जुम्लामा ९ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’

गाेल्डेन बुढा
जुम्ला ,४ पुस।
जुम्लामा ६ देखि ५९ महिनासम्मका ९ हजार १ सय १९ जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ। गत कात्तिक २० र २१ गते जिल्लाभर सञ्चालन गरिएको अभियानअन्तर्गत भिटामिन ‘ए’ खुवाइएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।कार्यालय प्रमुख किरण शर्माका अनुसार जिल्लामा ७ हजार १ सय ६८ बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य लिइएको थियो। तर लक्ष्यभन्दा बढी बालबालिकाले सेवा पाएका छन्। भिटामिन ‘ए’ खुवाइएका बालबालिकामध्ये ४ हजार ६ सय ६ जना बालक र ४ हजार ५ सय १३ जना बालिका छन्।जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाभित्रका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको हो। विवरणअनुसार कनकासुन्दरी गाउँपालिकामा ५ सय १८ बालक र ५ सय ३७ बालिका, सिंजामा ४ सय ६९ बालक र ३ सय ९४ बालिका, हिमामा ४ सय ५८ बालक र ५ सय १२ बालिका, तिलामा ६ सय ५४ बालक र ५ सय ५१ बालिका तथा तातोपानीमा ६ सय ३ बालक र ६ सय २५ बालिकाले भिटामिन ‘ए’ पाएका छन्।यस्तै चन्दननाथ नगरपालिकामा ७ सय ८२ बालक र ६ सय ६९ बालिका, गुठिचौर गाउँपालिकामा ३ सय ९४ बालक र ४ सय ५६ बालिका तथा पातारासी गाउँपालिकामा ७ सय २८ बालक र ७ सय २९ बालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ।यसैगरी, १२ देखि ५९ महिनासम्मका ७ हजार ९ सय ५९ जना बालबालिकालाई जुकाको औषधि खुवाइएको जनाइएको छ।
जुकाको औषधि खुवाउने लक्ष्य ७ हजार १ सय ७८ बालबालिकाको रहेको थियो।स्वास्थ्य सहायक सुरेश पन्तका अनुसार कनकासुन्दरीमा ४ सय ६२ बालक र ४ सय ७ बालिका, सिंजामा ३ सय ९२ बालक र ३ सय ६७ बालिका, हिमामा ४ सय ३५ बालक र ४ सय ३६ बालिका, तिलामा ५ सय ९० बालक र ५ सय २५ बालिका तथा तातोपानीमा ५ सय ४ बालक र ५ सय ४८ बालिकाले जुकाको औषधि सेवन गरेका छन्।चन्दननाथ नगरपालिकामा ६ सय ११ बालक र १ हजार २ सय ८९ बालिका, गुठिचौरमा ३ सय ९६ बालक र ७ सय ४६ बालिका तथा पातारासी गाउँपालिकामा ६ सय ५७ बालक र ६ सय १ बालिकालाई जुकाको औषधि खुवाइएको उनले बताए।
स्वास्थ्यकर्मीका अनुसार भिटामिन ‘ए’ र जुकाको औषधिले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने, कुपोषण तथा आँखासम्बन्धी समस्या कम गर्न सहयोग पुग्ने गर्दछ।जनस्वास्थ्य कार्यालय प्रमुख किरण शर्माका अनुसार “जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामा समन्वय गरेर अभियान सञ्चालन गरिएको थियो। दुर्गम बस्तीका बालबालिका छुट्न नदिन स्वास्थ्यकर्मी र स्वयंसेविका परिचालन गरियो, त्यसैले उपलब्धि उत्साहजनक भयो।”अभियानको अर्को उल्लेखनीय पक्ष भनेको बालिकाको सहभागिता हो।






