‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

दैलेख,२५ मंसिर ।
भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैँतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो ।

छ वर्षीया छोरी उहाँकै अगाडि लुटपुटिरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि रु जिज्ञासा झर्न नपाउँदै उहाँले भन्नुभयो, “महिला, यसमाथि गर्भावस्था, यसमा सुत्केरी हुँदा नपाएको दुःख र कष्ठ कहिले पाउनु? प्रसव पीडा बिना नयाँ सृष्टि कहाँ हुन्छ रु” जवाफ दिइरहँदा उहाँको अनुहारमा चमक पनि देखियो । छोरा जन्मिएकाले खुसी भएको रु भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “होइन होइन । अहिले जमानामा छोराले भन्दा छोरीले पाल्दछन् । नानीबाबुमा केही फरक छैन । नानी जन्माउनभन्दा बाबु पाउन सजिलो भयो भनेर । खासै पीडा भएन भनेर ।”
उहाँ आफ्ना सुत्केरी हुँदाका पीडा सुनाउनभन्दा  स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गरेका सहयोग सुनाउन आतुर देखिन्थिन् । स्वास्थ्यकर्मीले दिएको निर्धारित मितिभन्दा करिब १५ दिन अगाडि नै उहाँ सुत्केरी हुनुभएको थियो । अमृतालाई सुत्केरी व्यथाले च्याप्ने बित्तिकै उहाँका पति निर्मल खड्काले छिमेकीको सहायताले ‘स्ट्रेचर’मा बोकेर घरभन्दा करिब एक घण्टा टाढाको स्वास्थ्य संस्था (बर्थिङ सेन्टर)मा  पुर्‍याएका थिए । निर्मलले भन्नुभयो, “गर्भवतीलाई ‘स्ट्रेचर’मा बोक्नुको अर्को विकल्प यहाँ छैन । बर्थिङ सेन्टर त छ टाढा पर्छ । सेवा त ठिकै छ ।”
अमृतालाई गाउँका महिला स्वयंसेविकाले अमृता गर्भावस्था भएदेखि सुत्केरी नहुञ्जेलसम्म ख्याल गरिरहे । उहाँले भन्नुभयो, “आज पनि तपाईँ आउनुअघि स्वयंसेविकाको आउनुभएको थियो । मलाई र बाबु ९शिशु०लाई केही समस्या भएको छ कि छैन भनेर सोध्नुभयो । मैले ठिकै छ भनिदिए । उहाँ जानुभयो । स्वयंसेविकाका सबै सल्लाह मानेका कारणले गर्भावस्थादेखि सुत्केरी हुन सजिलो भयो । श्रीमान्ले भन्दा महिला स्वयंसेविकाले ख्याल गर्दछन् । प्रसव पीडा हराइसक्यो । भुलिसकियो । सम्झेर पनि के गर्नु र ?”
गाउँका गठन भएका स्वास्थ्य आमा समूह र महिला स्वयंसेविका गर्भवती एवं नवजात शिशुको स्याहार गर्न प्रायः साँझ बिहान तल्लीन छन् । कतिपय अवस्थामा उनीहरूले नै गर्भवतीलाई ‘स्ट्रेचर’मै बोकेर बर्थिङ सेन्टरमा लैजानुपर्ने अवस्था यहाँ विद्यमान छ । हालसम्म गाउँमा एम्बुलेन्स छैन । गाउँका युवा र अन्य पुरुष कामको खोजीमा अन्यत्र गएकाले यहाँ स्वास्थ्य आमा समूह र महिला स्वयंसेविका नै गर्भवतीका लागि भरोसा बनेका हुन् ।
भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काका अनुसार गाउँपालिकाभर ८१ स्वास्थ्य आमा समूह क्रियाशील छन् । उहाँ भन्नुहुन्छ, “पुरुष घर नभएका अवस्थामा स्वास्थ्य आमा समूह र महिला स्वयंसेविकाले गर्भवतीलाई ‘स्ट्रेचर’मै बोकेर बर्थिङ सेन्टरमा लैजानुपर्ने अवस्था छ । यसमा सुधार ल्याउन ‘एम्बुलेन्स’ को व्यवस्थापन गर्न पहल गरिराखेका छौँ । ‘गर्भावस्थादेखि सुत्केरीपश्चात् स्वास्थ्य आमा समूह र स्वयंसेविकाले कसरी हेरचाह गर्दछन्’ भन्ने कुराको सिकाइ रातामाटा  बन्न सक्छ । ”

स्वास्थ्य आमा समूहको मुख्य काम नै गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको जीवन रक्षा गर्न सहजीकरण गर्नु नै हो । यसका लागि ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले सेतुको काम गरिराखेको छ । ब्रिटिस रेडक्रस र स्विस रेडक्रसको संयुक्त आर्थिक एवं प्रविधि सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा सो कार्यक्रम कार्यान्वयन गरिराखेको हो ।
महिला स्वयंसेविका पानसरा खड्काले भन्नुभयो, “पछिल्लो समय गाउँमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा छ । गर्भावस्था, सुत्केरीपश्चात् आमा र नवजात शिशुको मृत्यु यहाँ भएको छैन । सुत्केरी हुने क्रममा जटिलता भएर केही गर्भवतीको मात्र हवाई उद्धार भएको छ । हामी यो अवस्था पनि नआओस् भनेर काम गरिरहेका छौँ । व्यवहार परिवर्तनलाई जोड दिइराखेका छौँ । गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको जीवन कसरी रक्षा गर्न हामी घरघरमा सचेतनाका काम गर्दछौँ ।”
‘सुरक्षित मातृत्व कोष’ गाउँका गर्भवती र पाँच वर्षमुनिका बालबालिकाको हेरचाहका लागि स्वास्थ्य आमा समूहले छुट्टै ‘सुरक्षित मातृत्व कोष’  स्थापना गरेका छन् । यो कोषमा सो परियोजनाले रु पाँच हजार सहयोग गरेको छ । यसमा समूहले रु पाँच हजार थप गरेर  रु १० हजार बनाएका छन् । भगवतीमाई–३ कि महिला स्वयंसेविका अमृता खड्काले भन्नुभयो, “गर्भवती र पाँच वर्षमुनिका बालबालिकालाई विपद्मा कोषबाट सहयोग हुने गरेको छ । कतिपय अवस्थामा ‘स्ट्रेचर’ बोक्ने पुरुष गाउँमा पाइन्न ।  अस्पताल त छ टाढा छ । अझै गर्भवती बाटोमा नै सुत्केरी हुनुपर्ने अवस्था छ । महिलाले नै ‘स्ट्रेचर’मा बोकेर स्वास्थ्य संस्थामा लैजानुपर्ने अवस्था छ । गाउँमा एम्बुलेन्स छैन । यस्तो अवस्थामा सहयोग गर्न कोष बनाएका हौँ । कोषबाट अप्ठ्यारो पर्नेलाई सहयोग गर्ने गरेको छौ । ”
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको लागि गाउँपालिकाअन्तर्गतका सात स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परियोजनाले गाउँपालिकाको सहकार्यमा गाउँ घर क्लिनिक तथा खोप केन्द्र भवनको निर्माण, दुई वटा स्वास्थ्य चौकीको मर्मत तथा खानेपानी र सरसफाइका सुविधा, स्वास्थ्यकर्मीका लागि नवजात शिशुको हेरचाह तथा मातृ तथा नवजात शिशु स्वास्थ्यका लागि ‘अनसाइट कोचिङ’ सञ्चालन गरेको छ । स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा प्रजनन स्वास्थ्य, नवजात शिशु स्वास्थ्य, बाल तथा किशोर स्वास्थ्य, पोषण, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, महिनावारी स्वच्छता जस्ता विषयहरूमा छलफल तथा अभिमुखीकरण गरिएका छन् ।”

परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूलनलाई एकीकृत गरी समुदायका विभिन्न तहमा स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमार्फत समुदायको सकारात्मक व्यवहार परिवर्तन गर्न गाउँपालिकासँगको समन्वयमा विभिन्न विभिन्न गतिविधि सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्ता गतिविधिबाट समुदायका व्यक्तिहरूको स्वास्थ्यमा सुधार ल्याउने काम छ।”रासस

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न

शिशुको घटना स्थलमै मृत्यु : आमा आर्थिकअभावले

Leave a comment

Your email address will not be published. Required fields are marked *