छ ।उनी भन्छन्।

स्थायी जागिर भन्दा पशु प्राविधिक हरिबहादुरकाे भविष्य बगैंचामा

घुँयत्राे:एकै दिन ओलीलाई माला, रविलाई ताला खुल्यो:

स्थायी जागिर भन्दा पशु प्राविधिक हरिबहादुरकाे भविष्य बगैंचामा

हवाई सेवा सुधारका लागि जुम्लामा छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds