जुम्ला सहकारीकाे भद्रकालीमा अर्गानिक ‘कोसेली घर’

गाेल्डेन बुढा
जुम्ला ,२५ मंसिर।
कर्णाली प्रदेशका रैथाने अर्गानिक उत्पादन अब राजधानीमा सजिलै उपलब्ध हुने भएका छन्। जुम्लामा केन्द्रीय कार्यालय रहेको चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले काठमाडौं महानगरपालिका-११, भद्रकालीमा आफ्नो चौथो आउटलेट ‘कोसेली घर’ सञ्चालनमा ल्याएको छ। बिहीबार आयोजित उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले नयाँ पहलको प्रशंसा गर्दै किसान र उपभोक्ताबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे।कोसेली घरमा कर्णालीमा उत्पादित ४२ भन्दा बढी प्रकारका अर्गानिक तथा रैथाने कृषिजन्य उत्पादनहरू राखिएका छन्।
यहाँ मार्सी चामल, सिमी, चिनो, कागुनो, जौंको सातु, फापर,काेदाेको पिठो, टिमुर, जिम्बु, मह, घ्यु,शिलाजीत, रैथाने राडीपाखी, खरायोको टोपी, भट्टमासलगायत स्थानीय विशेषताका उत्पादन उपभोक्ताले प्रत्यक्ष किन्न सक्नेछन्।उद्घाटन गर्दै अध्यक्ष पोखरेलले भने, “सहकारीले किसानको उत्पादन संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। कोसेली घरले किसान र उपभोक्ताबीचको दूरी घटाउँदै कर्णालीको उत्पादनलाई राष्ट्रिय बजारमा पुर्याउने काम गर्छ।”यता सहकारी अध्यक्ष विष्णु बुढाले पनि यस पहलको उद्देश्य स्पष्ट पार्दै भने, “कर्णालीका रैथाने उत्पादनहरूलाई सुरक्षित राख्नु, प्रवर्द्धन गर्नु र सस्तो मूल्यमा उपभोक्तासम्म पुर्याउनु हाम्रो प्राथमिकता हो। यो कदमले किसानको आम्दानी बढाउनेछ र स्थानीय अर्थतन्त्रलाई सघाउनेछ।”यता चन्दननाथ सहकारीको कार्यकारी प्रमुख ऋषिराम पाण्डेका अनुसार हाल २२ हजारभन्दा बढी सदस्य छन्। “सदस्यहरूले आफ्नो उत्पादन नगदको सट्टा मिनी मार्केटमा राखेर पनि बचत गर्न सक्ने व्यवस्था छ। किसानहरूले आफ्नै उत्पादन सिधै बजारमा ल्याएर बेच्न पाउँदा मध्यस्थको शुल्क कटाउने समस्या हट्छ,” पाण्डेले बताए।यसअघि सहकारीले जुम्ला सदरमुकाम खलंगा, सुर्खेत विमानस्थल र कर्णाली राजमार्ग अन्तर्गत नाग्मा मुगु सडक खण्डको नाग्म बजारमा मिनी मार्केट सञ्चालनमा ल्याइसकेको थियो।
राजधानीमा कोसेली घर सञ्चालन भएपछि कर्णालीका कृषकको उत्पादन राजधानीसम्म पुग्ने र उपभोक्ताले गुणस्तरीय र सस्तो उत्पादन पाउने संभावना थपिने विश्वास गरिएको छ।कृषि विज्ञहरूका अनुसार, यस्तो पहलले केवल कृषकको आय बढाउने मात्र होइन, स्थानीय परम्परागत उत्पादनको संरक्षण, अर्गानिक उत्पादन प्रवर्द्धन र ग्रामीण रोजगार सृजनामा पनि योगदान पुर्याउनेछ।



