मधेशी समुदायका किशोरी शिक्षाबाट बञ्चित

बाँके, ३ असोज ।
मधेशी समुदायमा अझै पनि अभिभावकको सोचमा परिवर्तन नआउँदा किशोरीहरू उच्च शिक्षाबाट वञ्चित हुने अवस्था रहेको देखिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बाँकेको जानकी गाउँपालिका–२ मा महिला तथा किशोरीसँग गरेको समुहगत छलफलमा सहभागी महिलाहरूले आफ्ना पीडा सुनाएका थिए । उनीहरूले गाउँघरमा महिलाको आवाजलाई पुरुषहरूले बेवास्ता गर्ने मात्र नभई किशोरीहरूलाई शिक्षा बाटोमै रोक्ने गरिएको गुनासो गरे ।

जानकी गाउँपालिका–२ की किशोरी इन्दु भाटले भनिन्, “गाउँमा कुनै किशोरी केटासँग भाग्यो भने बाँकी सबैलाई शंका गरिन्छ, निगरानीमा राखिन्छ र कलेज पढ्नै नदिइन्छ । अभिभावक सचेत नभएसम्म हाम्रो भविष्य अन्धकारमै रहन्छ ।”
१२ कक्षा पास गरेकी भाटले उच्च शिक्षा अध्ययन गरेर समाजमा केही योगदान गर्ने सपना बोकेकी थिइन् । तर अभिभावकको नकारात्मक सोचका कारण अध्ययन रोकिएपछि अहिले चिन्तित छन् । उनले भनिन्, “पढ्ने ठूलो इच्छा थियो, तर आमाबुवाले साथ नदिँदा हाम्रो जीवन नै बरबाद भइरहेको छ ।”
छलफलमा वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले मधेशी समुदायका धेरै अभिभावक अशिक्षित भएकाले उनीहरूको चेतनास्तर बढाउन आवश्यक रहेको बताए । साथै, महिला हिंसाविरुद्ध बनेका कानुनलाई पूर्ण कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट लगायतको सहभागिता थियो । महिला कानुन र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले स्थानीय तहमा महिला तथा बालिकामाथी हुने हिंसा न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाका कार्यकारी निर्देशक राकेश कुमार मिश्रका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र बर्दियाको बढैयाताल गाउँपालिकामा महिला तथा बालिका सम्बन्धी ऐन, नीति र कार्यविधि निर्माणका प्रक्रिया अगाडि बढाइँदैछ ।






