शिशुको घटना स्थलमै मृत्यु : आमा आर्थिकअभावले आईसीयूमै अचेत छन्

गाेल्डेन बुढा

जुम्ला,२५ मंसिर ।
जुम्लाको घर-परिवारमा बिहानको चिया तताउन,पिउन होस् वा चुलोमा खाना पकाउन दाउरा बिना दैनिकी चल्दैन। कार्तिकदेखि माघसम्मको कठोर चिसो मौसममा दाउरा संकलन महिलाहरूको नियमित श्रमजस्तै देखिन्छ। यही दैनिक श्रमले जुम्लाकाे सिंजा गाउँपालिका-२, चुलेलकी २४ वर्षीया उब्जा वडलाई भने असह्य दुर्घटना बोकाइदियो।

मंगलबार बिहान धाेराचाैर जंगलमा बच्चालाई बाेकेर दाउरा काट्न गएकी उब्जा रूखबाट खस्दा उनको चार महिनाका छोरा चन्द्रमल वडको घटनास्थलमै मृत्यु भयो। उब्जा भने गम्भीर घाइते अवस्थामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अचेत छिन्।घरदेखि झन्डै दुई घण्टा टाढा रहेको जंगलमा उनी एक्लै दाउरा काट्न गएकी थिइन्। उनका पति ललीबहादुर वड भारतको कालापहाडमा मजदुरी गर्छन्। घरधन्दा, बालबच्चाको हेरचाह, परिवार चलाउने सम्पूर्ण जिम्मेवारी उब्जाकै काँधमा थियो। दैनिकीले चलाएको यही श्रम आज उनीहरूको काख र भविष्य दुवै च्यातिएर बसेको छ।अस्पतालले उब्जाको अवस्था ‘अत्यन्त गम्भीर’ रहेको जनाएको छ। चिकित्सकका अनुसार थप सुविधा भएको स्वास्थ्य संस्थामा तत्काल रिफर गर्नुपर्ने देखिए पनि परिवारसँग सामान्य औषधिसम्म किन्ने पैसा छैन। “जहाजमा लैजान ३–४ वटा टिकट चाहिन्छ, बाटोबाटै लैजाने अवस्था छैन,” उनका भाइ अग्रतिरुवाले चिन्ता सुनाए। गाउँलेहरू सहयोग जुटाइरहेका छन् तर, गम्भीर अवस्थाका कारण ठूलो रकम आवश्यक पर्ने स्थानीय धिरबहादुर वड बताउँछन्।आर्थिक सहयाेगका लागि कृर्षि विकास बैंक धिरबहादुर वडकाे ०७२८९०५०४६९३३०१९ मा जम्मा गर्न सकिनेछ ।  यस खाताकाे क्यूआर काेड समेत रहेकाे छ ।उब्जा वडको घटना कुनै एक परिवारको मात्रै पीडा होइन। कर्णाली प्रदेशको भौगोलिक विकटता, असुरक्षित बाटोघाटो र जंगल–भिरमा निर्भर श्रम वर्षौंदेखि पिडा हुँदै आएको छ।

प्रदेश प्रहरी कार्यालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ देखि चालु वर्ष २०८२/८३ को असोज मसान्तसम्म भिर वा रूखबाट लडेर २ सय ५२ जनाले ज्यान गुमाएका छन्।जसमध्ये भिरबाट लडेर मृत्यु २ सय १८ र रूखबाट खस्दा मृत्यु ३४ जना छन्।मृतकमध्ये १ सय ८५ पुरुष, ५० महिला र १७ बालबालिका छन्। प्रहरीका अनुसार महिलाहरू प्रायः घाँस–दाउरा काट्ने क्रममा चिप्लेर दुर्घटनामा पर्ने गरेका छन्।

२०७८/७९ मा ५२ जना,२०७९/८० मा ५३ जना,२०८०/८१ मा ७२ (चार वर्षकै उच्च)२०८१/८२ मा ६२ जना र चालु आर्थिक वर्ष २०८२/८३ (असोज मसान्तसम्म) १३ जना छन्।प्रदेशका जिल्लामध्ये कालिकोट सबैभन्दा जोखिमपूर्ण देखिएको छ। ४७ जनाको मृत्यु, जसमध्ये ४५ भिरबाट लडेका हुन्। जाजरकोटमा ३६, दैलेखमा २४, मुगुमा १६ जना मानिसले ज्यान गुमाएका छन्।उब्जा वड जस्तै अनेकौं महिलाले दैनिकीका लागि जीवन नै दाउमा राखेर जंगल धाउनु कर्णालीको कठोर यथार्थ हो।

शिशुको घटना स्थलमै मृत्यु : आमा आर्थिकअभावले आईसीयूमै अचेत छन्

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई

शिशुको घटना स्थलमै मृत्यु : आमा आर्थिकअभावले आईसीयूमै अचेत छन्

जुम्ला सहकारीकाे भद्रकालीमा अर्गानिक ‘कोसेली घर’

Leave a comment

Your email address will not be published. Required fields are marked *