अन्तरिम सरकारको प्रतिनिधि  छान्न जेन–जीमै भाँडभैलो बलियो बन्दै संविधान रक्षाको आवाज

ओम शाही

सुर्खेत, २७ भदौं ।

सामाजिक सञ्जालमाथिको प्रतिवन्ध, भ्रष्टाचार, अनियमिताविरुद्ध २२ भदौमा जेन–जी पुस्ताले थालेको आन्दोलनले अझै सुरक्षित अवतरण गरिसकेको छैन । जेन–जी प्रदर्शनकारीमाथी २३ भदौमा प्रहरीले बल प्रयोग गर्दा सोही दिन १९ जनाले ज्यान गुमाएका थिए । त्यसको बदला लिन सडकमा उत्रिएको नवयुवा शक्तिले सरकार त ढाल्यो ढाल्यो, तर योसँगै संसद भवन, सिंहदरबार, सर्वोच्चलगायतका सार्वजनिक सम्पत्ति क्षत्‌विक्षत् बनाइ दिएको छ ।

सातै प्रदेशमा सरकारका संरचनामाथि जेन–जी आन्दोलनका नाममा व्यापक तोडफोडसँगै आगजनी भयो । जसका कारण अरबौंका भौतिक संरचनासँगै महत्वपूर्ण सरकारी दस्तावेज ध्वस्त भएका छन् । त्यस्तै, निजी सम्पत्तिमाथिको व्यापक लुटपाट र आगजनीले जेनजीमाथिको भरोसामा प्रश्न उठाइ दिएको छ । अहिले विभिन्न समूहमा बाँडिएका जेनजीहरूले नै भनिरहेका छन्, हाम्रो उद्देश्य सरकारलाई घुँडा टेकाउने थियो, टेकाइयो पनि । तर, हाम्रो नाम गरेर अलग तत्वले फाइदा लिए, त्यसको छानबिन होस् । तिनलाई कानून अनुसार दण्ड गरियोस् ।

विशेष गरी सामाजिक सञ्जालमाथिको प्रतिवन्धकै कारण एकाएक सडकमा आएका जेन–जीले अहिलेको अवस्था आउने कल्पनासमेत गरेका थिएनन् । शान्तिपूर्ण आन्दोलनले उग्ररुप लिएपछि अन्नत दुई पार्टी मिलेर बनेको शक्तिशाली सरकार २४ घण्टामै पाखा लागेको छ । प्रधानमन्त्रीले राजिनामा दिएसँगै अहिले उनै जेन–जीहरु अब कसरी अघि बढ्ने भन्नेमा विभाजित बन्दै गएका छन् ।

सरकार नेतृत्वविहिन बनेसँगै देशको शान्ति सुरक्षाको जिम्मा नेपाली सेनाको जिम्मामा छ । नयाँ सरकार बनाउने विषयमा जेन–जीहरुले फरक–फरक धारणा सार्वजनिक गरिरहेका छन् । एक थरीले पूर्वन्यायधिस सुशीला कार्की, काठमाण्डौंका मेयर बालेन शाहलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने गरी सेनासँग लविङ गरिरहेको छ भने अर्को थरीले कार्कीलाई कुनै हालतमा मान्न नसकिने बताउँदै आएको छ । अर्को थरीले कुलमान घिसिङ, धरानका मेयर हर्क साङपाङ लगायतकाको नाम बोकेर हिँडिरहेका छन् । अर्को थरीले राजतन्त्रको मुद्दा बोकेर हिँडिरहेको देखिन्छ ।

केहीले विबादास्पद छविका व्यवसायी दुर्गा पर्साइलाई बोकेर हिँडेका छन् । बिहिबार यहीँ विषयमा जेन–जीहरु बीचनै सैनिक मुख्यालय जंङ्गी अड्डाअघि कुटाकुट भएको छ । उनीहरूबीच कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति नहुँदा झडप भएको हो । यसले वर्तमान राजनीतिप्रति वितृष्णामा रहेका जेन–जी कै कारण बाह्य शक्तिले खल्ने ठाउँ बन्ने चिन्ता बढाएको छ । राष्ट्र प्रमुखका हैसियतले राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनको प्रक्रिया आह्वान गर्नुको साटो नेपाली सेनाले सरकार गठनको प्रक्रिया थाल्नुले संविधान नै मासिने खतरा बढेको आवाजहरु बुलन्द हुन थालेका छन् ।

यसै परिदृश्यलाई ध्यानमा राखेर विभिन्न राजनीतिक दल निकट भातृ संगठनहरुले संविधान मास्ने प्रयास भए अर्को विद्रोह हुने चेतावनीसहितका विज्ञप्तीहरु सार्वजनिक गर्न थालेका छन् । जेन–जीहरु विभाजित बनेर नयाँ सरकार गठन गर्दा संविधानबाहिर नजान नेपाली कांग्रेसनिकट नेपाल तरुण दल, नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल, नेकपा माओवादी केन्द्रको योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेकपा (एकीकृत समाजवादी)को युवा संघ नेपाल र नेकपा (मसाल) निकट अखिल नेपाल युवक संघले बिहिबार भर्चुअल बैठकपछि संयुक्त प्रेस विज्ञप्तिमार्फत माग गरेका छन् ।

आगामी राजनीतिक निकास संविधानभित्रैबाट निकाल्नु पर्ने माग उनीहरुको छ । नेपाल तरुण दलका सभापति विद्वान गुरुङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, वाईसीएल अध्यक्ष पुष्प ओली,  युवा संघ नेपालका अध्यक्ष रोशन थापा र अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीको हस्ताक्षर रहेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जेन जी युवाहरूसमेत वर्तमान संविधानको रक्षा गर्दै अघि बढ्ने कुरामा जोड दिइरहेको सन्दर्भमा आगामी राजनीतिक निकास लोकतान्त्रिक मूल्यमान्यताको अधिनमा रहेर मात्र गरिनुपर्नेमा जोड दिन चाहन्छौं । कुनै पनि नयाँ परिवर्तनतर्फ अग्रसर हुँदै गर्दा ठूलो बलिदानीमार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्यहरूलाई कमजोर नबनाइने र तिनको रक्षा हुने व्यवस्था हुनुपर्छ भनेर जोडदार माग गर्दछौं ।’

यी संगठनले केही दिनयताका घटनाहरूबाट स्तब्ध र गम्भीर भएको बताएका छन् । आन्दोलनका क्रममा भएका हत्या, तोडफोड र आगजनीका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीमाथी कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्न माग उनीहरूले माग गरेका छन् । ‘हामी जेन–जीले प्रस्तुत गरेका प्रमुख मागहरू– भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता प्रति समर्थन जनाउँदछौं र उक्त मागहरूको सम्बोधन लागि पहल गर्दै आएको कुरा स्मरण गराउँदछौं । भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीहरूलाई कानुनी प्रक्रियामार्फत सजाय दिनुपर्ने कुरामा हाम्रो दृढ समर्थन रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

कर्णालीमा पनि संविधान रक्षार्था उठ्यो आवाज

जेन–जी आन्दोलनका कारण देशमा सिर्जित अवस्थालाई संविधानको मर्मअनुरुप नै समाधान गर्नुपर्ने आवाज कर्णालीबाट पनि उठ्न थालेको छ । बिहिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले र कांग्रेस निकट युवा संघ र विद्यार्थी संगठनहरुले संविधानको रक्षार्थ सांकेतिक प्रदर्शन सुरु गरेका छन् ।

उनीहरुले मध्यपश्चिम विश्वविद्यालयमा बिहिबार सांकेति प्रदर्शन गरेका हुन् । एमाले निकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशका अध्यक्ष जीवन शाहीले २०७२ को संविधानको बर्खिलापमा गएर गरिने कुनै पनि क्रियाकलाप स्वीकार्य नुहुने भन्दै सांकेतिक प्रर्दशन सुरु गरिएको बताए । जेन–जीका नाममा भएको आन्दोलनमा वैदेशिक शक्तिबाट संविधान नै मास्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध प्रतिवाद गर्न सांकेतिक प्रदर्शन थालिएको शाहीले बताए ।

देश विषम परिस्थितीमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने, ‘यति बेला विदेशी शक्तिको इसरामा राष्ट्रपतिलाई नजर बन्दमा राखिएको छ । नेपाली सेनाले नेपालको हितभन्दा पनि बाह्य शक्तिको चाहाना अनुरुप एक कदम पछि हटेर काम गरिरहेको छ । यो नेपाली जनताका लागि कदापी स्वीकार्य हुँदैन । यसको हामी डटेर सामना गर्छौ ।’

संविधानसम्मत निकास खोज्न एमाले सुर्खेतको माग

नेकपा एमाले सुर्खेतले पनि वर्तमान राजनीतिक गतिरोध संविधानको अधिनमै रहेर अन्त्य गर्नुपर्ने बताएको छ । एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्ष कुलमणी देवकोटाले एक विज्ञप्ती सार्वजनिक गर्दै वर्तमान राजनीतिक संकटको निकास संविधानसम्मत विधि, लोकतान्त्रिक मुल्यमान्यता र अग्रगामी रुपान्तरणको जगमा हुनुपर्ने बताएको छ ।

लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्य–मान्यता, सामाजिक न्याय, विधिको शासन र रूपान्तरणकारी आन्दोलनप्रति अविचलित रहन धैर्य, सजक र संयमित रहन आम जनसमुदायलाई एमाले सुर्खेतले भनेको छ ।

‘जेन जी पुस्ताका युवाहरूको आह्वानमा उठेको भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाउनुपर्ने लगायतका बिषयमा केन्द्रीत आन्दोलन र देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं । ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ एमाले सुर्खेतद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सार्वजनिक सम्पत्ति, ऐतिहासिक स्थल, राजनीतिक दलका कार्यालय, र विभिन्न व्यक्तिका निजी सम्पत्ति, वित्तिय संस्था, उध्योग, धन्दा, कल कारखाना, सवारि साधनहरुमा भएको आगजनी, तोडफोड, लुटपाट र हिंसाका घटनाप्रति एमाले सुर्खेतले दुख व्यक्त गरेको छ । यस्ता अवान्छित घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीहरु माथि कडा कानूनी कारवाही र उचित क्षतिपूर्ति सुनिश्चित माग गरिएको छ ।

‘भविष्यमा यस्ता दुःखद घटना नदोहोरिने वातावरण तयार गर्नु हाम्रो साझा कर्तव्य हो । यस विषम परिस्थितिमा धैर्य र संयमता अपनाउँदै समाजमा शान्ति, अमन चयन र सामाजिक सद्भाव कायम राख्न सबैको सक्रिय पहल आवश्यक छ,’ विज्ञप्तीमा भनिएको छ ।

 

अन्तरिम सरकारको प्रतिनिधि   छान्न जेन–जीमै भाँडभैलो  बलियो बन्दै संविधान रक्षाको आवाज

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक

अन्तरिम सरकारको प्रतिनिधि   छान्न जेन–जीमै भाँडभैलो  बलियो बन्दै संविधान रक्षाको आवाज

सम्पादकीय : राजनीतिक संकटको निकास संविधानबाटै खोजौँ

Leave a comment

Your email address will not be published. Required fields are marked *