अत्याधिक चिसो बढेपछि कोहलपुरका बिद्यालयहरु पुस २६ देखि २९ गतेसम्म बन्द


सरला सुवेदी ।
अत्यधिक चिसो बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिकाले विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका पेशागत घटकहरूसँग बसेको बैठकले यो निर्णय गरेको हो । शिक्षा शाखाका अनुसार पुस २६ गतेदेखि २९ गतेसम्म नगरक्षेत्रका सबै विद्यालय बन्द रहनेछन् ।

बैठकले चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नु उपयुक्त ठहर गरेको हो । यस अवधिमा पुस २५ गते विद्यालयहरूले बालबालिकालाई गृहकार्य उपलब्ध गराउने र चिसोबाट सुरक्षित रहन आवश्यक जानकारी दिने व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ ।

बैठकले जाडो बिदाका साथै परीक्षा सञ्चालन भैरहेका विद्यालयहरूलाई बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक व्यवस्थापन गर्न अनुमति दिएको छ । यस्तै, स्पोट्र्स डे सञ्चालन गरिरहेका विद्यालयहरूले पनि बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै कार्यक्रम अघि बढाउन सक्नेछन् ।

नगरपालिकाले बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अभिभावक र शिक्षकहरूलाई सचेत रहन आग्रह गरेको छ । नगर क्षेत्रका धेरै ठाउँमा चिसो अत्यधिक बढेकोले बालबालिकाको स्वास्थ्यमा असर पर्ने सम्भावना रहेको शिक्षा शाखाले जनाएको छ ।

चिसोका कारण विशेषगरी बिहान र साँझ विद्यालय आउजाउ गर्ने क्रममा विद्यार्थीहरूले समस्या भोग्नु परेको थियो । यसैलाई ध्यानमा राख्दै विद्यालय बिदा दिने निर्णय गरिएको हो । नगरपालिकाले यो अवधिमा बालबालिकालाई न्यानो लुगा लगाउन र आवश्यक सर्तकता अपनाउन सुझाव दिएको छ ।

कोहलपुर नगरपालिकाको यो निर्णयले बालबालिका, अभिभावक, र विद्यालयलाई चिसोको प्रभावबाट सुरक्षित राख्न सघाउने विश्वास लिइएको छ । यसअघि पनि चिसोको समयमा नगरपालिकाले यस्ता निर्णय गर्दै आएको थियो ।

अत्याधिक चिसो बढेपछि कोहलपुरका बिद्यालयहरु पुस २६ देखि २९ गतेसम्म बन्द

चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द

अत्याधिक चिसो बढेपछि कोहलपुरका बिद्यालयहरु पुस २६ देखि २९ गतेसम्म बन्द

YUGAAWHAN NATIONAL DAILY (2081-09-26)